१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनास्लु मार्गमा भरिया घर

कान्तिपुर संवाददाता

गोरखा — मनास्लु पदमार्गका पर्यटकले कतिपय ठाउँमा लामो पैदल दूरीपछि मात्रै बस्ती भेटाउँछन् । यस अवस्थामा हिँड्न नसक्नेले बास बस्नुपरे गाह्रो छ । आफूसँग टेन्ट छैन भने ओत पाउन ओडार पस्नुको विकल्प हुन्न ।

मनास्लु मार्गमा भरिया घर

धार्चे–मनास्लु मार्गको यो अप्ठ्यारो हटाउन सुलिकोट गाउँपालिका ३ स्वाँराको न्याउली खर्क र धार्चे गाउँपालिका ५ र ७ को सिमानाको सुम्बे खर्कमा भरियाघर निर्माण गरिएका छन् । न्याउली खर्कमा सुुलिकोट गाउँपालिकाको आर्थिक सहयोगमा धार्चे मनास्लु पर्यटन विकास समितिले निर्माण गरेको हो । सुम्बेखर्कमा भने जिल्ला समन्वय समितिको पर्यटन रोयल्टीको रकमले घर निर्माण गरिएको समितिका अध्यक्ष साने गुरुङले बताए ।

न्याउली खर्कमा ५ लाख र सुम्बे खर्कमा १५ लाख रुपैयाँको लगानीमा भरियाघर निर्माण गरिएको हो । ‘सरकारले सन् २०१९ र २० मा १८ लाख टुरिस्ट भित्र्याउने भनेको छ, यो पनि पर्यटकको रोजाइको रुट हो,’ उनले भने, ‘आउनेहरूका लागि बस्ती नभएका ठाउँमा चाउरमा सुतेर वा ओडारमा बसेर काम चल्दैन ।’ भरियाघरमा पर्यटकले विश्राम गर्नसक्ने उनले बताए । ‘आफूले बोकेका सुख्खा खाजा खाएर भए पनि धार्चे लेक घुमघाम गर्न पर्यटकलाई सजिलो हुन्छ,’ उनले भने ।

३ हजार २ सय २० मिटर उचाइमा अवस्थित धार्चे डाँडालाई स्थानीयले तल्लो मनास्लु भनेर पनि चिन्छन् । यहाँ मौसम सफा हुँदा पूर्वदेखि पश्चिमका करिब २५ हिमश्रृंखला लहरै देख्न सकिन्छ । यो भेगमा पाँच प्रजातिका गुराँस र विभिन्न जीवजन्तु पाइन्छन् ।

भरियाघरजस्तो विश्रामस्थलको व्यवस्था नहुँदा पर्यटक र तिनका पथप्रदर्शकले ओडारमा बस्नुपर्ने बाध्यता थियो । गोरखा सदरमुकामबाट चढेको गाडी छाडेपछि तीन दिनको पैदल यात्रापछि पुगिने धार्चे डाँडामा बस्ती छैन । यात्रीको रात डाँडाका ओडार, चौर वा गोठमा बित्छन् । ओडारमा बस्न नमान्नेहरू गाईगोठ वा भेडीगोठ खोज्दै त्यसमै आश्रय लिन्छन् ।

गोरखाबाट पाँचखुवा देउरालीको मुलाबारी, ठोट्नेरी, न्याउलीखर्क, सुम्बेखर्कबाट धार्चे लेक अवलोकन गर्दै गुम्दा हुँदै माछाखोला आरूघाट भएर वा लाप्राक, बारपाक भएर फर्कन सकिन्छ । ‘पहिलो दिन मुलाबारी बस्न सकिन्छ । दोस्रो दिन सिद्घगुफा अवलोकन गरेर ठोट्नेरीमा पर्यटक वा धार्चे जाने स्थानीय बस्छन् ।

ठोट्नेरीसम्म बस्ती छ । त्यहाँबाट उकालो लागेपछि बस्ती छैन । न्याउली खर्कमा भरियाघर बनाएपछि त्यहाँ एक रात सजिलै बस्न सकिने भएको छ । त्यहाँबाट बिहान सूर्योदय हेर्न नजिकैको बलाजुङ डाँडा छ ।’ बलाजुङ समुन्द्र सतहबाट २ हजार ७ सय ५० मिटरको उचाइमा छ । धार्चे डाँडाबाट चार घण्टाको पैदल यात्रापछि भने लाप्राक फर्कन सकिन्छ । उक्त पदमार्गलाई मनास्लु पदमार्गसम्म जोड्न चार भरिया घर निर्माणको आवश्यकता रहेको गुरुङले बताए ।

सुलिकोट गाउँपालिकाको मिर्चा खोला, रुबिनाला बेसक्याम्प र चुमनुब्रीको बुद्घ हिमाल बेसक्याम्प र गणेश हिमाल वेसक्याम्पमा भरिया घर निर्माण गर्न समितिले पहल गर्दै आएको छ । ‘अब बाँकी चार ठाउँमा पनि भरिया घरको खाँचो परेको छ,’ उनले भने । सरकार र स्थानीय तहसँग भरियाघर निर्माणका लागि परियोजना प्रस्ताव पेस गरेको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?