२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘झरीका रातमा पर्दैन निद्रा’

दिप्ती सिलवाल

पर्वत — गणेश माझीलाई राम्ररी निद्रा नपरेको एक महिना भयो । झरी सुरु भएपछि तीन वर्षअघि पहिरो खसेर गाउँ पुरेको घटनाले उनलाई झस्काइरहन्छ । कुश्मा १ मालढुंगाकै प्रमिला भण्डारी पनि सपनामा पहिरोले पुरेको देख्छिन् ।

‘झरीका रातमा पर्दैन निद्रा’

मनसुन सुरु भएपछि एकातिर उर्लिंदो कालीगण्डकी अर्कोतर्फ अग्लो पहाड खसेर पुरिने चिन्ताले यहाँका सयभन्दा बढी परिवार त्रासैत्रासमा रहन्छन् । ०७२ भदौमा गाउँमाथिको पाङको डिल खसेर घर पुरिएका ११ परिवारले अझै छाप्रा बनाएर बस्न सकेका छैनन् । उतिबेला अरू २८ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारले सामान्य मर्मतपछि घर फर्किए पनि पहिरोले पुरिएका परिवारले अझै घर बनाउन सकेका छैनन् ।

अघिल्लो सातादेखि कालीगण्डकीमा पानी एक्कासी बढेपछि यहाँका बासिन्दाले राति निदाउन नसकेको बताए । ‘पहिरो कतिबेला खस्ने ठेगानै हुन्न,’ स्थानीय रामचन्द्र माझीले भने, ‘अन्त जाऊँ उपाय छैन । नजाऊँ ज्यानकै ठेगान हुन्न । बर्खाका ४ महिना रातभर जाग्राम बसेरै बित्छ ।’ तीन वर्षअघि घर पुरिएका सोमबहादुर माझी, सोमबहादुर गुरुङ, भीमसेन माझी, दुर्गा भण्डारी, विश्वास तुलाचन, चन्द्रबहादुर माझी, किशोर माझी, रामबहादुर र हरिबहादुर माझीले अझै स्थायी बास बनाउनै सकेका छैनन् । ‘बाढी र पहिरोले सधैं सन्त्रास छ,,’ स्थानीय दीर्घलाल सुवेदीले भने, ‘अलिअलि भएको जमिन बगर बन्यो । अन्त कहाँ जानु ?’ पहिरोले उनको ४ रोपनी जग्गा पुरेर बगर बनाएको छ । यहाँका अधिकांश परिवार सुकुम्बासी छन् । तीन वर्षअघिको तथ्यांकअनुसार यहाँका १ सय २८ मध्ये १ सय ६ परिवार सुकुम्बासी छन् । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा विभिन्न जिल्लाबाट आएका मजदुर यहाँ बस्दैआएका हुन् । सडक निर्माणमा मजदुरी गर्दैआएका उनीहरू हाल पनि कालीगण्डकी किनारमा गिट्टी कुट्ने, बालुवा निकाल्ने र माछा मारेर जीविका चलाउँदै आएका छन् ।

पहिरोबाट पीडितका लागि तत्काल अन्यत्र सार्नुपर्ने निष्कर्ष तत्कालीन सुरक्षा समितिले निकालेको थियो । पीडित परिवार सुकुम्बासी भएकाले कसैले पहलकदमी लिएनन् । यहाँका बासिन्दाले नगरपालिका र प्रशासनसँग सुरक्षित बासको प्रबन्धका लागि अनुरोध गर्दैआएका छन् । उनीहरूको गुनासो सुनुवाइ भने भएको छैन । ०७१ असोजमा सुकुम्बासी समस्या समाधान आयोगले १२ आना जग्गा उपलब्ध गराउने भन्दै तथ्यांक मागेको थियो । उनीहरू अझै पनि त्यही आशामा छन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?