महानगरले थाल्यो बालुवा निकाल्न

साउन र भदौमा आफैंले उठाएपछि असोजदेखि ठेक्का लगाउने महानगरको तयारी
विना थापा

कास्की — पोखरा महानगरपालिका आफैंले वडाहरूका घाटबाट बालुवा निकाल्न सुरु गरेको छ । यसअघि साबिक जिल्ला विकास समितिले लगाउने नदीजन्य पदार्थको ठेक्का स्थानीय तह मातहतमा आएपछि महानगरले बालुवा झिक्न थालेको हो ।

महानगरले थाल्यो बालुवा निकाल्न

साउन र भदौका दुई महिनाका लागि नौ वटा वडा कार्यालयको जिम्मेवारीमा बालुवा उठाउन थालिएको हो । ‘महानगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर वडालाई जिम्मेवारी दिएको हो,’ १६ नम्बरका वडध्यक्ष जीवन शर्माले भने, ‘गएको आइतबारदेखि सुरु गरिएको बालुवा झिक्ने कामबाट हाम्रो वडाले तीन दिनमा तीन लाख रुपैयाँ उठाएको छ ।’ साउन ७ देखि बालुवा उठाउन मिल्ने १, ९, १०, ११, १६, १९, २५, ३२ र ३३ वडा कार्यालयलाई जिम्मा दिइएको उनले बताए । मजदुरलाई बालुवा संकलन गर्न दिएर त्यसबाट उठ्ने रकममा ६० प्रतिशत नगरपालिकाले लिने गरेको छ । यसका लागि वडा कार्यालयले रसिदसहित आफ्ना एकजना कर्मचारी र एक स्थानीयलाई खटाएको छ ।

तीनवटा घाट भएको ३३ नम्बर वडामा सोमबार दुई र बुधबारदेखि तेस्रो घाटमा काम थालिएको वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए । ‘दुईवटा घाटबाट एकै दिनमा तीन लाख रुपैयाँ उठेको छ,’ उनले भने, ‘दुई महिनामा दुई करोड उठ्छ भन्ने अनुमान गरेका छौं ।’

एकै दिनमा वडा ७ ले १ लाख ८५ हजार र १९ ले ९६ हजार रुपैयाँ संकलन गरेका छन् भने वडा २९ ले दुई दिनमा ७ लाख रुपैयाँ उठाएको छ । वडा नम्बर १० र ११ मा बालुवा उठाउने मजदुर सबै अन्त भएको र कर्मचारी पनि अभाव भएको भन्दै बिहीबारदेखि सुरु गरिएको छ । वडा नम्बर २५ मा भने बालुवा उठाउने ठाउँमा व्यक्तिको निजी जग्गा परेकाले जग्गाधनीसँग सम्झौताका लागि छलफल भइरहेको वडाध्यक्ष शोभाकर तिमिल्सिनाले बताए ।

नदीको जलस्तर बढ्ने बेला भएकाले साउन र भदौमा धेरै बालुवा आउने मजदुरहरू बताउँछन् । यी दुई महिना बर्खेघाटमा मात्र बालुवा उठाइने महानगरपालिका प्रमुख मानबहादुर जिसीले बताए । ‘असोजदेखि विधिवत् ठेक्काको प्रक्रियामा जान्छौं,’ उनले भने, ‘साउन–भदौको यो दुई महिनामा बालुवा उठाएन भने वर्षाले सबै बगाएर लैजान्छ ।’

प्रकाशित : श्रावण ११, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?