महिला हराउन रोकिएन

प्रकाश बराल

बागलुङ — जिल्ला प्रहरीमा बर्सेनि हराउने महिलाका बारेमा उजुरी बढेको छ । परिवारले हराउँदा खबर गर्ने र भेटिए नभन्ने चलनले जिल्लाबाट हराएका महिलाको सूची थपिएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा जिल्ला प्रहरीमा ४४ महिला हराएको उजुरी परेको छ ।

महिला हराउन रोकिएन

हराएकामध्ये १३ जनाको परिवारले फेला परेको जानकारी गराएका छन् । ३१ जनाको अवस्था अज्ञात छ । हराएका महिलामा धेरैजसो २० देखि ३५ वर्ष उमेरका छन् । प्रहरीले हुलियासहितको उजुरी लिएपछि मातहतका युनिटमा खबर गर्ने र भेटिए तिनका आफन्तको जिम्मा लगाउने गर्दै आएको छ । ‘खोजी गर्छौं तर महिला हराएका उजुरीमा अधिकांशले दोस्रो विवाह गरेर गएका र अभिभावकको अनुमतिबिना विवाह गरेका धेरै हुन्छन्,’ प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘मानव बेचबिखनको अवस्था यहाँ खासै नभएकाले अभिभावक पनि गम्भीर देखिँदैनन् ।’ छिटपुटबाहेक बेचबिखनमा पर्नेको संख्या यहाँ नभएको उनले बताए ।

चालु वर्षमै २ बालक र ४ बालिका हराएका छन् । उनीहरूको हालसम्म पत्तो लागेको छैन । यसरी हराउने क्रम बर्सेनि बढ्दो छ । पछिल्ला ५ वर्षमा यहाँका २ सय ९७ महिला हराएकामा हालसम्म ७६ जना मात्र फेला परेको तथ्यांक प्रहरीसँग छ । अझै २ सय २० जना भेटिएका छैनन् । आर्थिक वर्ष ०७०/७१ मा ४३ महिला हराएकोमा ११ जना मात्र फेला परेका थिए । हराएका १२ बालिकामध्ये ४ जना मात्र भेटिएका थिए । ७ बालक हराएकोमा ५ जना अझै बेपत्ता सूचीमा छन् ।

आव ०७१/७२ मा ५२ महिला हराएका थिए । त्यस वर्ष १ जना मात्र फेला परिन् । उक्त वर्ष १२ बालिका हराएकोमा कोही पनि फेला परेनन् । बालकतर्फ ७ हराएकोमा ३ जना फेला परेका थिए । आव ०७२/७३ मा ७३ महिला हराएकोमा १७ जना भेटिए । हालसम्म ५६ जनाको अवस्था अझै खुलेको छैन । उक्त वर्ष १५ बालिका हराएकोमा ४ जना भेटिएको सूचना प्रहरीमा आएको थियो । बालक ९ जना हराएकोमा १ मात्र फेला परेका थिए । त्यसैगरी आव ०७३/७४ सबैभन्दा धेरै ८६ महिला हराएका उजुरी छन् । उनीहरूमध्ये ३५ जना भेटिएको र ५१ अझै बेपत्ता छन् ।

रेग्मीका अनुसार हराएका बालबालिका र महिला भेटिएर जानकारी नदिएकाले पनि यो संख्या धेरै देखिएको हो । ‘कतिपय भेटिएर आफ्नो गाउँघरमा काममा हिँडिरहेका होलान्, हाम्रो सूचीबाट हटेका छैनन्,’ उनले भने, ‘डरलाग्दो अवस्था भने होइन भन्ने हामीले बुझेका छौं ।’ महिला अधिकारकर्मी भने यो डरलाग्दो अवस्था भएको बताउँछन् । ‘यो तथ्यांक मैले पहिलो पटक सुनें । यो डरलाग्दो छ,’ महिला विकास अधिकृत डिलकुमारी शर्माले भनिन्, ‘अब हामी पनि खोजी गर्छौं ।’

विवाहको नाउँ दिएर बेचबिखन र हत्यासम्मका घटना भएर बाहिर आउन नसकेको पनि हुन सक्ने शर्माले टिप्पणी गरिन् । ‘अब सबैले चासो दिएर उनीहरू किन र कहाँ बेपत्ता भएका हुन् ? भन्ने खोजी गर्नैपर्ने भयो,’ उनले भनिन् ।

प्रकाशित : श्रावण ३, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?