कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘गरिब’लाई निःशुल्क बीमा

बागलुङमा पहिचान भएका ११ हजार २ सय १ परिवारलाई गरिब परिचयपत्र वितरण पछि उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गराइने 
प्रकाश बराल

बागलुङ — पहिचान भएका गरिब परिवारलाई न्यूनतम सेवा दिने गरी परिचयपत्र वितरण थालिएको छ । परिचयपत्र पाएकालाई पहिलो चरणमा कम्तिमा निःशुल्क स्वास्थ्य बीमा गरिनेछ ।

‘गरिब’लाई निःशुल्क बीमा

पहिचान भएका ११ हजार २ सय १ परिवारलाई परिचयपत्र दिइसकेपछि आर्थिक वर्ष २०७५/७६ का लागि निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय भएको हो ।


पहिलो चरणमा निसीखोला गाउँपालिकाबाट परिचयपत्र वितरण थालियो । राष्ट्रिय योजना आयोगले जिल्ला समन्वय समितिमार्फत गरेको अध्ययनबाट गरिब घरपरिवार सूचिकृत गरिएको हो । ‘आर्थिक रुपमा विपन्न भएकाले राज्यका सेवा सुविधामा पनि राहत दिनुपर्छ,’ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘गरिब परिवारलाई रोजगारीका अवसरमा पनि प्राथमिकता दिनुपर्छ ।’


झण्डै एक वर्ष अघिदेखि सबै स्थानीय तहमा पुगेर गरिएको खोजी अभियानबाट उनीहरुको संख्या पत्ता लगाइएको हो । केही वर्षदेखि बागलुङमा स्वास्थ्य बीमा कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमले पनि जिल्लाका ४ हजार घरका २० हजार विपन्न नागरिकको निःशुल्क बीमा गर्ने योजना बनाएको थियो ।


विपन्न परिवारले प्रिमियम तिर्न नसक्दा बीमा नभएको, उपचारको क्रममा धेरै खर्च लाग्दा ऋणमा परेको र कतिपयको उपचार अभावमै मृत्यु भएका घटना धेरै छन् । उनीहरुका लागि वार्षिक २ हजार ५ सय प्रिमियम तिरेमा वर्षभरी ५० हजार रुपैयाँको उपचारको बीमा हुनेछ ।


‘यो अभियानले अतिआवश्यक पर्ने नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने वातावरण बन्नेछ,’ जिल्ला समन्वय अधिकारी नारायणप्रसाद सापकोटाले भने, ‘हामीले सबै घरपरिवारको नियमित अनुगमन पनि गरेका छौं ।’


न्यून आय भएका, दैनिक ज्याला मजदुरीमा नगएमा खानै नपुग्ने र उपचार खर्च अभावमा मृत्युवरण गर्न बाध्य परिवारका सदस्य यहाँ सूचिकृत भएको उनले बताए ।


सूचिकृत भएकालाई जतिसक्यो छिटो परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसका लागि हरेक स्थानीय तहका कर्मचारीलाई तालिम पनि दिइसकेको सापकोटाले बताए ।


सबै संचारमाध्यमबाट सूचना जारी गरेको, पहिचानकै क्रममा भएका कामको जनप्रतिनिधिबाट अनुगमन गरेकाले सही तथ्यांक आएको उनको भनाई छ । आर्थिक वर्ष २०७४/७५ मा १ करोड ९६ हजार रुपैयाँ खर्च गरेर पहिचान र परिचयपत्र वितरणको काम गरिएको हो ।


बीमा रकम प्राप्त हुनासाथ अनिवार्य बीमा गराईनेछ । पहिचान भएको वर्षमै १ हजार ३३ जनालाई परिचयपत्र दिइसकिएको छ । बाँकीलाई दशै अघिनै वितरण गरिसक्ने योजना समितिले बनाएको छ । त्यतिबेलासम्म उनीहरुको बीमाको प्रिमियम पनि जम्मा गरिसकिने कार्यक्रम छ ।

प्रकाशित : असार ३२, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?