प्रशासन कार्यालयमै मतदाता नामावली

नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीका लागि कार्यालयको मूल द्वारमै मतदाता नामावली दर्ताको व्यवस्था
कान्तिपुर संवाददाता

लमजुङ — फोटोसहितको मतदाता नामावली संकलन र सूची अद्यावधिक गर्ने काम पुन: सुरु भएको छ । निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयमा कर्मचारी खटाएर संकलन थालेको हो ।

प्रशासन कार्यालयमै मतदाता नामावली

नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीका लागि प्रशासन कार्यालयको मूल द्वारमै मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको छ । १८ वर्ष पुगेपछि मात्रै मतदानको अधिकार पाउने व्यवस्था छ । १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने भए पनि पछिल्ला निर्वाचनमा मताधिकारबाट उनीहरू वञ्चित नहुन् भनेर दर्ताका लागि कर्मचारी खटाएको हो ।

दर्ता कर्मचारी पवन शर्माका अनुसार दैनिक २० देखि २५ जनासम्मले फोटोसहितको मतदाता नामावली दर्ता गराउने गरेका छन् । ‘नयाँ नागरिकता लिनेलाई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न जाने झन्झटबाट मुक्त बनाउन प्रशासनमै सेवा दिइएको हो,’ उनले भने । नागरिकता प्रतिलिपि बनाउन आएका पनि यसअघि फोटोसहितको मतदाता नामावली दर्ता गराउन छुटेकालाई निर्वाचन कार्यालय पठाउने गरेको उनले बताए । त्यस्ता व्यक्तिको अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय नै जानुपर्ने भएकाले कार्यालय जान आग्रह गरिएको उनले बताए ।

मस्र्याङदी गाउँपालिका ४ का कर्मासुब्बा गुरुङलले प्रशासनमै फोटोसहितको नामावली दर्ता गर्ने सेवा पाउँदा सहज लागेको बताए । निर्वाचन कार्यालयसमेत नचिनेका उनले आमासँगै आएर नागरिकता बनाएको र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको बताए । ‘निर्वाचन कार्यालय कहाँ पर्छ थाहा छैन । जाँदा–आउँदा धेरै समय लाग्न सक्छ । यहीं (प्रशासनमा) काम भएकाले निर्वाचन कार्यालय खोज्दै जानु परेन । पछिको लागि समस्या पनि भएन । समयमै घर फर्किन पाइयो’ उनले भने ।

निर्वाचन कार्यालयका सूचना अधिकारी एवं नासु जीवाखर शर्माका अनुसार निर्वाचन कार्यालय र प्रशासन कार्यालय दुवै ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ । निर्वाचन कार्यालयबाट भने अद्यावधिक भइरहेको उनले बताए । चालु आर्थिक वर्षको सुरुको दिन साउन १ बाट प्रशासन कार्यालयमा फाटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको उनले बताए ।

यसअघि निर्वाचन कार्यालयले वैशाखबाट कार्यालमै फाटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक थालेको उनले बताए । कार्यालयबाट असारसम्म ५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ३५ जनाले अद्यावधिक गराएका छन् । फाटोसहितको मतदाता नामावली संकलन कार्य कात्तिक मसान्तसम्म सञ्चालन हुने उनले बताए ।

कार्यालयले यसअघि संघीय र प्रादेशिक निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली दर्ता एवं अद्यावधिक गरेको थियो । यसका लागि ४ गाउँपालिका र ३ नगरपालिकाका साथै बेंसीसहर नगरपालिकाका नागरिकका लागि जिल्ला निर्वाचन कार्यालयबाटै फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । उक्त निर्वाचनमा १ लाख १५ हजार ४ सय ४९ मतदाता थिए ।

त्यसअघि गाउँगाउँमा गएर घुम्ती शिविरमार्फत मतदाता नामावली संकलन गरिएको थियो । त्यसअघि स्थानीय तहको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली दर्ता एवं अद्यावधिक गरिएको थियो । स्थानीय तह निर्वाचनका लागि १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?