१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मर्स्याङ्दीले चामेमा त्रास

आश गुरुङ

लमजुङ — मनाङको चामेकी मेलिना गुरुङ घरमै थिइन्, उर्लिएर आएको मर्स्याङ्दीले नजिकै तातोपानी कुण्ड छेकबारको तटबन्धमध्ये चारवटा ग्याबिन भत्कायो । नदी बढ्दै आएपछि उनको मनमा चिसो पस्छ थाल्छ ।

मर्स्याङ्दीले चामेमा त्रास

वर्षायाममा खोला वरिपरिका स्थानीयले जोखिम मोलेर बस्नुपर्छ । उनका अनुसार हिउँदमा त्यही मस्र्याङ्दी हेर्न पर्यटक आउँछन् र तातोपानीमा डुबेर रमाउँछन् । गत साता अस्वाभाविक रूपमा बढेको मस्र्याङदीले ग्याबिन भत्काएपछि मनाङ प्रशासनले मस्र्याङ्दी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । लमजुङ प्रशासनले पनि उत्तरी भेगका मस्र्याङ्दी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार मस्र्याङदीले चामेबाट तल्लो टटीयक्षेत्रका स्थानीयलाई जोखिममा पारेको छ । ‘मस्र्याङदी बढेकै हो । शनिबार साँझ तटबन्ध बगाएपछि हामीले यसबाट सतर्क रहन सबैलाई आग्रह गर्‍यौं,’ उनले भने । उनका अनुसार यसअघि यसरी उर्लिएर मस्र्याङदी बगेको थिएन । केही दिनयता साँझपख मस्र्याङ्दी उर्लिने गरेको छ । उनका अनुसार केही दिनयता साबिकको तुलानामा चिसो कम हुँदै गएकाले हिउँ पग्लिने क्रम बढेको हुनसक्छ । ‘हिमाली भेगको तापक्रम बढदै गएकाले माथिल्लो भेगमा हिउँ पग्लेर हिमनदी बढेको हुनसक्छ,’ उनले भने, ‘एक्कासि बढेर आएको मस्र्याङ्दीले हामी डराएका छौं ।’

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मस्र्याङदीमा मात्रै नभएर ठाडाखोलामा पनि बहाव बढेको छ । तिमाङखोला, दूधखोला, म्यार्दीखोलालगायत खोला बढेर सडक नै बगाउने गरेको छ । ती ठाडा खोलाको मुहान पनि हिमाल नै हो । ‘पानी पनि परिरहेको छ । हिमालमा हिउँ पग्लेर खोला बढेको हुनसक्छ,’ उनले भने ।

नासों गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेका अनुसार लमजुङ सिमानाको ताल, त्यसमाथिका खोत्रो, कार्ते, धारापानी, बगरछापलगायत गाउँ जोखिममा छन् । यी गाउँ मस्र्याङ्दीको छेवैमा छन् । सबैभन्दा बढी तालगाउँ जोखिममा छ । तालगाउँका बुधराज गुरुङका अनुसार गाउँका करिब ५५ घरधुरीलाई नै समस्या पर्ने गरी मस्र्याङदी उर्लिएर आएको छ । मस्र्याङ्दी उर्लिएर आउँदा तालको बगरमा माथिबाट बगाएर ल्याएको ढुंगा, गिटी थुप्रिएर गाउँमा बाढी पस्न सक्ने उनले बताए । ‘दिउँसो त यताउता हेर्न र देख्न सकिन्छ । रातको समय कहाँबाट कसरी बाढी आउँछ भन्ने थाह हुँदैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार विगतको तुलानामा जाडो कम हुँदै आएको छ । दिउँसो कहिलेकाहीं गर्मीसमेत हुने गरेको छ । पृथ्वीको तापक्रम बढ्दै गएकाले हिमालको हिउँ पग्लिने र पानी परिरहेकाले दुवै बाढीमा परिणत भएर नदीमा पानीको बहाव बढी हुने गरेको हुनसक्ने उनले बताए । चामेसम्म आउँदा तिलिचो, थोराङ्ला पिक दक्षिण, गंगापूर्ण ताल, अलि तल आएर पिसाङ र हुम्डेको पानी मिसिएर मस्र्याङदी नदी बनेको छ ।

यसबीचमा थुप्रै स–साना ठाडा खोलाहरू पनि छन् । ‘माथिल्लो क्षेत्रको पानी सबै हिउँ पग्लिएर मूलसँगै बगेर आएका हुन् । तापक्रम बढेका कारण बढी मात्रामा हिउँ पग्लिएर बाढी बनेको हुनसक्छ,’ उनले भने । हिमाल र पहाडको बीचमा प्राय: दिनदिनै वर्षा भइरहेकाले वर्षा र हिउँको बाढी एकैपटक तल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने उनले बताए । उनका अनुसार नदीमा पानीको बहाव नाप्ने कुनै यन्त्र छैन । तापक्रम नाप्ने यन्त्र छैन । मोबाइल र इन्टरनेटमा भर पर्नुपर्छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार मौसम र तापक्रमबारे बुझ्न इन्टरनेट प्रयोग गर्नुको विकल्प छैन । ‘हामीले मौसम र तापक्रमबारे इन्टरनेटमा बुझेर मात्रै पर्यटकलाई आउनेजाने जानकारी गराएका छौं,’ उनले भने । उनका अनुसार अहिले माथिल्लो मनाङ न्यूनतम ८ देखि १२ डिग्री सेन्टिग्रेटसम्म तापक्रम छ । मनाङ गाउँ समुद्री सतहदेखि ३ हजार ५ सय १९ मिटर उचाइमा छ । ‘पछिल्लो समय बर्खायामका बेला चिसो घटेको हो कि, तापक्रम बढेको हो कि भन्ने अनुमान हामीलाई लागेको छ’ गुरुङले भने, ‘भूगर्भको तापक्रम बढ्दा अवस्य हिउँ पग्लिन्छ ।’

प्रकाशित : श्रावण १०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?