कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पातीचौर–मैदान सडक कालोपत्रे हुँदै

दिप्ती सिलवाल

पर्वत — मोदी गाउँपालिकामा ग्रामीण सडकमध्ये पातीचौरमा पहिलो कालोपत्रे सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गत भूकम्प आपतकालीन सहायता आयोजनाको लगानीमा पातीचौर–मैदान–लप्सीबोट सडक कालोपत्रे हुन लागेको हो ।

पातीचौर–मैदान सडक कालोपत्रे हुँदै

गत शुक्रबार सम्झौता भई आगामी २०७६ माघ २ मा पूरा गर्ने गरी आशिष फेवा निर्माण कम्पनीले २७ करोड ६७ लाख ७५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । जिल्ला प्राविधिक कार्यालयका अनुसार ३.७५ मिटर चौडाइ भएको १२.१६ किमि कालोपत्रे हुनेछ । कार्यालय प्रमुख इन्जिनियर जगदीश शर्माका अनुसार दुईतर्फी नाली बाहेक सडकको चौडाइ ६ सय २५ मिटरको स्टिमेट छ ।

सडकको आवश्यकताअनुसार नाली, कल्भर्ट र पुलसमेत ठेकेदार कम्पनीले बनाउनेछ । सिंगल लेनको सडकमा दोहोरो गाडी पास हुने गरी स्टिमेट भएको उनले बताए । ‘ब्ल्याक टप टाइपको कालोपत्रे हो,’ उनले भने, ‘यो अरूभन्दा बलियो हुन्छ ।’

जनशक्ति र निर्माण साधनको समस्या नभएकाले समयअगावै काम सक्ने लक्ष्य रहेको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक राजेन्द्र पहारीका अनुसार कन्स्ट्रक्सनले सडक कालोपत्रेका लागि आवश्यक साधन यसअघि नै मोदीमा छन् । ‘मोदीका जलविद्युत्मा हाम्रै इक्युपमेन्टले काम गरिरहेका छन्,’ उनले भने, ‘तिनैलाई यता परिचालन गर्दा छोटो समयमै काम सकिनेछ ।’ वर्षा भइरहे पनि बाढीले असर नपुर्‍याउने क्षेत्रमा तत्कालै काम सुरु गरिने उनले बताए ।

यो सडक कालोपत्रे भएपछि सुन्तला ढुवानीमा सजिलो हुनेछ । ‘यहाँ सुन्तला फलाउने किसानका पिठ्युँका हड्डीले अब सुख पाउनेछन्,’ स्थानीय गुप्त हमालले भने, ‘जिल्लाका दर्जनौंमध्ये यो सडक प्राथमिकतामा पर्नु खुसीको कुरा हो ।’ मोदी २ का वडाध्यक्ष विकास तिमिल्सिनाले विकासले पछि परेको देउपुरवासीलाई यो सडकले ढोका खोलेको बताए । मोदी २ देउपुरका अगुवा किसान दाताराम चापागाईंले वर्षौंदेखिको आफ्नो रहर पूरा भएको बताए । ‘सुन्तला पाक्ने सिजनमा बाटो सम्झेर सुस्केरा आउँथ्यो,’ उनले भने, ‘बोक्नका पिरले कति सुन्तला खाडलमा हालियो । अब त्यो अवस्था नआओस् ।’

देउपुरमा मात्रै करिब दुई सय परिवारले सुन्तलाको व्यावसायिक खेती गर्छन् । यो सडक कालोपत्रे भएपछि देउपुर बाहेक पातीचौर, क्याङलगायतका ३ हजार सर्वसाधारणले लाभ लिनेछन् । कालोपत्रे सडकको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी र पूर्वसांसद् एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले आरम्भ गरे ।


सडकको आरम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ।

प्रकाशित : असार ३१, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?