कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फुटपाथ व्यापारले हैरानी

विना थापा

कास्की — पोखरामा फुटपाथ ढाकेर गर्ने व्यापार चलिरहेको छ । उपमहानगरपालिकाले ठेला, डोको र क्रेटमुक्त नगर घोषणा गरेको ६ वर्ष विते पनि यो क्रम अझै रोकिएको छैन । नगरले घोषणालगत्तै फुटपाथमा व्यापार गर्ने १ हजार ४६ जनालाई छुट्टै स्थान दिएर व्यवस्थित गरेको थियो ।

फुटपाथ व्यापारले हैरानी

केही समय फुटपाथमा हुने व्यापार रोकिएको थियो । पछि विस्तारै फुटपाथ ढाकेर व्यापार चल्न थाल्यो । महानगर पोखराको बजार क्षेत्रमा सानो पुँजी भएकाले झट्ट गर्ने कुनै व्यवसाय रोजे भने सडकमा डोको, क्रेट वा ठेला लिएर बसेका भेटिन्छन् । गाडी लिएर जब महानगरपालिकाका नगररक्षकको हूल आइपुग्छ, फुटपाथे व्यवसायीको भागाभाग सुरु हुन्छ । जसको सामान नगररक्षकले भेट्छन्, त्यो नियन्त्रणमा लिन्छन् ।

नगररक्षकको टोलीले लछारपछार पारेर सामान आफ्ना ट्रकमा हाल्छन् । २ हजारभन्दा बढी दामका सामान नगररक्षकले लगे भने फुटपाथे व्यवसायी पछि–पछि लागेर नगरपालिका पुग्छन् । जरिवानाको रकम बुझाएर सडकमा नबस्ने प्रतिबद्धता जनाउँदै आफ्ना सामान फिर्ता लैजान्छन् । थोरै दामका सामान भए सोधीखोजीका लागि नगरपालिका जाँदैनन् । अर्को डोको वा क्रेट खोज्छन् । फेरि व्यापारमै फर्कन्छन् । नगरपालिका र फुटपाथे व्यापारीबीच यो लुकामारी सधंैजसो चल्छ ।

महानगरपालिकाको गाडी कार्यालय समयमा बढी हिँड्ने भएकाले धेरैले समय छल्दै व्यापार साँझ–बिहान गर्छन् । ‘खोसेर लगिदिन्छन्, सामानको नाश हुन्छ,’ फुटपाथमा व्यापार गर्ने ललिता थापा भन्छिन्, ‘नगरपालिकाको गाडी परैबाट देखेपछि हल्ला सुरु हुन्छ ।


हामी ज।ता भेटिन्छ उतैका पसलमा पसेर लुक्छौं । गाडी गएपछि बस्छौं ।’ सानो पुँजीले सटर भाडामा लिएर पसल गर्न सम्भव नहुने भएकाले डोकोमा सामान राख्नु बाध्यता भएको उनको भनाइ छ । पोखरामा यतिबेला बाँसका टुसाको व्यापार हुने सिजन हो ।

चिप्लेढुंगा र महेन्द्रपुल आसपासका क्षेत्रमा फुटपाथमा टुसाका मुठा राखेर बेच्नेहरू बग्रेल्ती हुन्छन् । किनमेलका लागि महेन्द्रपुल आएका विमल पौडेल भन्छन् ‘बटुवालाई हिँड्नै अप्ठ्यारो पारेर गरिने व्यापारलाई निरुत्साहित गरेकै राम्रो ।’ तैपनि बारम्बार सामानको खोसाखेस देख्नुपर्दा भने उनीहरूका लागि नगरपालिकाले बेग्लै ठाउँ दिनुपर्ने सुझाव उनको छ । ‘सफा र सभ्य सहर हुनका लागि सरकारले मात्रै काम गरेर हुने होइन,’ उनले भने, ‘विकल्प दिने, विकल्प दिँदा पनि फुटपाथ ढाक्नेहरू घटदैनन् भने कडा जरिवाना र कारबाही गर्नु ठीक हुन्छ ।’

पोखरा उद्योग वाणिज्य महासंघ पनि नगरपालिकाको पक्षमा छ । फुटपाथमा व्यापार निषेध गर्नुपर्छ भन्नेमा व्यापारीका नेताहरू पनि एकमत छन् । महानगरका अल्पकालीन व्यवसाय रोज्नेहरू नै फुटपाथमा सामान लिएर बस्छन् । यसरी बस्नेहरू आफ्नो पुँजी बढाउँदै जाँदा सटर लिएरै कुनै खास स्थानमा सर्छन् ।

महानगरपालिकाले फुटपाथमा बाधा पर्ने गरी कुनै पनि समय डोको, क्रेट र ठेला राखेर व्यापार गर्न नपाइने जनाएको छ । ‘जनशक्ति अभावले हामीले अनुगमन बिहान–बेलुकी गर्न अलि गाह्रो भएको हो,’ महानगरपालिकाको विपत् व्यवस्थापन तथा सुरक्षा महाशाखा प्रमुख वसन्त चालिसेले भने, ‘फुटपाथमा बाधा पर्ने केही पनि कुनै पनि बेला गर्न पाइँदैन । गर्नेलाई कारबाही हुन्छ ।’ बारम्बार सामान जफत र जरिबानाको कारबाही हुने क्रम जारी रहेको उनले बताए ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?