कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर निर्माण धमाधम

दमौली — विपन्न, लोपोन्मुख, सीमान्तकृत र दलितका लागि सरकारले अघि सारेको जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा घर निर्माण धमाधम भइरहेको छ । चालु वर्ष मात्रै तनहुँमा २ सय १३ घर निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

घर निर्माण धमाधम

डिभिजनका प्रमुख रोशन श्रेष्ठले भने, ‘तयार भएका घर लक्षित समुदायलाई हस्तान्तरण पनि गरिरहेका छौं ।’ कार्यक्रममार्फत भानु नगरपालिका १ नयाँ बस्तीमा गन्धर्व समुदायका लागि २२ घर निर्माण भएको छ । ‘झुपडीमा बस्दै आएका हामीले राम्रो ओत पाउँदा खुसी लागेको छ,’ स्थानीय भवानी गन्धर्वले भनिन्, ‘हाम्रो झुप्रो पहिले बर्खामा पानी चुहिने र हिउँदमा शीतले लुगलुग कमाउने थियो । नयाँ घरले बस्न सुबिस्ता भएको छ ।’ उनको परिवार सरेको घर दुई कोठे पक्की छ । शौचालय पनि व्यवस्थित छ । घरआँगनमा सफासुग्घर छ ।

भवन डिभिजनका अनुसार तनहुँमा यो वर्ष दलित समुदायका १ सय ५ घरपरिवारलाई नयाँ घर बनाइएको हो । यिनमा व्यास नगरपालिकामा ५५, भानु नगरपालिकामा ११, शुक्लागण्डकी नगरपालिकामा १६ र भिमाद नगरपालिकामा १२ घर छन् । यस्तै सीमान्तकृत जातिका रूपमा रहेका कुमालका लागि कार्यक्रममार्फत नयाँ घर निर्माणको काम जारी छ । भानु नगरपालिकाको पुर्कोटमा २, शुक्लागण्डकी नगरपालिकामा १३ र घिरिङ गाउँपालिकामा ३५ परिवारका लागि घर निर्माण भइरहेको छ । बोटे र चेपाङका लागि पनि घर निर्माण गरिएको छ । बोटेका लागि व्यास नगरपालिकामा ४३ र देवघाट गाउँपालिकामा १२ घर निर्माण भइरहेको छ ।

बन्दिपुर गाउँपालिकामा चेपाङका लागि चार घर कार्यक्रममार्फत घर निर्माण भइरहेको डिभिजन कार्यालयले जनाएको छ । निर्माण भइरहेका घरहरूमध्ये १० घरपरिवारबाहेक सबैको जग उठाउने काम सकिएको छ । ढिलाइ भएका कारण कागजात र जग्गाको समस्या भएको सबइन्जिनियर योगेन्द्र यादवले बताए । ‘अरू सबैको डीपीसी गरेर गारो राख्ने तयारी सुरु भएको छ,’ उनले भने, ‘विभागबाट पैसा आउन ढिलाइ भएकाले काम थोरै प्रभावित भयो ।’ तेस्रो किस्तासहितको रकम निकासा भएकाले निर्माण कार्यले गति लिने उनले बताए ।

कार्यक्रमले दुई कोठे पक्की घर र शौचालय बनाउनका लागि ३ लाख ३२ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने गरेको छ । घरमा बस्नेले अपनत्वका लागि श्रमदान पनि गर्नुपर्छ । शौचालय निर्माण सम्पन्न गरेपछि डिभिजनले अनुदानको चौथो किस्ताको रकम उपलब्ध गराउँछ । निर्माण थालेको दुई वर्षभित्र घर बनाइसक्नुपर्ने प्रावधान छ ।

प्रकाशित : असार ३१, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?