२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दशकदेखि सडक, पुल छैन

पक्की पुल नहुँदा सवारी खोलामा फस्दै
बेंसीसहरदेखि म्यार्दीसम्म पहिरोको समस्या
आश गुरुङ

लमजुङ — मनाङ जाने सडक बनेको दशक बितिसक्दा पनि खोलाहरूमा पक्की पुल निर्माण भएका छैनन् । स्थानीय दैनिक जीवनयापनका लागि लमजुङ–मनाङ वा मनाङ–काठमाडौं गर्दा पुल नहुँदा स्थानीय जोखिम मोलेर हिँड्न बाध्य छन् ।उनीहरू निश्चित समयमा तोकिएको गन्तव्यमा पुग्न सक्दैनन् ।

दशकदेखि सडक, पुल छैन

पर्यटक पनि उक्त समस्या झेलिरहेका छन् । सडक निर्माणपछि आफ्नै गाउँघरबाट सहरबजार झर्न सहजै पाउने आस बोकेका स्थानीय वर्षायाममा बढेको बाढीले उनीहरूको कतिपय यात्रा रोकिने गरेको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार वर्षायामको समय सवारीसाधनले म्यार्दीखोला र तिमाङखोला तर्न सक्दैनन् । माथिल्लो मनाङको पिसाङखोला पनि तर्न सकिँदैन । म्यार्दीखोलामा बेलिब्रिज निर्माणाधीन अवस्थामा छ ।

वैशाखमै सक्ने भनिए पनि हालसम्म नसकेको उनी बताउँछन् । तिमाङखोला र पिसाङखोलामा पुल बनाउने सुरसार छैन । ‘हामीले पहिल्यैदेखि पुल बनाउनुपर्छ भनी माग गर्दै आएका हौं । पुल नभएपछि हाल समस्या परेको छ,’ उनले भने । लमजुङ भोटेओडारका अर्जुन घलेका अनुसार बेंसीसहरबाट म्यार्दीसम्म पहिरोको समस्या छ । लमजुङ–मनाङको सिमाना बेंसीसहरदेखि ३५ किलोमिटरको दूरीमा पर्छ । म्यार्दीबाट चामेसम्म ३० किलोमिटर छ ।

पानी परेको समय म्यार्दी तर्न नसकेपछि पारिपट्टि गएर अर्को जिप कुर्नुपर्छ । त्यसपछि तिमाङखोलासम्म गएपछि रोकिनुपर्छ । जिपले चामे पुर्‍याउँछ । ‘गाडीले खोला तर्न सक्दैन । इन्जिनमा पानी पसेपछि बिग्रन्छ,’ उनले भने, ‘सवारी र यात्रु जोखिम मोलेर हिँड्न बाध्य छन् ।’ बेंसीसहर–चामे १ हजार रुपैयाँ भाडा रहेकोमा सवारी परिवर्तन गर्नुपर्दा बेंसीसहरदेखि म्यार्दीसम्म ६ सय, म्यार्दीबाट तिमाङखोलासम्म ४ सय र तिमाङखोलादेखि चामेसम्म ३ सय रुपैयाँ भाडा लिने गरेको उनले बताए । सवारी साधन जानेआउने तथा मौसमको भर नहुँदा कार्यस्थल जानआउन असहज भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । ‘आज यो कार्यक्रम गर्ने भनेर गाउँलेलाई खबर गर्‍यो । बाढीले बाटो छेकिदिन्छ । अनि फर्केर जानुको विकल्प छैन,’ उनले भने ।

सवारी चालक सुलभ गुरुङका अनुसार कतिपय जिप खोलामा फसेर आफैं खोलामा डुबी निकाल्नुपर्ने अवस्था छ । डोजरले तान्नुपर्ने अवस्था छ । बाढी ठूलो आउँदा सवारी साधनसँगै मानिसलाई पनि बगाउने खतरा छ । ‘जति खतरा भए पनि गाडी चलाउनै पर्‍यो । नत्र यात्रुले गाली गर्छन्,’ उनले भने । सवारी चालक होमप्रसाद गुरुङका अनुसार खोलामा बाढी आएपछि कतिपय सवारी साधन डुबेको र इन्जिनमा समस्या आएको बताए । मनाङमा चल्ने विभिन्न खालका जिप साथै स्कार्पियो समेत बिगारेको उनले बताए । ‘७/८ गाडीले पानी खाइसके । कुनै सवारी साधन २/३ लाख रुपैयाँ तिर्दा पनि नबन्ने भए । कुनै सवारी साधन बिग्रिएर थन्किएका छन्,’ उनले भने, ‘नचलाउँm भने चलाउनैपर्ने, चलाउँm भने यस्तो आपत् छ, कसरी चलाउने ?’

यात्रु तथा चालकका अनुसार म्यार्दीखोला र तिमाङखोला बढेर सवारी वारपार गर्न सकिएको छैन । तिमाङखोलाले बेला–बेलामा सडकको ट्रयाक नै बगाइदिँदा समस्या परेको छ । तिमाङखोलामा पुल निर्माण गर्न २ वर्षअघि बेस राखिएपनि बाढीले बगाएपछि डिभिजन सडक कार्यालय दमौलीले पुन: निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ । तर, पुल निर्माणको कुनै सुरसार छैन । म्यार्दीखोलामा २ वटा ह्युमपाइप राखिएका छन् । ह्युमपाइपमा पानी अटेको छैन । राखिएको ह्युमपाइप पनि प्वाल परेपछि समस्या बढेको उनले बताए ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले समयमै पुल निर्माण हुन नसकेकोबारे डिभिजन सडक कार्यालय दमौलीलाई पटक–पटक भने पनि सुनुवाइ नहुँदा हाल समस्या परेको बताए । ‘खोला बढ्यो । जिप डुबिरहेको छ । खोला झन् बढ्दो छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी प्रजिअ हरिप्रसाद पन्तले डिभिजन सडक कार्यालयलाई यसबारे पटक–पटक भनेको बताए । डिभिजन सडक कार्यालय दमौलीमा कार्यरत रही म्यार्दीखोलामा निर्माणाधीन बेलिब्रिज हेर्दै आएका इन्जिनियर कर्ण केसीका अनुसार पानीका कारण निर्माणमा समस्या आएको छ ।

म्यार्दीमा २ वटा ह्युमपाइप राखिएका छन् । सडकमा आउने समस्या तत्काल समाधान गर्न एउटा एक्साभेटर राखिएको छ । ‘पुलको ७५ प्रतिशत काम सकिएको छ । पानी परेकाले समस्या भएको हो,’ उनले भने । मनाङतिरको पिल्लर ढलाइ सकिएपछि बेलिब्रिज राखिने उनले बताए । बेलिब्रिज म्यार्दीखोलामा पुगिसकेको उनले सुनाए । पुल जेठ मसान्तमै सक्ने सम्झौता निर्माण कम्पनी ग्याल्बा–क्याराभान जेभीले गरेको थियो ।

जेठमा नसक्ने भएपछि निर्माण व्यवसायीले चालु आर्थिक वर्ष (असार) मा निर्माण सक्ने योजनासहित म्याद थपको निवेदन डिभिजन सडक कार्यालय दमौलीमा दिएको थियो । अहिले निर्माण कम्पनीले साउन पहिलो सातासम्म म्याद मागेको इन्जिनियर केसीले बताए । म्याद सकिन लाग्दा समेत उक्त पुलको मनाङतर्फको पिलर पुरै उठाइसकिएको छैन ।

प्रकाशित : श्रावण ६, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?