बुर्तिबाङमा सतर्कता

प्रकाश बराल

बागलुङ — पहिरोले घरवास पुरिएका बुर्तिबाङका स्थानीय जनता आवासीय माध्यमिक विद्यालयमा अस्थायी बसोबास गर्न थालेका छन् । गत मंगलबार र बुधबारको पहिरोले बुर्तिबाङ अस्पतालदेखि सिमसारसम्मको बस्तीका २० परिवार विस्थापित भएका छन् ।

बुर्तिबाङमा सतर्कता

उनीहरूको अस्थायी आश्रयका लागि एकीकृत सेवा केन्द्र, इलाका प्रहरी, ढोरपाटन नगरपालिका र विपद् व्यवस्थापन समितिले उक्त व्यवस्था गरेको सेवा केन्द्र प्रमुख जनक थापाले बताए । बाढीका कारण घर र डेरामा बस्न नसकेकालाई केही दिनका लागि विद्यालयमा राखिएको हो । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

पहिरोले यहाँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । ‘बस्नै नमिल्ने र थप पहिरो आउन सक्ने खतरा भएकाले अस्थायी बसोबास गराइएको हो,’ प्रहरी निरीक्षक ओमप्रकाश यादवले भने, ‘आफ्नै घरमा फर्कने अवस्था बनाउन धेरै काम गर्नुपर्नेछ ।’ छाप्रोमा बस्दै आएका एक दर्जन परिवारका लागि भने नयाँ घर निर्माण गर्नुपर्ने भएको छ । पहिरोले सडक, अस्पताल र उद्योगसमेत पुरेको छ । क्षतिको लगत संकलन भइरहेको उनले बताए । अस्थायी बसोबास गर्ने परिवारलाई विभिन्न संस्थाले खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री सहयोग गरेका छन् ।

पहिरोले बगाएर ल्याएको माटो र ढुंगाले बुर्तिबाङ बजारको अधिकांश गल्ली र सडक समेत हिलाम्मे छ । पैदल यात्रीले पनि आउजाउ गर्न कठिन भएकाले सवारीसाधन चल्ने बनाउन केही दिन लाग्ने अवस्था छ । गत वर्ष बडिगाढ खोलामा आएको बाढीले बगाएर जोखिममा परेको बुर्तिबाङ बजारको पश्चिमी किनारामा समेत सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । गत वर्ष पनि बुर्तिबाङमा दर्जन घर बाढीपहिरोले बगाएको थियो । यसपटक पक्की घर पनि पहिरोको उच्च जोखिममा छन् ।

गत वर्ष जिल्ला भूसंरक्षण कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र अन्य दाताबाट तारजाली व्यवस्था गरेर तटबन्ध गरिएको थियो । ‘धेरै ठाउँमा पहिरो खस्न सक्ने अवस्थामा छ,’ ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले भने, ‘केही सुरक्षाको प्रबन्धको कार्यक्रमसहित बजेट पनि विनियोजन गरेका छौं ।’ बुर्तिबाङ बजारको सुरक्षाका लागि स्थानीय बजेट मात्र पुग्दो छैन । चालु वर्षको बजेटमा बजारक्षेत्रको संरक्षणका लागि तटबन्ध गर्ने कार्यक्रम राखेको छ ।

बुर्तिबाङ बजारमा निसीखोला, भुजीखोला र तमानखोला गरी ३ खोलाको संगम छ । उच्च पहाडबाट आएका खोलामा जतिबेला पनि बाढी पस्ने खतरा छ । ‘हामीले पनि उच्च जोखिमको क्षेत्र भएकाले संरक्षणको अभियान चलाउनुपर्छ भनेर सूचीकृत गरेका छौं,’ जिल्ला भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘पहिलो वर्ष सक्दो काम पनि गरेका थियौं । यो वर्ष कार्यक्रम शून्य भएपछि केही गर्न सकिएन ।’ पक्की पर्खाल निर्माण गरेर खोलालाई व्यवस्थित बनाउन नसके थप खतरा उत्पन्न हुने उनले बताए ।

खोलातर्फको खतरासँगै अग्लो पहाडको फेदीमा बजार रहेकाले माथिबाट खस्ने पहिरोले पनि जोखिम बनाएको हो । बजारदेखि गाउँतर्फ लैजान खनिएका ग्रामीण सडकहरू पहिरोको मुख्य कारण हुन् । ती सडक खन्दा भौगोलिक अवस्थाको पहिचान नभएको र जोखिमको आकलन नभएको टिप्पणी सुरु भएको छ । पहिरोले मध्यपहाडी लोकमार्गको धेरै स्थानमा पहिरो खस्दा बिरामी र अत्यावश्यक काम भएकाहरू गन्तव्यमा पुग्न सकेका छैनन् ।

प्रकाशित : श्रावण ६, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?