१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

मौलाकालिकामा केबुलकार योजना

कान्तिपुर संवाददाता

नवलपरासी — गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा केबलकार निर्माण हुने भएको छ । केवलकारको निर्माण मौलाकाली केवलकार प्रालिले गर्न लागेको हो । कम्पनीले खरिद गरेको गैंडाकोट १ मौलाकालिका फेदीको १२ कट्ठामा आधार स्टेसन र मन्दिर तल हाल हेलिप्याड रहेको स्थानमा टप स्टेसन राख्ने योजना छ ।

मौलाकालिकामा केबुलकार योजना

केबुलकार निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनको काम सकेको जनाएको छ । मन्दिर परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा कम्पनीले कागजी प्रक्रिया छिटो अघि बढेसँगै निर्माणको काम थाल्ने जानकारी दियो । ‘सरकारी कागजी प्रक्रिया अगाडि बढेसँगै एक वर्षभित्रै निर्माण अघि बढाउँछौं,’ मौलाकाली केबलकारका अध्यक्ष चन्द्र ढकालले भने, ‘एक अर्बभन्दा बढी लगानी हुने इस्टिमेट छ । हाम्रो केबलकार अस्छट्रलेलियन प्रविधिको हुनेछ ।’ निर्माण कार्यमा कम्पनीको ५१ र स्थानीयको ४९ प्रतिशत सेयर लगानी रहने जानकारी उनले दिए ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले केबुलकारको योजना नगरभित्रका धार्मिक स्थान समेटेर पर्यटकीय नगर बनाउने लक्ष्यका लागि सकारात्मक रहेको बताए । ‘हामीले ३६ धार्मिक संघसंस्थालाई समेटेर काम अघि बढाउन लागेका छौं । यसमा केबुलकारले ठूलो सघाउ पुग्छ,’ उनले भने, ‘हाम्रो धार्मिक पर्यटकीय नगर विकासको योजनालाई सहयोग हुन्छ ।’

निजी कम्पनीले केबलकारको योजना अघि सारेकोमा केही नगरवासी पर्यावरणीय असरको मामिलामा ध्यान दिइनुपर्ने बताइरहेका छन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले भने १० प्रतिशतले पर्यावरणको कुरा उठाएर असन्तोष प्रकट गरे पनि ९० प्रतिशत जनाता केबलकार निर्माण हुनुपर्ने पक्षमा रहेको बताए । ‘विकास र वातावरणीय सन्तुलन नबिग्रने गरी अघि बढ्नुपर्ने सुझाव आएकाले म चाँडोभन्दा चाँडो निमार्ण थाल्न आग्रह गर्छु,’ उनले भने ।

निर्माण सुरु गरेको डेढ वर्षमा डेढ किमि दूरीमा केबुलकार सञ्चालन हुने ढकालले जानकारी दिए । महेन्द्रराजमार्गबाट पौने ३ किमिको दूरीमा मौलाकालिका मन्दिर रहेको छ । पछिल्ला तीन वर्ष ५/५ लाखभन्दा बढीले मन्दिरको अवलोकन गरेको समितिले जनाएको छ ।

बन्दिपुरमा निर्माण सुरु
तनहुँको पर्यटकीय बस्ती बन्दिपुरमा केबुलकार सञ्चालनका लागि निर्माणको काम सुरु भएको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सनद्वारा ५६ करोड रुपैयाँको लागतमा निर्माण गरिने परियोजनामा पृथ्वी राजमार्गको ठूलाढुंगा बटम स्टेसन र बन्दिपुरमा टप स्टेसन बनाइनेछ ।

बन्दिपुर केबलकार प्रालिका निर्देशक तारानाथ उपाध्ययका अनुसार १ हजार ६ सय मिटर दूरीको हुने केबलकार १५ महिनामा निर्माण पूरा गर्ने लक्ष्य छ । ‘कम्पनीले स्थानीयलाई पनि सेयर लगानी गर्न दिन्छ,’ उनले भने, ‘केबुलकारले बन्दीपुरको पर्यटन प्रवद्र्धनसँगै बन्दीपुरको जीवनस्तर उकास्न मद्धत गर्नेछ ।’ १७ वटा डिब्बा रहने केबुलकारले पृथ्वी राजमार्गबाट बन्दीपुर आउने पर्यटकका लागि यात्राको दूरी छोट्याउने उनले बताए ।

प्रकाशित : श्रावण १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?