१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुरु नै भएन सबस्टेसन निर्माण

नारायण शर्मा

नवलपरासी — बोझापोखरीमा आगामी असोजमा निर्माण सकिने भनिएको विद्युत् सबस्टेसनको काम अझै थालिएको छैन । सबस्टेसनको काम ढिलाइ हुनुमा विद्युत् प्राधिकरण र ठेकेदार एक–अर्कालाई दोष दिइरहेका छन् ।

सुरु नै भएन सबस्टेसन निर्माण

महेन्द्र राजमार्गको दलदले बजारबाट २२ किलोमिटर उत्तरमा रहेको बोझापोखरीमा सबस्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणले ग्लोबल टेन्डर आह्वान गरेको थियो । टेन्डर ११ केभीएको सबस्टेसन निर्माणका लागि तीन वर्षअघि १२ करोड रुपैयाँको थियो । भारतीय निर्माण कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङलाई ठेक्का परेको थियो । काम अघि बढाउन उक्त कम्पनीका नेपाली सबकन्ट्रयाक्टर त्रिपुरेश्वर कन्डक्डर र जयदुर्गे इन्जिनियरिङ थिए ।

ठेकेदारले जग्गा सम्याउने र पर्खाल लगाउने काम गरे पनि त्यसपछि संरचना निर्माणका काम थालेका छैनन् । सबस्टेसन नबन्दा पूर्वी नवलपरासीका पहाडी भेगमा विद्युतीकरण अनिश्चित भएको छ । ‘ठेकेदारले काम नथाल्दा हामी पनि प्रेसरमा छौं,’ विद्युत् प्राधिकरण बुटवल डिभिजनका कार्यालय प्रमुख विश्वरञ्जन मिश्रले भने, ‘पटकपटक ताकेता गर्दा पनि ठेकेदारले काम थालेनन् ।’ धेरै पटक ठेकेदार र उसका सबकन्ट्रयाक्टरलाई पत्राचार गरे पनि सम्पर्कमा नआएको उनले बताए । ‘देशभरमा गरेर यस्ता १२ वटा सबस्टेसन बनाउनुपर्नेछ,’ उनले भने, ‘अरू ठाउँ काम भइरहेका छन् । तर, पूर्वी नवलपरासी र रोल्पामा बनाउनुपर्ने सबस्टेसनको काम भएको छैन ।’ सबस्टेसनका लागि ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भने निर्माणका लागि प्राधिकरणले सबस्टेसनसम्म विद्युत् लगिदिनु पर्नेमा नलगेका कारण ढिलाइ भएको दाबी गरेका छन् । मुख्य प्रसारण लाइनबाट सबस्टेसन निर्माणस्थलसम्म विद्युत् पुर्‍याइदिने जिम्मेवारी प्राधिकरणको बुटवल क्षेत्रीय कार्यालयको हो । लाइन तान्ने काम अझै सुरु भएको छैन । सबस्टेसन निर्माण गराउने योजना प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गतको हो ।

बुटवल डिभिजन प्रमुख मिश्रले भने ठेकेदारले समयमै काम नथालेका कारण विद्युतीकरण र प्रसारण लाइनमा जोड्ने काम नभएको दाबी गरे । बोझापोखरीमा सबस्टेसन बनाएर प्राधिकरणको पूर्वी नवलपरासीका पहाडी भेगमा विद्युतीकरण गर्ने र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना हो । अब सरासर काम थाल्दा पनि कम्तीमा दुई वर्ष लाग्ने मिश्रको भनाइ छ । जिल्लाको पहाडी बस्तीका ४० हजार घरधुरीमा अझै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छैन । कतिपय बस्तीहरूमा विद्युत् छैन भने कतिपय लघु जलविद्युत् र सौर्य ऊर्जाको भरमा छन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?