‘गाउँगाउँमा सिंहदरबार भनेर पुग्दैन’

दिप्ती सिलवाल

पर्वत — ‘गाउँगाउँमा सिंहदरबार भन्ने नारा मात्रै दिएर हुँदैन,’ कुश्मा नगरपालिका ५ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय अगुवा निर्मल विश्वकर्माले भने, ‘भोकै विद्यालय आउने मजदुरका छोराछोरीलाई खाजाको व्यवस्था हुनुपर्‍यो । खाल्टाखुल्टी भएका सडकको मर्मतमा चासो पुग्नुपर्‍यो ।’

‘गाउँगाउँमा सिंहदरबार भनेर पुग्दैन’

स्थानीय सरकार गठन भएको पहिलो सार्वजनिक सुनुवाइमा विकासप्रति चासो राख्ने विश्वकर्मा एक्ला होइनन् । कुश्मास्थित उद्योग वाणिज्य संघको सभाहलमा स्थानीयले विकासमा चासो र चिन्ता व्यक्त गरे । ‘लामा पुल हेर्न आउने पर्यटकको लर्को लाग्छ, उनीहरू आराम गर्ने चौपारी र बगैंचाको खाँचो छ,’ स्थानीय बुद्धिकुमारी श्रेष्ठले भनिन्, ‘हामी श्रमदान गर्न तयार छौं । जनप्रतिनिधिले सक्रियता देखाउनुपर्‍यो ।’ रामहरि शर्माले कुश्माको गौरवका रूपमा समेटिएको रिङरोडलाई प्राथमिकता दिनुपर्ने बताए ।

पवित्रा श्रेष्ठले कुश्माका मुख्य पर्यटकीय क्षेत्र जोड्ने कालीगण्डकी किनारतर्फको सडक कालोपत्रे गर्नुपर्ने बताइन् । गणेश क्षत्रीले टुक्रे योजनाभन्दा ठूला योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राजदेव गुरुङले दुर्लुङ र बलेवाको भैरवथान जोड्ने केबलकारको परिकल्पना गर्नुपर्ने बताए । गोकुल चापागाईं र विष्णु नेवारले कालीगण्डकी किनारका घाट व्यवस्थित नहुँदा दुर्गन्ध र कालीगण्डकीको अस्तित्व संकटमा परेको बताए । ईश्वरी पाठक र शशिधर पौडेलले सडक बत्तीको व्यवस्थापनको खाँचो औंल्याए । रमा श्रेष्ठले मजदुरका समस्याको सुनुवाइ हुनुपर्ने बताइन् ।

स्थानीय सरकार गठनपछिको पहिलो सार्वजनिक सुनुवाइ भएकाले कुश्माबाहिरका बासिन्दाले समेत स्थानीय सरकारप्रति आक्रोश पोखे । यज्ञप्रसाद शर्माले सरसफाइका नाममा हातमा कुचो र डस्टबिन बोकेर हिँड्दैमा समग्र सरसफाइ नहुने भन्दै प्रत्येक नागरिकमा सफाइको चेतनास्तर विकास गर्नुपर्ने बताए । कार्यक्रममा बोल्ने सबैजसोले विकास योजनाको पारदर्शिता भन्दा बढी नगरको सर्वाङ्गीण विकासबारे चिन्ता व्यक्त गरे ।

आव ०७४/७५ मा वडाबाट वितरण भएका विभिन्न योजनाहरू कार्यान्वयनको अवस्था र गुणस्तरियतामा वडावासीको जिज्ञासा मेटाउन कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । तर, कुश्मावासीलाई कामको पारदर्शिता भन्दा विकासमा चासो बढी भएको वडाध्यक्ष चित्रकला भारतीले बताइन् । ‘वडाको विकास र सेवाप्रवाहमा वडावासीको गुनासो नहुनु स्वाभाविक हो,’ वडाध्यक्ष भारतीले भनिन्, ‘त्यो भन्दाबढी हाम्रो आँखा नपरेको क्षेत्रमा चासो राख्नुभयो । यसबाट वडावासी विकासप्रति हामीभन्दा संवेदनशील भएको देखियो ।’

सहभागीले नगरका अन्य वडाहरूको तुलनामा ५ नम्बरले असल काम गरेकोमा प्रशंसा गर्दै आगामी वर्षको कार्यक्रममा बडागाउँदेखि चाक्लेको डिलसम्मको सडकको कालोपत्रे, गोपाङघाट र मोदीवेणी घाटको उचित व्यवस्थापन, जिल्ला अस्पतालको सुधार, सदरमुकामका अग्ला पुलहरूमा सोलारबत्ती र सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने माग राखे ।

कुश्मा–कल्लेरी सडकको स्तरोन्नतिलगायतका विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराए । वडाध्यक्ष भारतीले वडावासीकै मागका आधारमा वडाले रकम विनियोजन गरिने बताइन् । आगामी दिनमा तिनलाई सुधार्दै वडावासीको मागका आधारमा योजना छनोट गरी कार्यान्वयन गर्ने र वडाबाट वितरण भएका योजनालाई सकेसम्म पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : असार ३२, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?