१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पानी अभाव टार्न ‘डिप बोरिङ’

पर्वत — फलेवास ३ शंकरपोखरीको बिष्टपानीमा पानी अभाव टार्न ‘डिप बोरिङ’ सुरु गरिएको छ । बोरिङ मेसिनको सहायताले पानी निकालेर वितरण गर्न नगरपालिकाले पहल थालेको हो ।जमिनको सतहदेखि करिब सय मिटर बोरिङ गरेर पानी निकालिएको छ ।

पानी अभाव टार्न ‘डिप बोरिङ’

प्रति सेकेन्ड ५ लिटरका दरले निस्कने पानी पहिलो चरणमा बिष्टपानीका करिब सय घरमा वितरण गरिने स्थानीय अगुवा कमलप्रसाद भुसालले बताए । ‘हाल ३० मिटरबाट पानी निस्केको छ,’ उनले भने, ‘अरू दुई/तीन ठाउँबाट निकालेर गाउँभरि एक घर एक धारा वितरण गरिनेछ ।’ बिष्टपानी साबिक शंकरपोखरी गाविसको २ वडामा पर्छ । यहाँ करिब सय घरधुरी छन् । नगरपालिकाले डिप बोरिङ गरी निकालिएको पानी संकलन गर्न ट्यांकी बनाउने जनाएको छ ।

ट्यांकीमा संकलित पानी मोटरबाट तानेर मैदानमा पुर्‍याएपछि घरघरै वितरण गर्ने योजना बनाएको छ ।गत हिउँदमा भूगर्भविद्हरूको टोलीले यहाँको भित्री जमिनमा पानीको अध्ययन गरेको थियो । अध्ययनलगत्तै स्थानीय अगुवाहरूको पहलमा डिप बोरिङका लागि केन्द्र सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ । ‘पानी निकाल्न सम्भव छ भन्ने पुष्टि भएपछि हामीले सबैतिर पहल थाल्यौं,’ नगरप्रमुख पदमपाणी शर्माले भने, ‘प्रयासअनुसार सफल भइयो । अहिले पानी निस्कँदा शंकरपोखरीबासीमा खुसीको सीमा छैन ।’ वर्षाको समय भएकाले ३० मिटरमै पानी भेटिए पनि हिउँदको समयमा पानीको बढी अभाव हुने भएकाले सय मिटर गहिराइबाट पानी तानिने उनले बताए ।

फलेवास नगरपालिकाका ११ वडामध्ये शंकरपोखरीको दुई तिहाइ भागमा पानीको चरम अभाव हुन्छ । पानीको अभाव टार्न यहाँका चार सय बढी परिवार, स्कुल, स्वास्थ्यचौकीलगायतमा आकाशे पानी संकलन गर्न घैंटा बनाइएको छ । वर्षा र हिउँदमा पर्ने आकाशे पानी घरकटेराको छानाबाट पाइपको माध्यमले घैंटामा संकलन गरेर अभावका सिजनमा गर्जो टार्नुपर्ने बाध्यता छ ।

नजिकमा पानीको स्रोत नहुँदा घैंटा रित्तिएपछि पिउने पानीका लागि घण्टौं हिड्न बाध्य शंकरपोखरीवासी डिप बोरिङको पानी आउने आशामा मक्ख छन् । ‘पानी सहज भए सबै दु:ख बिर्साउँथ्यो,’ पोखराचौरकी पार्वती भुसालले भनिन्, ‘खानेपानी नै नभएपछि अरू सबै सम्पन्न भएर पनि केही नभएजस्तो छ ।’ पानीकै समस्याले यहाँका धेरैजसो परिवार बसाइँ सरेका छन् ।

पानी बोक्नुपर्ने बाध्यताले यहाँका धेरैजसो स्कुले बालबालिकाले हिउँदमा पढाइ छुटाउनुपरेको पोखराचौरका युवा प्रदीप भुसालले बताए । पानीका लागि घण्टौं लाइन बस्दा पनि गुँहेलीको धारो, पोखराचौरको पँधेरो, बिष्टपानीको धारालगायतमा पानी सुक्दा बढी समस्या हुन्थ्यो ।

प्रकाशित : असार ३१, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?