१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बोल्दा चिप्लिने डर लाग्छ : सञ्चारमन्त्री बाँस्कोटा

कान्तिपुर संवाददाता

लेखनाथ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमले नेताका भनाइलाई ‘ट्वीस्ट’ गर्ने र आधा मात्रै सुनाउने गरेको आरोप लगाएका छन् । 

बोल्दा चिप्लिने डर लाग्छ : सञ्चारमन्त्री बाँस्कोटा

पत्रकार महासंघ कास्कीले शनिबार यहाँ आयोजना गरेको भेटघाटमा उनले मिडियाले भनाइलाई जस्ताको तस्तै प्रस्तुत नगर्दा बोल्न डराउनुपर्ने अवस्था आएको बताए । ‘म पत्रकारिताबाटै आएकाले मलाई धेरैले प्रश्न गर्छन्,’ उनले भने, ‘बसेर बहस गर्न मन लागेको छ तर बोल्दा कतै चिप्लिहालिन्छ कि भन्ने डर लाग्छ ।’


उनले पछिल्लो समय पत्रकारको तलब बैंक खातामा हाल्नुपर्ने व्यवस्था गरेको र त्यसलाई सञ्चारमाध्यमले बाहिर नल्याएको गुनासो पोखे । ‘पत्रकार लेख्न डराउँछन् वा साँचो लेख्न सक्दैनन्, म छक्क पर्छु,’ उनले भने ।


मन्त्री बाँस्कोटाले पटकपटक आफू पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएको दोहोर्‍याउँदै धेरै होहल्ला नगरीकन पनि पत्रकारको अधिकार सुनिश्चित गर्न सकिने उल्लेख गरे । पत्रकार वृत्तिकोषको सन्दर्भ पहिले नै उठे पनि आफू आएपछि थप्दै जाने गरी एक करोड रुपैयाँ जम्मा गरेको उनले बताए । ‘समानुपातिक विज्ञापन नीति, विज्ञापन ऐन र आमसञ्चार ऐन छिट्टै आउँछ,’ उनले भने ।


डा.गोविन्द केसीको अनशनमा सम्पादकहरूको ऐक्यबद्धताप्रति उनले असहमति प्रकट गरे । ‘सम्पादकहरू गएर भेटघाट मात्रै होइन, विज्ञप्ति नै जारी गर्नुभयो,’ उनले भने, ‘यो कुन सम्पादकीय नैतिकताभित्र पर्छ ? मलाई सोधुँ सोधुँ लाग्छ ।’

प्रकाशित : श्रावण १२, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?