कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले तटबन्ध भत्कायो

कान्तिपुर संवाददाता

चामे (मनाङ) — मर्स्याङ्दी नदीको भेलले चामेको तातोपानी कुण्ड जोखिममा परेको छ । भेलले कुण्डको छेकबारका संरचना भत्काएको छ । बाढी बढेर कुण्डमै पस्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।

बाढीले तटबन्ध भत्कायो

गत आर्थिक वर्षमा तातोपानी संरक्षणमा चामे गाउँपालिकाको करिब २४ लाख र स्थानीयको २ लाख रुपैयाँ बराबरको श्रमदान खर्च गरिएको थियो । तातोपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष मेलिना गुरुङका अनुसार तातोपानी संरक्षण गरिएपछि दैनिक सयजना हाराहारी आन्तरिक तथा बाह्य पर्यटक तातोपानी कुण्डमा पुग्न थालेका थिए । ‘मस्र्याङ्दी एक्कासि बढ्यो । यसरी उर्लिएर आउँछ भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘अझै भेल बढ्यो भने तातोपानीलाई समस्या पर्छ ।’

कुण्ड संरक्षणका लागि बनाइएका चारवटा ग्याबिन तटबन्धको पर्खाल मस्र्याङ्दीले भत्काएको छ । अन्य ग्याबिन पनि जोखिममा छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले मस्र्याङ्दी उर्लिरहे तातोपानी आडैको ग्याबिन पनि भत्काउने खतरा बढेको बताए । उनका अनुसार तातोपानी कुण्डबाट २ देखि ३ मिटरको दूरीमा मस्र्याङ्दीको भेल बगेको छ ।

भेलको छाल तातोपानीको कुण्ड नजिकै आउने गरेको छ । ‘पहिले तातोपानी निर्माण गर्दा यसरी भेल आउँछ भनेर कल्पना गरिएको थिएन । अहिले एक्कासि उर्लिएपछि तातोपानी जोखिममा पार्‍यो,’ उनले भने । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले मस्र्याङ्दीमा पानी बढ्दै गए जोखिम बढ्ने बताए । उनका अनुसार साँझपख मस्र्याङ्दीमा बाढी आउने गरेको छ । ‘बाढी आएका बेला यसलाई केही गर्न सकिँदैन,’ उनले भने, ‘हिउँदका बेला खोलालाई केही हदसम्म फर्काउने र ठूला ढुंगालाई तातोपानी नजिकै ल्याएर यसको संरक्षणमा लाग्नेछौं ।’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मस्र्याङ्दीको बहाव बढ्नाले तातोपानी मात्रै नभएर केही स्थानीयका घरसमेत जोखिममा पारेको बताए । ‘हामी दैनिक यसको निरीक्षण गरिरहेका छौं । बाढी अस्वाभाविक रूपमा बढेकाले समस्या आएको हो, ’ उनले भने ।

मस्र्याङ्दी नदीको किनार चामेको तातोपानी कुण्ड यस भेगकै सबैभन्दा उचाइमा रहेको छ । मस्र्याङ्दी किनार लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा, ४ को जगत, घट्टेखोला, मनाङको नासो गाउँपालिका ८, ताचैलगायत मस्र्याङ्दी नदीको किनारमा तातोपानीका मूल छन् ।

यीमध्ये समुद्री सतहदेखि २ हजार ६ सय ५० मिटर उचाइको चामेमा सबैभन्दा माथिल्लो क्षेत्रमा हालसम्म तातोपानी पहिचान गरिएको छ । हिउँदमा तापक्रम माइनसमा झर्ने र गर्मीयाममा पनि जाडो र चिसो हुने चामेमा तातोपानीको निकै महत्त्व रहेको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष घलेका अनुसार यसअघि बेवारिसे जस्तै रहेको तातोपानी कुण्डलाई संरक्षण गर्न स्थानीय तहले प्रयास गरेको छ ।

मस्र्याङ्दीको भेल पसेको बगरलाई पन्छाएर सिमेन्ट ढलान गरी नयाँ संरचना निर्माण गरिएको उनले बताए । तातोपानीमा नुहाउन आउनेका लागि लुगा फेर्ने कोठा निर्माण गरिएको छ । पोखरी जाने बाटोमा सिँढी निर्माण गरिएका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?