कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी उद्योगमा प्रशासनको सिल

कोलिफर्म भेटियो

पोखरा — जारको पानीमा अत्यधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि याम्दीस्थित सीएम अक्वा बेभरेज कम्पनीमा कास्की प्रशासनले बुधबार सिलबन्दी गरेको छ । बजार अनुगमनका क्रममा पाँच कम्पनीका पानी नमूना परीक्षणका लागि लगिएको थियो । उक्त कम्पनीको ‘टुडे’ पानीमा कोलीफर्म भेटिएपछि बिक्रीवितरण रोक लगाइएको हो ।

पानी उद्योगमा प्रशासनको सिल

सहायक प्रमुख जिल्ला अधिकारीद्वय गंगाबहादुर क्षत्री र राजेश पन्थी नेतृत्वमा प्रहरीसहितको टोलीले कम्पनीको जार पानी भर्ने स्थानमा सिलबन्दी गरेको हो । ‘कम्पनीको १९ लिटरको जार टुडे पानीमा कोलिफर्मको मात्रा २७ देखियो,’ सहायक प्रजिअ क्षत्रीले भने, ‘यस्तो दूषित पानी बजारमा जानबाट रोक्नलाई सिल लगाइएको हो ।’

उनले यस विषयमा आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको बताए । यही असार २० मा बजार अनुगमनका क्रममा विभिन्न ५ कम्पनीको पानी परीक्षणका लागि क्षेत्रीय खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला पोखरामा परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालाले सोमबार २७ कोलिफर्मको मात्रा (दिसामा पाइने सूक्ष्म जीवाणु) रहेको भन्दै प्रतिवेदन प्रशासनलाई बुझाएपछि प्रशासनले प्रारम्भिक कारबाही स्वरूप सिल लगाएको हो ।

प्रहरीले कम्पनीको अनुसन्धान सुरु गरेको छ । डीएसपी रवीन्द्रमान गुरुङका अनुसार कम्पनीको म्यानेजिङ डाइरेक्टर कुशलकिरण श्रेष्ठ र डाइरेक्टर कपिलकिरण श्रेष्ठलाई झिकाएर बयान लिइएको छ । कोलिफर्मलगायत व्यवस्थित र सरसफाइमा सुधार गरेको पुष्टी भएपछि पुन: सञ्चालनका लागि खोल्ने योजना प्रशासनको छ ।

केही समयअघि पनि उक्त कम्पनीमा अनुगमन गर्दा अत्यधिक फोहोर र जार सफा गर्ने प्रविधि नभएको भेटिएपछि प्रशासनले सिलबन्दी गरेको थियो । खाद्य निरीक्षकको अनुगमनमा पहिलेभन्दा केही सुधार देखिएपछि सिल तोडिएको थियो । कम्पनीका डाइरेक्टर कपिल किरणले आफूहरूले पनि नमूना परीक्षण गर्ने बताए ।

प्रकाशित : असार २८, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?