गुण्डागर्दीविरुद्ध अभियान

पोखरा — कास्की प्रहरीले गुण्डागर्दी निस्तेज अभियानअन्तर्गत २ महिनामा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित गुण्डा नाइके ललितकुमार गुरुङसहित टोलेदादा र आतंक मच्चाउनेलगायत छन् ।

गुण्डागर्दीविरुद्ध अभियान

गुन्डागर्दी, साता असुली, मिटर ब्याज, धम्की दिनेलाई पक्राउ गरि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसैबीच अदालतबाट विभिन्न समयमा मुद्दामा कैद र जरिवाना फैसला भएका तर पक्राउ नपरेका १ सय १ फरार अपराधीलाई जेठ र असारमा पक्राउ गरिएको छ । पक्राउ पर्नेबाट ५ सय रुपैयाँदेखि ५ लाख ६६ हजार रुपैयाँसम्म जरिवानाको रकम र ५ दिनदेखि २० वर्षसम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपिट, चेक बाउन्स, चोरी, लागुऔषध, लिखित गाली बेइज्जती, सरकारी छाप किर्ते, जालसाजी, केही सार्वजनिक अपराधलगायत मुद्दामा संलग्न रहेका छन् ।

यसैगरी सार्वजनिक, लागूऔषध, जबरजस्ती करणी र उद्योग, ठगी, चोरी, बहुविवाह, ज्यानमार्ने उद्योग, हातहतियार, आगलागी, कुटपिटबाट अंगभंग, अपहरण, कालोबजारलगायत मुद्दामा चार सय बढीलाई पक्राउ गरी कारबाही चलाइएको छ । जेठ र असारमै अनुसन्धान क्रममा २ हजार ९ सय ८१ जना पक्राउ गरिएकोमा ३ सय ३८ लाई मुद्दा चलाइएको र बाँकीलाई निगरानीमा राखेर जमानीमा छाडिएको प्रहरी भनाइ छ ।

लागूऔषध निस्तेज अभियानअन्तर्गत ४२ पुरुष र एक महिलालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । अवैध मदिरा पनि नियन्त्रण अभियान चलाइएको रानाले बताए । दुई महिनामा ट्राफिक कारबाहीमा ९ हजार ७ सय सवारी साधन र चालकबाट ६७ लाख ७८ हजार राजस्वय संकलन भएको छ । यसैगरी यौन व्यवसायमा संलग्न २७ पुरुष र ५१ महिलालाई कारबाही गरिएको, पर्यटकीय क्षेत्र लेकसाइडका होटल र पर्यटकका सामान चोरीमा संलग्न ४ गिरोह पनि समात्न प्रहरी सफल भएको छ ।

प्राकृतिक स्रोतको दोहन गर्ने ११ टिपर, ३ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘हामीले योजनै बनाएर गुण्डागर्दी, लागूऔषध, मिटर ब्याज, जुवातास, यौनविकृति, घरेलु हिंसा, महिलामाथि हुने अपराध नियन्त्रणमा लागेका छांै,’ एसपी रानाले भने, ‘सबै पक्षबाट सहयोगको अपेक्षा छ ।’

प्रकाशित : असार ३२, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?