ताल संरक्षणमा स्थानीय

माटो र झारले ढाकेको ताललाई जोगाउन वरपरका स्थानीय सक्रिय
कमलपोखरीको स्वरूप परिवर्तन भएपछि अन्यको पनि संरक्षणमा चासो बढ्दै
दीपक परियार

लेखनाथ — पोखरामा कमलपोखरी ताल छ भन्ने कास्कीकै धेरैलाई थाहा छैन । मुख्य बजारको एक कुनामा शान्त बसेको ताल नामजस्तै कमल फूलले ढाकिएको छ । माटो र झारले ढाकेको ताललाई जोगाउन वरपरका स्थानीय जुटेका छन् ।

ताल संरक्षणमा स्थानीय

पोखरा–१३ मा रहेको ताल रामसार सूचीमा सूचीकृत भइसकेको छ । बाँझापाटन नजिकै काहुँडाँडाको दक्षिण बेंसी र आर्बाको पश्चिमतर्फ ताल छ । ३२ रोपनीमा फैलिएको ताल ८ मिटर गहिरो छ । असारदेखि भदौसम्म सेताम्मे कमलको फूलले ढपक्क ढाकिने गर्छ । स्थानीयले संरक्षण समिति बनाएर ताल जोगाउन लागेका छन् । समितिमा दलित समुदाय छन् ।

३५ वर्षअघि ‘बुडुवा ताल’ बाट चिनिने कमलपोखरीमा लापरबाही तरिकाले माछा मार्ने काम हुन्थ्यो । स्थानीय केशबहादुर विकका अनुसार माछा मार्न विष र करेन्टको प्रयोग हुने गथ्र्यो । कमल औषधीय गुण हुने भएकाले टाढा–टाढाबाट मानिसहरू आएर कमलको जरा जथाभावी उखेलेर लैजाने गर्थे । त्यसले कमलको बोट नै लोप हुने अवस्थामा पुग्यो ।

०४८ सालमा संरक्षणका लागि आमा समूह बनेपछि उक्त कार्य रोकियो । ‘यो ठाउँलाई धार्मिक तीर्थस्थल र पर्यटकीय स्थल बनाउन सकिन्छ भनेर ताल जोगाउन लाग्यौं,’ उनले भने । उनकै सक्रियतामा तालको बीचमा नागको मूर्ति राख्ने काम भयो । ताल छेउको ढिस्को ताछेर खाली ठाउँ बनाइयो । त्यही ठाउँमा स्थानीयले विश्वकर्मा बाबाको मन्दिर बनाए । दुर्गा, राधाकृष्ण र गणेशको पनि मन्दिर बन्यो । स्थानीयले तालको बीचमा ठूलो नागको मूर्ति बनाए ।

माछा मार्ने, कमल टिप्ने क्रम रोकिए पनि बाँसखोलाले माटो र गेग्रान तालमा ल्याउने काम रोकिएन । ताल पुरिदैँ जान थालेपछि ०६४ मा कमलपोखरी ताल संरक्षण समिति गठन भयो । समितिले तालको सीमांकन गर्‍यो । कमलपोखरीसम्म पुग्ने पैदल बाटो बन्यो । बाटो बनाउन स्थानीय धनपति तिमिल्सिना, कृष्ण गौतम र शेरबहादुर कार्कीले जग्गा दान गरे ।

ताल पुरिएर आधा भागमा करौंते झार पलाएको थियो । करौंते झारले तालको आकारलाई नै खुम्चाएको थियो । बाँसखोलाले बर्खामा ढुंगा, गिटी, माटो बगाएर तालमा थुपार्ने क्रम नरोकिएपछि समितिले तटबन्ध बनायो ।

माटो बगेर आउने तालको उत्तरतर्फ मेसिनरी वाल लगायो । वरिपरि तारजालीले घेर्‍यो । ताल पुरिने क्रम रोकियो । समितिले एक्जाभेटरको माध्यमबाट पुरिएको भाग हटाउन थाले पनि सफल भएन । हाल समितिले माटो निकाल्न कामदार खटाएको छ । समितिका अध्यक्ष चित्रबहादुर विकले आन्तरिक कोषबाट कामदार खर्च बेहोरेर माटोसहितको झार निकाल्ने काम भइरहेको बताए । ‘अहिले पुरिएको भागको आधाजति भाग मान्छे नै लगाएर सफा गर्दैछौं,’ उनले भने, ‘यति मात्रै माटो निकालियो भने पनि ताल फराकिलो देखिने छ ।’

ताल वरिपरि फलामे फुट ट्रयाक र विश्रामस्थल बनाउने समितिको योजना छ । ‘पोखरामा अन्यत्र कमल विरलै मात्र देखिन्छ,’ अध्यक्ष विकले भने, ‘असारदेखि भदौसम्म फूल हेर्न मात्रै पनि पर्यटक आउने वातावरण बनाउन सकिन्छ ।’ पोखराका प्रत्येक निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई ताल र कमलको अवलोकन गराउन सकेमा ताल वरपरका व्यवसाय पनि फस्टाउने उनले बताए ।

हाल बर्सेनि नागपञ्चमीका दिन कमलपोखरीमा भक्तजनको भीड लाग्छ । कमलपोखरीको स्वरूप परिवर्तन भएपछि अन्य स्थानीयले पनि संरक्षणमा चासो देखाउन थालेका छन् ।


माटो निकाल्दै कामदार ।तस्बिर : दीपक

प्रकाशित : श्रावण १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?