१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सिंगो बस्ती व्यवसायिक गाईपालनमा

दूध बिक्रीबाट आम्दानी र गोबरबाट मल
भीरकोट ६ का २९ घरधुरीमा दुधालु पशुपालन
प्रतिक्षा काफले

स्याङ्जा — सिमलचौरको सिंगो बस्ती व्यावसायिक गाईपालनमा लागेको छ । भीरकोट नगरपालिका ६ को उक्त बस्तीका २० घरधुरी सबैले दुधालु पशुपालन गरेका छन् । केहीको व्यक्तिगत छ भने केहीले समूहमा गाईपालन गरेका छन् ।

सिंगो बस्ती व्यवसायिक गाईपालनमा

दूध बिक्रीबाट हुने आम्दानी राम्रो भएपछि पशुपालनमा पशु सेवा कार्यालयले पनि स्थानीयलाई हौस्याएको हो । ‘वर्ष दिन हुन लाग्यो, अभियानकै रूपमा गाईपालन घरघरै छ,’ पशु प्राविधिक डोलराज गैरेले भने, ‘घाँस सजिलै पाइने, दूध बिक्रीबाट आम्दानी र गोबरबाट मल हुने बुझेकाहरूले सामुहिक लगानीमा पनि गाईपालन थालिएको छ ।’

भूकम्पपीडित ७० वर्षीया सावित्रा जिटीका चार गाई छन् । ‘टहराको बास भए पनि पेटले खान मागिहाल्छ,’ उनले भनिन्, ‘पशु कार्यालयले आम्दानीको बाटो देखाइदियो । अनि गाईपालन गरेकी हुँ ।’ दैनिक ३२ देखि ३५ लिटरसम्म दूध बेच्ने गरेको उनले बताइन् । गाईपालनको तरिका बताएर घाँसको पनि व्यवस्था गरिदिएकाले सजिलो भएको उनको भनाइ छ ।

४९ वर्षीय मानबहादुर जिसीका गोठमा ९ गाई छन् । ‘अहिले ६ वटाले दूध दिँदैछन्,’ उनले भने, ‘घरमा अलिकति खान राखेर दिनको सरदर ७० लिटर जति बेचिन्छ ।’ खर्च कटाएर मासिक करिब ४० हजार हाराहारी आम्दानी हुने गरेको उनले बताए । ‘दु:ख गर्न सके आम्दानी राम्रै छ,’ उनले भने, ‘गोठ स्याहार्नेले एक रात बाहिर कतै जान्छु भनेर पनि नपाउने समस्याचाहिँ हुने रहेछ ।’ गाईपालनका लागि उनले पशु कार्यालयको सिफारिसमा स्थानीय सहकारीबाट ६ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसको साँवा र ब्याजको मासिक १४ हजार रुपैयाँ बुझाउन सजिलै भएको उनले बताए । उनले भने, ‘पशुपालनका लागि हामी खेतीकिसानी गर्नेले धेरै तालिम पनि लिनु नपर्ने रहेछ । गर्दै आएकै काममा थोरै सुधार गरे पुगेको छ ।’

पशुपालक किसानलाई पशु सेवा कार्यालयले विभिन्न जातका पोषक घाँसको खेती गर्न सिकाएको छ । ‘पशु पालेर मात्रै हुँदैन, पालेका बस्तुभाउका आहारको इन्तजाम पनि गर्नुपर्छ,’ प्राविधिक गैरे भन्छन् ‘पशुपालकका लागि घाँस लगाउन अनिवार्य गरेका छौं ।’ परम्पारगत विधि जसरी गाईलाई थोरै घाँसले नपुग्ने भएकाले पोषक घाँस र दाना दिने तरिका पनि किसानलाई सिकाइएको उनले बताए । ‘सुरु सुरुमा घाँसको बिउ हामी दिन्छौं,’ उनले भने, ‘लगेर लगाएपछि बीउ उत्पादन गरेर किसानले फिर्ता दिनुपर्छ । त्यो बीउ फेरि अर्को किसानलाई दिन्छौं ।’

व्यावसायिक पशुपालन सुरु भएपछि घरघरै दूध उत्पादन भएको छ । तर, केही किसानले भने अझै राम्रो बजार नभएको गुनासो गरेका छन् । पाँचवटा गाई पालेकी कमला गोदार भन्छिन्, ‘राम्रो भाउ आउनेगरी सजिलै बिक्री हुँदै जान सके मात्रै फाइदा सबैले बराबर पाउँछन् ।’ पशु कार्यालयले विधि सिकाउने र सहकारीले ऋण दिने गरेपछि पशुपालनमा आकर्षित किसान अझै पनि राम्रो भाउ पाइने बजारको खोजीमा रहेको उनले बताए । ‘श्रीमान् कमाउनकै लागि भनेर विदेशमा हुनुहुन्छ,’ उनले भनिन्, ‘छोराछोरीसँग घरै बसेर गाईपालनबाट आम्दानी गर्न सकिन्छ भन्ने जानियो । यतिसम्म राम्रै हो, दूधले भाउ पाइनेगरी खरिद गरिदिने पनि खोजीदिनुपर्छ ।’ किसानहरूले बजारको खोजीमा सघाउन नगरपालिकालाई पनि आग्रह गरिरहेको उनले बताइन् ।

प्रकाशित : असार २८, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?