कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिरा निषेधले घट्यो अपराध

लेखनाथ — कास्कीको रूपा गाउँपालिकामा ८ महिना अघिसम्म मासिक २०–२२ उजुरी घरेलु हिंसाका आउने गर्थे । गाउँपालिकाले गत मंसिरमा बिहानदेखि बेलुकी ५ बजेसम्म मदिरा बिक्रीमा रोक लगायो । परिणामत: घरेलु हिंसा र अन्य आपराधिक क्रियाकलाप अत्यन्तै न्यून भयो

मदिरा निषेधले घट्यो अपराध

गाउँ कार्यपालिकाको छैटौं बैठकले मदिरा बेचबिखनमा रोक लगाएको थियो । गाउँपालिका अध्यक्ष नवराज ओझा विशेषत: महिलामाथि हुने हिंसाको मुख्य कारण मदिरापान देखिएकाले बिक्री निषेध गरेको बताउँछन् । विगत ८ महिनामा घरेलु हिंसाका घटना ह्वात्तै घटेको उनले सुनाए । उनका अनुसार गाउँपालिकामा रहेका ३ प्रहरी चौकीमा घरेलु हिंसाका उजुरी अत्यन्तै न्यून छ । ‘अहिले मासिक २–४ उजुरी मात्रै आउँछन्,’ उनले भने, ‘मदिरा बिक्रीमा नियन्त्रणको असरले यस्तो भएको हो ।’

गाउँपालिकाको देउराली, तालबेंसी र फालभञ्ज्याङमा रहेका प्रहरी चौकीले तोकिएको समयमा मदिरा बिक्री गरे/नगरेको अनुगमन गर्छन् । वडाका जनप्रतिनिधि, आमा समूह, युवा क्लबले पनि अनुगमनमा साथ दिएका छन् । पसलले मदिरा बिक्री गरेको पाए प्रहरीमा खबर पुर्‍याउँछन् । गाउँपालिकाले मदिरासँगै लागूऔषध नियन्त्रणअन्तर्गत गाँजा फडानीलाई पनि जोड दिएको छ ।

अस्थायी प्रहरी चौकी रूपाकोटका प्रहरी सहायक निरीक्षक कृष्णकान्त अर्यालले मदिरा बिक्रीको समय तोकिँदा अपराध घटेको बताए । ‘पुरुषले बिहानैदेखि बेलुकासम्म मदिरा पिउने, बेलुका परिवारका सदस्यलाई कुट्ने उजुरी धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले निश्चित समय तोकिदिँदा त्यस्ता उजुरी कम छन् ।’ देउराली प्रहरी चौकी इन्चार्ज कृष्ण सुनारले घरेलु हिंसाका एक–दुई उजुरी मात्रै पर्ने गरेको उल्लेख गरे । उनले भने, ‘बिहानैदेखि मदिरा पिएर होहल्ला गर्ने, छिमेकीसँग झगडा गर्ने, कोलाहल मच्चाउने, समाजमा शान्तिसुरक्षा खल्बलाउने घटनामा कमी भएका छन् ।’

प्रकाशित : श्रावण १, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?