१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बस्ती जोगाउन, लेदो फाल्दै

पहिरोसँगै बगेको लेदोले डेढ सय घरधुरीलाई जोखिम
लेदो फाल्न दैनिक आलोपालो गरी गाउँका १६ जना खटिदैं
कान्तिपुर संवाददाता

गोरखा — पहिरोले बस्तीमा जोखिम बढाएपछि आरुघाट गाउँपालिका १ मान्बुको स्याम्चेतका बासिन्दा नियन्त्रणमा लागेका छन् । मर्जाङ सामुदायिक वनबाट पहिरोसँगै आउने लेदो गाउँमा पस्न नदिन दैनिक १६ जनाले फाल्ने गरेका छन् ।

बस्ती जोगाउन, लेदो फाल्दै

गत जेठ २८ यता गाउँले आलोपालो दैनिक खटिने गरेका हुन् । ‘गाउँका केटा मान्छे आलोपालो लेदो फाल्न सधैं जानैपर्ने नियम बसालेका छांै,’ स्थानीय कर्मा छिरिङ लामाले भने, ‘ठूलो पानी पर्‍यो भने गाउँमा भएजति सबै मिलेर जान्छौं ।’ आलोपालो गर्दा कोही पनि नछुट्ने भएकाले हाजिरी गर्ने नियम बनाइएको उनले बताए । ठूलो पानी पर्दा रातमा कुलो खनेर गाउँले लेदो कटाउँछन् । ‘बस्ती नजिकै पहिरोको लेदो बग्छ । कुलो बनाएर लेदो कटाएकाले बचेको छ,’ उनले भने, ‘कुलो फुट्यो भने बस्ती पुर्छ भनेर हामीलाई निन्द्रा लाग्दैन ।’ स्याम्चेत गाउँ माथिको डाँडाबाट पहिरोसँगै लेदो बग्दा करिब डेढ सय घरधुरीलाई जोखिम बढाएको उनले बताए । ‘लेदो कटाउने कुलोमा बेलाबेला ढुंगा आएर थुप्रिन्छ, अनि त्यसलाई पन्छाउन समय लाग्छ,’ उनले भने, ‘पहिरो नियन्त्रण समितिले घरघरै गएर बोलाउँछ, गाउँ बचाउनका लागि आउनै पर्‍यो ।’

गत वर्षको साउन २८ मा गाउँमाथिबाट पहिलोपल्ट पहिरो गएपछि त्यसयता पानी पर्दा पहिरोसँगै लेदो बग्ने गरेको हो । पहिरो र बस्तीको दूरी करिब ५० मिटर मात्रै छ । गत वर्ष पहिरोले जोखिम बढाएपछि जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट आएका इन्जिनियरसहितको टोलीले अध्ययन गरेका थिए ।

उनीहरूले तत्काल बस्तीमा जोखिम नरहेको प्रतिवेदन बुझाए पनि अहिलेको साल पहिरोको उस्तै त्रास उत्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए । ‘म पनि पहिरो गएको ठाउँमा पुगेको छु,’ उनले भने, ‘पानी परेपछि लतत बगिरहने रहेछ ।’ तत्काल पहिरो नियन्त्रणका लागि गाउँपालिका र विपत् व्यवस्थापन समितिले ५०/५० थान तारजाली र ३ लाख रुपैयाँको बजेट उपलब्ध गराएको छ । ‘यति तारजालीले केही नहुने अवस्था देख्यौं,’ उनले भने, ‘१० दिन जेसीभी लगाएर भल कटाउन सके केही सुरक्षित हुन्छ कि भन्ने हाम्रो निष्कर्ष हो ।’

प्राविधिक र भूगर्भविदसहितको टोली ल्याएर पहिरो रोकथामका लागि विस्तृत अध्ययन गर्नुपर्ने देखिएको उनले बताए । ‘सबै गाउँले डराएका छन्,’ उनले भने, ‘बगेको लेदोसहितको भल सधैं मान्छेले कति पन्छाएर सम्भव हुन्छ र ।’

प्रकाशित : श्रावण ११, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?