कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्लास्टिकबाट पिच

दीपक परियार

लेखनाथ — प्लास्टिकको प्रयोग गरि सडक कालोपत्रे गर्ने प्रविधि नेपाल भित्रिएको छ । ग्रिन वेस्ट म्यानेजमेन्टले पहिलोपल्ट पोखरामा उक्त प्रविधि भित्र्याएको हो । पोखरा–१४ अनुपम मार्गको सय मिटर सडकमा कम्पनीले नमुनाका रूपमा उक्त प्रविधिबाट कालोपत्रे गरेको छ ।

प्लास्टिकबाट पिच

ग्रिन वेस्टले बिहीबार पोखरामा कार्यक्रम आयोजना गरी उक्त प्रविधिबारे जानकारी दिएको छ । एक अध्ययनअनुसार महानगरमा दैनिक २० टन प्लास्टिकजन्य फोहोर ल्यान्डफिल साइटसम्म पुग्छन् । संकलन नहुने प्लास्टिकजन्य फोहोर करिब १० टन जति हुन्छ । उक्त प्लास्टिकजन्य फोहोर व्यवस्थापन गरी सडक बनाउने उद्देश्यले प्रविधि भित्र्याएको कम्पनीको दाबी छ ।

विमल बसेल, सञ्जीव बास्तोला र विमल बास्तोलाले पोखरामा कम्पनी स्थापना गरेका हुन् । प्राविधिक साझेदारमा युवा इन्जिनियरद्वय राजीव सुवेदी र रिकेश गुरुङ छन् । कम्पनीका अध्यक्ष विमल बसेलले फोहोरको व्यवस्थापन पनि हुने र अलकत्रा खरिद गर्ने पैसा पनि जोगिने भएकाले नेपालका लागि उपयुक्त रहेको बताए । उनले विदेश भ्रमण क्रममा आफूले देखेको र यहींका युवाले उक्त प्रविधि भित्र्याउन लालायित देखेकाले सहयोग गरेको उल्लेख गरे ।

इन्जिनियर राजीव सुवेदी प्लास्टिकको प्रयोग गर्दा ५ देखि १८ प्रतिशतसम्म अलकत्राको प्रयोग कम गर्न सकिने बताउँछन् । उनका अनुसार एक किलोमिटर बाटामा एक टनसम्म प्लास्टिक प्रयोग हुन्छ । एक टन अलकत्राको बचत हुँदा २ लाख रुपैयाँसम्म जोगिन्छ । ‘प्लास्टिकको प्रयोगले सडकको तौल खेप्न सक्ने शक्ति दोब्बर हुन्छ,’ उनले भने, ‘यसले बाटोको आयु पनि बढाउँछ ।’ प्लास्टिकले पानी तर्काउने भएकाले खाल्डाखुल्डी पर्ने समस्या पनि कम हुने उनको दाबी छ । उनीसहित अर्का इन्जिनियर विमल बास्तोलाले भुटान पुगेर प्रविधिको ज्ञान लिएका हुन् ।

बास्तोलाका अनुसार फोहोर प्लास्टिकलाई पखालेर टुक्रा पार्नुपर्छ । ६० भाग चिप्स, ४० भाग बालुवा र अलकत्रालाई १ सय ६५ डिग्री सेल्सियस तापक्रममा पकाउनुपर्छ । चिप्स, बालुवा र अलकत्राको लेदोमा प्लास्टिकलाई मिनी मिक्स्चरमा राखिन्छ । त्यसरी मिसाइएको चिज १ सय ६० डिग्री सेल्सियसमा पकाइएको बिटुमिना मिसाइन्छ । तयार भएको लेदो बाटामा कालोपत्रे गर्न प्रयोग हुन्छ । बाटोको तापक्रम भने १ सय १० देखि १ सय २० डिग्री सेल्सियससम्म हुनुपर्छ । पोलिथिन झोला, चाउचाउ, लेज, कुरकुरे, सुर्ती, प्लास्टिक गिलासलगायत प्लास्टिकजन्य पदार्थलाई प्रयोग गर्न सकिन्छ ।

भारतमा सन् २००२ मा यो प्रविधि पत्ता लागेको थियो । भारतमा ‘प्लास्टिक म्यान’ का रूकपमा चिनिने रसायनशास्त्रका प्राध्यापक राजागोपालन बासुदेवनले उक्त प्रविधि विकास गरेका हुन् । उनी दक्षिण भारतको थिएगराजर इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्छन् । उनले सन् २००२ मा आफ्नै क्याम्पस हातामा बनाइएको बाटामा प्लास्टिकको प्रयोग गरेका थिए । सन् २००६ बाट कलेजकै नाममा उक्त प्रविधिको ‘पेटेन्ट’ दर्ता छ । भारतमा मात्रै एक लाख किलोमिटर बाटामा यो प्रविधिको प्रयोग भएको छ । भुटान, बेलायत र अस्ट्ेरलियालगायत मुलुकले यो प्रविधिको प्रयोग गरिरहेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?