कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिँचाइ अवरोधले खेतमा धाँजा

कान्तिपुर संवाददाता

गोरखा — बाढीले कुलो बगाएपछि सहिद लखन गाउँपालिका ६ घैरुङको लँुदी फाँटका खेतमा धाँजा फाट्न थालेको छ । खेतमा पानी लगाउन नसक्दा रोपो मर्दै जान थालेको किसानले बताएका छन् ।

सिँचाइ अवरोधले खेतमा धाँजा

‘खोलाले बगाएको त कुरै छाडौं, बचेका खेतमा पनि पानी लगाउन सकेनौं,’ लुँदीखोलाका किसान मानबहादुर थापाले भने, ‘कुलो सबै बाढीले पुर्‍यो, खोला गहिरो, खेत माथि भएपछि कहाँबाट पानी लगाउनु ?’ पानी अभाव भएपछि मर्दै गएको रोपो किसानले उखेल्न थालेका छन् । रोपिसकेपछि २४ सै घण्टा पानी चाहिने भए पनि अघिल्लो बुधबारयता खेतमा पानी लगाउनै नपाएको उनले बताए । ‘आकाशबाट आए रोपोले पानी पाउने भयो,’ उनले भने, ‘नत्र खोलाको पानी लगाउने सम्भावना टर्‍यो ।’ बचेका खेतमा पनि सुख्खा हुँदा आम्दानी लिन नसकिने भएकोमा किसान चिन्तित छन् ।

बाढीले कुलो र बाँध भत्काउँदा गाउँपालिकाको दुई सय रोपनी खेत सुख्खा हुने अवस्था भएको गाउँपालिकाका कृषि प्राविधिक विजय पौडेलले बताए । ‘बाढीले क्षति पुर्‍याएको खेतको स्थलगत अनुगमन गरिसक्यौं,’ उनले भने, ‘सुख्खा हुने करिब दुई सय रोपनी कि पुन: बाँध बाँधेर सिँचाइ गर्नुपर्ने अवस्थाको छ, नत्र पाइपबाट खेतमा पानी लानुपर्छ, अन्य विकल्प देखेनौं ।’ सहिद लखन गापाका १, ४, ५, ६ र ७ नम्बर वडामा धान खेत बाढीले बगर बनाएको उनले बताए । जुग्दी खोलामा आएको बाढीले ताक्लुङको राइनस फाँटका केही किसानको खेतमा पनि क्षति पुर्‍याएको छ ।

वर्षभरि खाने धान फल्ने खेत खोलाले बगर बनाएपछि किसानले अभर कसरी टार्ने भन्ने छलफल गर्न थालेका छन् । ‘४२ वर्ष भयो, बाढी आएर यसरी खेत पुरेको देखेको थिइनँ,’ मास्कीछापका किसान थमनसिंह थापाले भने, ‘बगाएको खेतमा यो वर्ष फेरि रोपेर आम्दानी गरौंला भन्ने आशा नै छैन ।’ बाढीले २ सय ९५ किसानको खेत बगाउँदा ६९ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्यांक गाउँपालिकाले निकालेको छ । ‘दुई सय रोपनी जति बगर बनेको छ, दुई सय रोपनी पुरेको छ भने अरू बाँकी कटान गरेको छ,’ कृषि प्राविधिक पौडेलले भने, ‘अब बीउ लगाएर फेरि रोपाइँ गर्दा उत्पादन राम्रो हुँदैन । बचेका बीउ पनि छिप्पिइसके । फेरि बीउ लगाउँदा तयार हुनै एक महिना लाग्छ ।’

साउन २ कै बाढीले गोरखा नगरपालिका ११ सिर्दी फाँटका खेतमा क्षति पुगेको छ । गोरखा नगरपालिकाका कृषि प्राविधिक नवीन अधिकारीले उक्त फाँटको केही खेत नदीले बगर बनाएको छ । ‘तत्कालै जेसीभी पठाएर नदीको धार कटाउने काम गरेका छौं,’ उनले भने, ‘रोपाइँ भइसकेको खेत कतै पुरेको छ कतै बगाएको छ ।’

प्रकाशित : श्रावण १३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?