कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नारायणी तटबन्ध रोकथाममा सीमित

कान्तिपुर संवाददाता

नवलपरासी — नारायणी नदी व्यवस्थापनका लागि जनताको तटबन्धन कार्यक्रम सुरु भएको नौ वर्ष बित्यो । बर्सेनि तटबन्धनका लागि आउने बजेट पर्याप्त नहुँदा रोकथामको सामान्य प्रयास मात्र हुने गरेको छ । २०७४ बाट नारायणी नदी व्यवस्थापन आयोजनाको रूपमा तटबन्धनको काम भइरहेको छ ।

नारायणी तटबन्ध रोकथाममा सीमित

नदीले गर्ने कटान रोकथामका लागि एकीकृत व्यवस्थापन भने हुन नसकेको किनारका बस्तीका बासिन्दा बताउँछन् । बर्सेनि जहाँ कटान हुन्छ त्यतिलाई मात्रै ध्यान दिएर मर्मतको काम हुने गरेको छ ।

नदीले विस्तारै नवलपुरतर्फ धार परिवर्तन गर्दै गएकाले यसलाई रोक्नुपर्ने उनीहरूको भनाइ छ । नारायणी नदी व्यवस्थापन आयोजनाले पछिल्लोपटक पिठौली, अमलटारी, बोटेटोल र नन्दपुरमा स्पर निर्माण कार्य गरेको छ । यस्तै अमलटारीमा चितवनतर्फ नदीको धार परिवर्तनका लागि काम गरिएको आयोजनाका सूचना अधिकृत गौतम भण्डारीले बताए ।

नवलपरासीको अमलटारीदेखि ब्रह्मस्थान, रतनपुर र नन्दपुर क्षेत्र सबैभन्दा बढी जोखिमको क्षेत्रका रूपमा पहिचान गरिएका छन् । वार्षिक छुट्टयाइने १०/१२ करोड रुपैयाँ यही क्षेत्रमा काम गर्न पनि नपुग्ने उनको दाबी छ । ‘नवलपरासीतर्फ ६६ किलोमिटरमा काम गर्नुपर्ने भएकाले प्रमुख समस्या बजेट अभाव भएको छ,’ उनले भने, ‘स्पर बनाउँदै वर्षको १०/१२ करोड ठिक्क हुन्छ । अरू काम गर्न पुग्ने बजेट नै हुँदैन ।’ हरेक वर्ष विनियोजन गरिने त्यति बजेट नारायणी नदीको कटान रोक्न ज्यादै न्यून हुने गरेको उनको भनाइ छ ।

आयोजनाले नवलपुरतर्फ गैंडाकोटदेखि त्रिवेणीसम्म काम गर्नुपर्ने हुन्छ । नदी व्यवस्थापनको काम गर्न निकुञ्जको कारणले पनि समस्या हुने गरेको छ । मंसिरसम्म खोला बढेर काम गर्न नसकिने र पुस–माघमा निकुञ्जले काम गर्न नदिने गरेको छ । नारायणी नदी किनारमा दुई महिना गोहीले अण्डा पार्ने समय भनेर निकुञ्जले काम गर्न रोक्ने गरेको हो ।

नदीले बर्सेनी खेतीयोग्य जमिन बगरमा परिणत गर्दै आएको छ । बस्तीहरू जोगाउनेगरी यसको एकीकृत व्यवस्थापनका लागि भने खासै ठूलो पहल नभएको स्थानीयको गुनासो छ । नदीले धेरै स्थानीय प्रभावित भएको गुनासो आइरहँदा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समेत केही दिनअघि नदी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । राष्ट्रिय बजेटबाहेक स्थानीय प्रयासले नियन्त्रण सम्भव नभएको उनले स्थानीयलाई बताएका थिए ।

नदीका कारण विस्थापित भएकाको समस्या अझै समाधान हुन सकेको छैन । नदी आसपासका स्थानीय बर्खायाममा बाढी गाउँमा पसेर बगाउने हो कि भनी त्रासमा रहन्छन् । स्थानीय विष्णु अधिकारीले भने, ‘हरेक वर्ष १०/१५ घर बगाएको छ, नदी नियन्त्रणका लागि गरिएको तबन्धन क्षेत्र ज्यादै थोरै छ ।’

प्रकाशित : श्रावण १४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?