कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिलाई गुनासाको ओइरो

गाउँपालिकाको सार्वजनिक सुनुवाइ

लमजुङ — दैनिक सेवा प्रवाह, विकास निर्माण, बजार व्यवस्थापन र लक्षित वर्गसम्म योजना पुगे नपुगेको गुनासो स्थानीयले जनप्रतिनिधिसँग पोख्न थालेका छन् । मनाङको चामे गाउँपालिकामा वर्षभरी सञ्चालन गरिएका योजनाबारे आयोजित सार्वजनिक सुनुवाइमा सेवाग्राहीले दु:खेसो पोखेका हुन् ।

जनप्रतिनिधिलाई गुनासाको ओइरो

भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, सडक मापदण्ड, घर नक्सा निर्माण तथा पास, प्राकृतिक स्रोत व्यवस्थापन लगायतका क्षेत्रमा समस्या भोग्नु परेको उनीहरूको गुनासो थियो । योजनाको किस्ता भुक्तानीमा समस्या भोग्नुपरेको, सेवा प्रवाह र सेवाग्राहीबीचमा सेवाका आवश्यक प्रक्रिया झन्झटिलो भएको, स्कुल मर्ज भएपछि साना विद्यार्थीको पढाइ व्यवस्थापनमा गाह्रो भएको, कर्मचारीले अपेक्षित रूपमा समय दिन नसकेको, भौतिक पूर्वाधार निर्माणका योजनामा प्राविधिकले अनुगमन नगरेको गुनासो सेवाग्राहीले पोखे ।

चामे गाउँपालिका १ थानचोकका मान घलेले घर निर्माण गर्दा नक्सा पास गर्नुपर्ने व्यवस्थाले सास्ती थपिएको बताए । ‘कसरी, कहाँ नक्सा पास गर्ने भन्ने नै थाहा छैन । सर्वसाधारण अलमलमा छन्,’ उनले भने । हिमालयन देवी युवा क्लबका अध्यक्षसमेत रहेका उनले युवा क्लबको भवनमा वडा कार्यालय बसेकोमा भाडा नदिएको गुनासो गरे ।

थानचोक आमा समूहकी अध्यक्ष निर्मला गुरुङले विगतमा लक्षित वर्गका लागि निश्चित प्रतिशत रकमको व्यवस्था हुने गरेकोमा हाल उक्त व्यवस्था भएनभएको बारे जिज्ञासा राखिन् । ‘लक्षित वर्गका लागि विनियोजित बजेट कहाँ–कहाँ जान्छ ?’ उनले प्रश्न गरिन्, ‘कुनै योजनामा विनियोजित रकमबाट कति प्रतिशत कर वा अन्य शीर्षकमा कट्टी हुने हो ?’ स्थानीय टिनकदेवी गुरुङले आगामी दिनमा उपभोक्ता समितिको रोहबरमा मात्रै योजनाको स्टिमेट बनाउनुपर्ने र बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

जनप्रतिनिधि निर्वाचित भएपछि विगतका तुलानामा भन्दा हाल काम गर्न सहज भए पनि लक्ष्य अनुरूप काम हुन नसकेको सेवाग्राहीको गुनासो थियो । सहभागीको जिज्ञासाबारे चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, उपाध्यक्ष मुनिन्द्रजंग गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले प्रष्ट पारेका थिए ।

अध्यक्ष घलेले सेवाग्राही नागरिकलाई गाउँपालिकाका कार्यक्रम, योजना तथा बजेटबारे कुनै पनि खालका जिज्ञासा वा अस्पष्टता भए जुनसुकै समयमा पनि जवाफ दिन तयार रहेको बताए । ‘हामीले सकेसम्म पारदर्शी र प्रभावकारी तवरले योजना तथा कार्यक्रमलाई अघि बढाएका छौं । चामे गाउँपालिकालाई नमुना बनाउन सवैको सल्लाह सुझाव आवश्यक छ,’ उनले भने । कार्यक्रम असार ३१ मा आयोजना गरिएको थियो ।

प्रकाशित : श्रावण ३, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?