कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लस्तीखोला नियन्त्रण गर्न बजेट माग

लस्तीखोलाले पुरानो धार बदलेर बस्तीमै पसेकाले तत्काल संरक्षण नगरे थप क्षति हुने
दिप्ती सिलवाल

पर्वत — जलजला गाउँपालिका ७ र ८ हुँदै बग्ने लस्तीखोलाको कटान नियन्त्रण गर्न प्राविधिक टोलीले बजेट माग गरेको छ । साउन १ मा आएको बाढीले बस्ती नै विस्थापित गरेपछि टोलीले खोला नियन्त्रण तत्कालै गर्नुपर्ने भन्दै ४ करोड रुपैयाँको बजेट माग गरेको हो ।

लस्तीखोला नियन्त्रण गर्न बजेट माग

लस्तीखोलामा आएको बाढी र सँगैको पहिरोले स्थानीय बजार र आसपासको बस्ती कटान गरेपछि जिल्ला विपत् व्यवस्थापन समितिले प्राविधिक टोली खटाएको थियो । विषयगत कार्यालयको प्राविधिक टोलीको निष्कर्षअनुसार लस्तीखोला नियन्त्रणका लागि ३ करोड ५० लाख रुपैयाँ माग गरेको छ ।

त्यस्तै बाढीपहिरोले क्षति पुर्‍याएको खानेपानी मर्मतका लागि ८ लाख र सिँचाइ मर्मतका लागि ३१ लाखको स्टिमेट तयार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लस्तीखोलाले पुरानो धार बदलेर बस्तीमै पसेकाले तत्काल संरक्षण नगरे थप क्षति हुनसक्ने भन्दै आवश्यक रकम निकासा
गरी तत्काल काम सुरु गर्न प्राविधिकले सुझाएका छन् ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका अनुसार लस्तीखोलाले पुरानो धार परिवर्तन गरेर बस्तीमा पसेपछि साबिकभन्दा १५ मिटर बढी कटान गरेको छ । बजारक्षेत्रको ५ सय ५० मिटर क्षेत्र कटान गरेको प्राविधिक टोलीको निष्कर्ष छ । त्यसबाहेक मालढुंगा–बेनी सडकको लस्तीखोला पुलदेखि कालीगण्डकी नदीकिनारसम्म ५१ मिटर संरक्षण गर्नुपर्ने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङका इन्जिनियर अनीलकुमार मिश्रले बताए ।

‘त्यहाँको स्थिति हेर्दा धेरै भयावह छ,’ स्थलगत निरीक्षणपछि इन्जिनियर मिश्रले भने, ‘अलि ठूलो वर्षा भयो भने ठूलो क्षति हुन सक्छ । लस्तीखोलाले पुरानो धार धेरै बदलेको छ । तत्कालै काम सुरु गर्नुपर्छ ।’ खोलाले कटान गर्दा एकै रातमा ११ परिवार विस्थापित भएका छन् । बाढीपछि विपत् व्यवस्थापन समितिले एक साताभित्र प्राविधिक प्रतिवेदन तयार गर्न जलजला गाउँपालिका, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भू–संरक्षण, खानेपानी र सिँचाइ लगायतका कार्यालयलाई निर्देशन दिएको थियो ।

बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखिम नियन्त्रणका लागि तत्कालै तटबन्ध बनाउनुपर्ने विपत् व्यवस्थापन समितिको निष्कर्ष छ । ‘स्थानीय सरकारसँग त्यत्रो स्रोत हुने कुरा भएन,’ समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘प्रदेश र संघीय सरकारका सम्बन्धित मन्त्रालयमा आग्रह गरेका छौं । सबै ठाउँमा स्टिमेट पठाइसकिएको छ ।’ जलजलाका अध्यक्ष यामबहादुर मल्ल र उपाध्यक्ष सीमा गर्बुजा विपत् व्यवस्थापनका लागि बजेट जुटाउन काठमाडौंमा छन् । ‘त्यसैका लागि हामी केही दिनदेखि काठमाडौंमा छौं,’ अध्यक्ष मल्लले फोनमा भने ।

खोलाका कारण लस्तीबजारका १ सय २० घरहरू जोखिममा छन् । जोखिम मानिएको क्षेत्रका बासिन्दा रातको समयमा अन्यत्र बस्दै आएका छन् । गाउँपालिकाले बरेनेटाका २४ परिवारलाई अन्यत्रै सारेर एकीकृत बस्ती निर्माण गर्ने विषयमा छलफल चलाएको छ ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?