३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मुसहर र माझीलाई पक्की घर

नवलपरासी — पक्की कोठा, टिनको छानो । घरको पिँढीमा बसेकी जितकुमारी मुसहरको अनुहार खुसीले फुरुङ्ङ छ । उनको पहिलेको खरले छाएको घर माटोले लिपेका भित्ता, होचो र एउटा मात्रै कोठा थियो । त्यसमा झ्याल थिएनन्, वर्षाको पानी भित्रैसम्म पस्थ्यो ।

मुसहर र माझीलाई पक्की घर

पाहुनाले निहुरिएर पस्नुपर्ने झुप्रोको बसाइँले जीवनका धेरै वर्ष बितेका थिए ।

नयाँ बासमा झ्यालढोका ठूला छन् । कोठा पक्की छ । छानोको छेउमा सोलार प्यानल राखिएको छ । आफ्ना लागि व्यवस्थित घर बनाउन सकिएला भन्ने उनले कल्पना गरेकै थिइनन् । खरले छाएको झुप्रोका ठाउँमा व्यवस्थित घर पाएर उनलाई सपनाजस्तो लागिरहेको छ । कावासोती नगरपालिकाले माझी–मुसहर विपन्न आवास कार्यक्रमअन्र्तगत घर बनाइदिएको हो ।

‘खरको छाप्रो थियो, चुहिन्थ्यो,’ मुसहर भन्छिन्, ‘आरामले सुत्न कहिल्यै पाइएको थिएन ।’ संरक्षित क्षेत्रभित्र जथाभावी खर काट्न रोक लगाइएपछि लामो समयदेखि धेरैले झुप्रो मर्मत गर्न नपाएको उनले बताइन् । कावासोती–१५ मुसहरटोलकी फूलमती मुसहरलाई पनि नयाँ घर सपनाजस्तै लागिरहेको छ । उनी भन्छिन्, ‘यो जुनीमा प्लास्टर गरेको घरमा बस्न पाइएला भन्ने लागेकै थिएन ।’ वडाध्यक्ष देवनारायण महतोले घरको चाबी हातमा थमाउँदै गर्दा उनले भनिन् ।

सुकदेव मुसहरको सातजनाको परिवारको बस्ने, खाने कोठा एउटै थियो । नयाँ घरले उनलाई ठूलो पुरस्कार पाएजस्तो भएको छ । ‘यो घर होइन हाम्रो परिवारका लागि महल हो,’ उनले भने । वडाध्यक्ष महतोले आफ्ना हरेक कार्यक्रम वडाभित्रका विपन्न समुदायको उत्थान र सशक्तीकरणका लागि हुने बताए । वडास्तरबाट योजना माग, संकलन र प्राथमिकीकरणपछि नगरपालिकाले विपन्न समुदायका लागि घर बनाइदिने कार्यक्रम अघि सारेको उनले प्रस्ट पारे ।

चालु आर्थिक वर्षमा नगरपालिकाले २० लाख रुपैयाँको लागतमा कावासोती १५ का १० परिवार माझी र मुसहरलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगर प्रमुख चन्द्रकुमारी पुनले विपन्न समुदायको उत्थानका योजनालाई नगरपालिकाले निरन्तरता दिने नीति लिएको बताइन् । ‘हामी चाहन्छौं पाँच वर्षभित्र खरले छाएको घर विस्थापित गरी विपन्न समुदाय सबैको व्यवस्थित घर बनाउन सकियोस् ।’

प्रकाशित : असार ३१, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?