२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

धौलागिरिमा अब सधैं गाडी गुड्ने

म्याग्दी — जिल्लाको ४५ प्रतिशतभन्दा बढी भुभाग ओगट्ने दुर्गमको धौलागिरि गाउँपालिकामा अब सबै याम गाडी पुग्ने भएको छ । मालिका गाउँपालिका ५ र धौलागिरी गाउँपालिका ७ को सीमामा पर्ने दाङखोलामा अस्थायी पुल निर्माण भएको हो ।

धौलागिरिमा अब सधैं गाडी गुड्ने

पक्की पिलरमाथि फलामे बिम राखेर बनाइएको अस्थायी काठे पुल १८ मिटर लम्बाइ, ३ मिटर चौडाइ रहेको छ । पुलले बस, ट्याक्टर र मिनीट्रकसम्मको भारवहन गर्न सक्ने प्राविधिकले बताएका छन् । १ मिटर चौडाइ र ३ मिटर लम्बाइका तीनवटा फाउण्डेसन पिलरमाथि तीनवटा फलामे बिम राखेर त्यसमाथि काठका मुडा बिच्छाइएको छ ।

‘दाङखोला पुल धौलागिरी गाउँपालिकाको गेटवे र गौरवको योजना हो । पुल डिजाइन इष्टिमेटभन्दा राम्रो बनेको छ,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘पुलले आवतजावत धेरै सजिलो पारेको छ । यो हाम्रा लागि अति जरुरी थियो ।’ पुलले धौलागिरिलाई बाह्रैमासका लागि सडक सञ्जालमा जोडेको उनले बताइन् ।

पूर्वनिर्धारित डिजाइन इष्टिमेटका तुलनामा पुल स्तरीय बनेको सवइञ्जिनियर वालकृष्ण पौडेलले बताए । ‘गाउँसभाले दाङखोला अस्थायी बेलिव्रिज भनेर माइन्युट गरेको थियो । लेखापरीक्षणमा आउने झन्झटबाट बच्न योजनाको नाम अस्थायी बेलीव्रिज राखिएको छ,’ उनले भने, ‘तर, अस्थायी भनिएपनि पुल बलियो छ ।’बेनी–दरवाङ–जलजला र रुकुम जोड्न निर्माणाधीन सडकको दरवाङ–मुना खण्डमा पर्ने दाङखोला पुलको निर्माणपछि गाउँले खुसी छन् ।

दाङखोलामा पुलले धौलागिरि गाउँपालिकाबासीलाई सोझो जिल्ला, प्रदेश मुकाम र प्रदेश राजधानीसमेत ठूला सहरसँग सोझो सडक सम्पर्क गराएको छ । स्थानीयसँगै पुलले ढोरपाटन सिकार आरक्ष, डोल्पा पदमार्ग र गुरिल्ला पदमार्गमा आउने पर्यटकलाई समेत सुविधा पुग्छ । यो पुल ३५ लाख ८ हजार रुपैयाँको लागतमा बनेको धौलागिरि गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?