१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यात्रीलाई सास्ती

पर्वत — मध्यपहाडी लोकमार्ग आयोजनाको कास्की–पर्वत–बागलुङ निर्माणका लागि अघिल्लो सातादेखि दैनिक ७ घण्टा सडक अवरोध भएसँगै पहिरो र बाढीले समेत सास्ती दिएको छ ।

यात्रीलाई सास्ती

यो खण्डमा डबल लेनको सडक बनाउन साँघुरो स्थानमा भीरपहरा काट्न बन्द गरिएको निर्माण कम्पनी एपेक्स कन्सट्रक्सनले जनाएको छ । भीर कटान गर्नाले झरीसँगै सडकमा पहिरो खस्दा यात्रीले निकै सास्ती पाउनेगरेका हुन् ।

आयोजना पक्षले सम्झौता अनुसार काम नगर्दा यात्रीहरूले निकै सास्ती पाउने गरेका छन् । ‘जाममा नपरियोस् भनेर समय तालिका हेरेर हिँड्छौं,’ सवारीचालक श्याम खत्रीले भने, ‘बाटोमा एक–दुई घण्टा नरोकिएको कुनै दिन छैन । कहिले पहिरोले, कहिले बाढीले थुन्छ । आयोजनाका डोजर भन्ने मात्रै हो ।’ बसमै गैंची–बेल्चा बोकेर हिँड्नुपरेको सवारीचालकले बताए ।

आयोजना निर्माण पक्षले पर्वतको कुश्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउँपालिकामा पर्ने डिमुवास्थित माहुरीभीर सडक बन्द गरेको हो । कुस्माको खरेहा खोलादेखि मोदीको अँधेरीखोलासम्म बिहान १० बजे देखि दिउँसो १२ बजे र दिउँसो १ देखि ४ बजे बन्द गर्ने तालिका बनाएको छ ।

त्यस्तै पर्वत र कास्कीको सिमानामा पर्ने बेतेनी–नयाँपुल–गिरिचोक सडक फराकिलो पार्न साँझ ६–८ बजेसम्म सडक अवरुद्ध हुन्छ । निर्माण कम्पनी लामा कन्ट्रक्सनका व्यवस्थापक गोविन्द भुसालका अनुसार माहुरीभीरमा २ स्थानबाट सडक फराकिलो बनाउने काम भइरहेकाले केही समय सडक अवरुद्ध भएको हो । ‘हाम्रा हेभी इक्युपमेन्ट तयारी अवस्थामा हुन्छन्,’ उनले भने, ‘खबर हुँदासाथ सडक खुलाइन्छ ।’ दिउँसोको कामले थकित चालकहरू राति छिटै सुत्ने भएकाले रातको समयमा बाटो रोकिँदा केही समस्या भएको उनले बताए ।

यात्रीहरूले रातिकै समयमा सडकमा बढी समस्या हुने भएकाले सडक निर्माण पक्षले राति बढी ध्यान दिनुपर्ने बताउँछन् । ‘दिउँसो केही भइहाले उद्धार गर्न सहज हुन्छ,’ म्याग्दीको बेनीकी माया सुनारले भनिन्, ‘राति पहिरोले पुरिए कसरी उद्धार हुन्छ ?’

पोखरा–बागलुङ खण्डको कास्की र पर्वत सिमानास्थित पर्वत प्रवेशद्वारदेखि मालढुंगासम्मको २३.७६ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्सनले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वतखण्ड डबल लेनको बनाउन ठेक्का पाएको हो ।

हालसम्म करिब १५ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । वर्षाको समय यात्रीको समस्यालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिए पनि प्राकृतिक प्रकोपका कारण समस्या आइरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

प्रकाशित : असार २८, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?