२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सोरठी जोगाउने जाँगर

प्रकाश बराल

बागलुङ — दुर्गाबहादुर भुजेल उमेरले ७६ लागे । उनको कलाप्रतिको जोसले बुढ्यौली पटक्कै नलागेको भान हुन्छ । मादल बजेका ठाउँमा सोह्र वर्षे तन्नेरीझैं नाच्न र गाउन तम्सिन्छन् उनी । विशेषगरी सोरठी, झ्याउरे र लोक दोहोरीमा अब्बल भुजेल गाउँमा रहेर निरन्तर कला र संस्कृतिको संरक्षणमा जुट्दैछन् ।

सोरठी जोगाउने जाँगर

परम्परागत संस्कृति जोगाउने अभियानमा लागेकाले प्रचारमा आउन पनि चाहँदैनन् । बरु लोपोन्मुख संस्कृति जोगाउन र युवा पुस्तामा हस्तान्तरण गर्न चिन्तित देखिन्छन् । मगर र गुरुङ समुदायमा यहाँ बढी गाउने र नाच्ने चलन छ । रोधी बस्दा आफ्नै संस्कारमा रमाउन सोरठी बढी नाच्ने गरिन्छ ।

पश्चिम बागलुङमा सोरठीका ‘गुरुबा’ नै हुन् भुजेल । १४ वर्षका किशोरकिशोरीदेखि समकालीनसम्म उस्तै व्यवहार, उस्तै बोलीवचन छ उनको । बडीगाड १ दगातुम्डाँडाका भुजेल मगर जातिका हुन् । उनले १३ वर्षको उमेरमा पहिलो पटक सोरठी नाचेका थिए । बाबुबाजेले सिकाएको नाचमा सबै प्रक्रिया पुर्‍याउने बन्न उनलाई पाँच वर्ष लाग्यो । लगातार ६० वर्षसम्म संस्कृतिको संरक्षणकर्ताको रूपमा उनी खटिरहेका छन् ।

आजभोलिका युवा पुस्ताले पश्चिमा संस्कृतिमा रमाएको देख्दा उनलाई दु:ख लाग्छ । हिन्दी र अंग्रेजी गीत बजाएर नाच्ने युवालाई नेपाली संस्कृति नभुल्न उनी सुझाव दिन्छन् । ‘हाम्रो संस्कार भुल्यौं भने कसैले पनि सम्मान गर्दैन,’ उनी भन्छन्, ‘विदेशी संस्कृतिमा लाग्दा यता न उताको भइसकेका छौं ।’ विद्यालय र कलेज पढ्ने उमेर समूहमा परम्परागत कलाको सीप हस्तान्तरण भएन भने संस्कृति लोप हुने उनले ठम्याइ छ ।

सोरठी र लोकभाकालाई संरक्षण गर्न भुजेलले भाइ पुस्तालाई धेरैपटक आग्रह गरेपछि बडीगाडमा गाउँपालिकास्तरीय कला संस्कृति संरक्षण मञ्च गठन भएको छ । मञ्चको संयोजक भने ४० वर्षीय निमबहादुर भुजेलले सम्हालेका छन् । मञ्चमा २२ जना संगठित भएर दोहोरीगीत, सोरठी र रोधीको पुरानो संस्कृतिलाई चाडपर्व मेलापातमा ब्युँताउँछन् । भुजेलकै स्वर संरक्षणका लागि सोरठी गाएको एउटा एल्बम मञ्चले तयार गरेको छ । त्यसमा पुरुषमा भुजेल र महिलातर्फ झरना भुजेल र जबुना श्रीषले स्वर दिएका छन् ।

सोरठीका लागि कम्तीमा १२ जनाको समूह चाहिन्छ । गाउने, नाच्ने, बजाउनेको आवश्यकता परेकाले उपस्थितिअनुसार धेरैजना पनि समावेश हुने मञ्चका कोषाध्यक्ष चुमानसिंह घर्तीमगर बताउँछन् । मादलकै तालबाट गुरुबाउले गीतमा निर्देशन गर्छन् । गुरुबाउ आफैं पनि नाच्दै मादल बजाउँछन् । उनकै तालमा महिला र पुरुष पोसाक लगाएर पुरुष कलाकार नै नाच्छन् । लोक साहित्यको कथावस्तु, कुलदेवताको आराधना र कुनै काव्यकृतिले उठान गरेका विषय पहिल्याएर पनि नाच्ने गरिन्छ । गीत गाउनका लागि महिला र पुरुष दुवै समूह हुन्छन् ।

मञ्चले आफ्नै प्रकारको पोसाकको व्यवस्थापन गरेको छ । उनीहरूले दर्शकबाट चन्दा र दान भने माग्दैनन् । बरु संस्कृति संरक्षणका लागि राज्यका तहबाटै कार्यक्रम ल्याउनुपर्ने दुर्गाबहादुर भुजेल सुझाव दिन्छन् । ‘हामीलाई चन्दा र दान चाहिँदैन, संस्कृति संरक्षण गर्ने हिम्मत चाहिएको छ,’ उनले भने, ‘सुरुवातको टुक्का नै पैसा माग्न आएको होइन भनेर गाउन थालेका छौं ।’ सोरठीमा पहिले गाउँ, जिल्ला र आसपासका देवीदेउता जगाउने काम गरिन्छ ।

चारदेखि सातवटा टुक्कासम्मका गीतले पहिलो चरण लिन्छ । बाजा पूजा गर्ने, कसैलाई पनि दु:ख कष्ट नपरोस्, अनिकाल, खडेरीले कसैलाई दु:ख नदेओस् भनेर गीत सुरुवात हुन्छ । ‘कसैलाई पनि भिख मागेर खान नपरोस्, काम गरेर, बाँडेरै खान पुगोस् भनेर आशिष दिने र कामना गर्ने यो संस्कार हो,’ निमबहादुर भन्छन् । बरु धेरै ठाउँको रूप हेर्ने, धेरै साथी बनाउने र संस्कृतिको संरक्षण गर्ने भन्ने सन्देश पनि गीतमा दिने गरेका छन् । सोरठीमा गाउँघरको खबर, दु:ख, पीर, समस्या र चाडपर्वको शुभकामनालाई लयबद्ध रूपमा प्रस्तुत गरिन्छ ।

प्रकाशित : असार ३१, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?