कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलत्कारका घटना: पीडित पुन:स्थापनामा समस्या

घरपरिवार, साथीभाइ र समाजले घटनाको गोपनियता राख्न जरुरी
प्रतीक्षा काफ्ले

स्याङ्जा — बलात्कारको घटनामा परेकी चापाकोटकी १४ वर्षीया एक बालिकाले विद्यालय जान छाडेकी छन् । उनले पढ्ने विद्यालयकै एक शिक्षक घटनाका आरोपी छन् । घटनापछि विद्यालयले अतिरिक्त क्रियाकलापमा सहभागी नगराउने र साथीहरूबाट पनि अपेक्षित व्यवहार नभएपछि पीडितले पढ्न छाडेकी हुन् ।

बलत्कारका घटना: पीडित पुन:स्थापनामा समस्या

वालिङस्थित वडा प्रहरीमा पीडितले उजुरी दर्ता गराएकी छन् । फरार रहेका आरोपी शिक्षक रामभक्त आचार्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

‘हामी यस्तै समस्या हुन्छ भनेर पीडितको नाम ठेगाना गोप्य राख्छौं । तर, उनको नाम स्कुलबाटै सार्वजनिक भएछ,’ डीएसपी विष्टले भने, ‘उनी पढ्न जान छाडेको तीन महिना भयो ।’ ‘छोरीमाथि भएको घटनाका कारण यहाँको समाज नै त्यागेर विस्थापित हुनुपर्ने अवस्था आयो,’ पीडितकी आमाले भनिन्, ‘छोरी बारम्बार अन्यत्र जाऔं भन्छे । तर, जाने ठाउँ नै कहाँ छ र ?’ गोप्य राखिनुपर्ने घटना सार्वजनिक हुनुले समाजमा मुख देखाउन गाह्रो भएको उनले बताइन् ।

आँधीखोला गाउँपालिकामा काकाद्वारा बलात्कृत अर्की एक बालिका विगत चार महिनादेखि घर फर्किएकी छैनन् । उनी पढाइमा अब्बल थिइन् । पोखराको एक बालकेन्द्रको आश्रयमा राखिएकी उनको पनि पढाइ छुटेको छ ।

यस्ता घटनामा पीडितसँगै तिनका घरपरिवारलाई समाजमा अपमानित हुनुपरेको गुनासो आउने गरेको डीएस्पी विष्टले बताए । ‘घटनामा पीडितको दोष होइन भन्ने समाजलाई थाहा हुन्छ,’ उनले भने, ‘यस्ता घटनामा गोपनियता कायम राख्नु घरपरिवार, साथीभाइ र समाज सबैको दायित्व हुन्छ ।’ परिचय सार्वजनिक भएर समाजमा बस्न गाह्रो परेको खबर सुनेर अनुसन्धानमा रहेका प्रहरीलाई पनि नरमाइलो लाग्ने उनले बताए ।

जिल्लामा पटक–पटक भएका जबरजस्ती करणीजस्ता अपराधका घटनाको विषयमा प्रहरीले सारेकारवालाबीच छलफल पनि आयोजना गर्ने गरेको छ । साक्षी संरक्षण तथा पुन:स्थापना विषयमा प्रहरीले आयोजना गरेको छलफलमा मुद्दा हेर्ने निकायका अधिकारीले पनि यस्ता घटनामा पीडित न्याय खोज्ने क्रममा घरपरिवारबाटै झन् पीडित बन्नुपरेका उदाहरणहरू पनि भएको बताए ।

महिला विकास अधिकृत चन्द्राकुमारी व्यन्जनकारले महिला र बालबालिकाको हकमा कानुन बनाइएको भए पनि कार्यान्वयनमा समस्या भएको बताइन् । ‘बलात्कारका घटना जिल्लामा अत्यधिक छन्,’ उनी भन्छिन्, ‘पुन:स्थापनाका कारण घटना यत्तिकै सेलाएर जान्छन् । दबाबमा गाउँमा नै मिलापत्र गर्छन् र अदालतमा झूठो बयान गर्न बाध्य हुन्छन् । जसले गर्दा पीडित जहिलै दबाबमा हुन्छन् ।’ जिल्ला न्यायाधिवक्ता ईश्वरी ढकाल सरकारवादी हुने मुद्दा लड्नुपर्दा पीडितको पक्षमा पर्याप्त प्रमाण जुटाउन समस्या हुने गरेको बताए । ‘प्रहरीले घटना अनुसन्धान गर्दै दर्ता गर्छ,’ उनी भन्छन्, ‘हामीले प्रहरीले जुटाएको प्रमाणसहित मुद्दा अगाडि बढाउँछाैं।

फैसला हुने बेलामा अन्तिममा पीडितले बयान फेरिदिन्छन् ।’ पुन:स्थापर्नामा समस्या भएपछि मुद्दामामिलाको साटो गाउँमै मिलापत्रका लागि पर्ने दबाब पीडितले झेल्न गाह्रो हुने गरेको उनले बताए । ‘यस्तो हुँदा हामीलाई मुद्दामै गाह्रो आइलाग्छ,’ उनले भने, ‘जबरजस्ती करणीका घटनामा पीडितलाई सुरक्षित राखिनुपर्छ । पुन:स्थापनामा गाह्रो पर्नु भनेको उनीहरूमाथि झन् अन्याय गर्नु हो ।’

कामु प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले समाज अपराधमुक्त बनाउनका लागि महिला जनप्रतिनिधिको ठूलो भूमिका रहने बताए । ‘स्थानीय तहसँगै न्यायिक समिति गठन भएका छन्,’ उनले भने, ‘समितिलाई सबैले सहयोग गर्नुपर्छ तब मात्र समाजका अपराध कम हुन्छ । सरकारवादी मुद्दामा प्रमाण जुटाउनुपर्छ । प्रमाणका लागि समाजले नै सहयोग गर्नुपर्छ ।’ अपराध न्यूनीकरण गर्न समाजको भूमिका ठूलो मानिएको उनले बताए ।

हिंसा लुकाउँदै पीडित
बागलुङ (कास)– घरेलु हिंसाको सिकार भएका पीडितले घटना लुकाउन दुर्घटना र बिरामी भएको बहाना बनाउने गरेको तथ्य भेटिएको छ । पीडितले समेत सामान्य बिरामी जस्तै उपचारमा आउने गरेको भेटिएको हो । जिल्लामा पाइएका घरेलु हिंसाका घटनामा परेकाहरू ९० प्रतिशत महिला र १० प्रतिशत पुरुष छन् । परिवारविरुद्ध जान नसक्ने, हिंसा बाहिर ल्याउँदा समाजमा थप हिंसा खेप्नुपर्ने लगायतको चिन्ताले पीडित सामान्य बिरामी सरह अस्पतालमा उपचार गर्न आएको भेटिएको हो ।

लामो समयसम्मको उपचार र मनोसामाजिक विमर्शपछि मात्र उनीहरूको वास्तविक समस्या थाहा हुने गरेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘श्रीमान्को कुटाइबाट घाइते भएकाले लडेर यस्तो भयो भनेका धेरै उदाहरण छन्,’ उनले भने, ‘उपचारको क्रममा सामाजिक विमर्शमा लैजाँदा वास्तविकता थाहा भयो ।’ अस्पतालमा ६ वर्षमा ५ सय पीडित महिला आएको उनले बताए ।

यौनहिंसा र बलात्कारका घटनामा समेत केही पीडितले समस्या लुकाएको भेटिएका छन् । उक्त अवधिमा उपचारमा आएका ५२ जना पुरुषहरू पनि घरेलु हिंसाका घटनामा परेको पाइएको छ । अधिकांशले लडेको वा दुर्घटनामा परेको लगायतका कारण बताएर उपचार गराएका छन् ।

प्रकाशित : असार २८, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?