बालुवाडाँडामा भ्यु टावर

कान्तिपुर संवाददाता

नवलपरासी — कावासोती नगरपालिकाको बालुवाडाँडामा भ्यु टावर निर्माण सुरु भएको छ । ६० फिट उचाइको ६ तले भ्युटावरको लागत करिब २ करोड हुने भनिए पनि पहिलो चरणमा २० लाखबाटै काम सुरु भएको हो ।

प्राकृतिक रूपमा मनोरम मानिएको कावासोती १ मा रहेको डाँडामा टावरको फाउन्डेसनसँगै निर्माणकार्य लेकबेंसी कन्स्ट्रक्सन प्रालिले थालेको हो । डाँडाबाट नवलपुरका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

टावरसँगै पार्क, रेस्टुरेन्ट, शौचालय, सवारी पार्किङसमेत निर्माण गरिने कावासोती नगरपालिकाका इन्जिनियर पवन रूपाखेतीले बताए । पिस रिसर्च एन्ड डेभलपमेन्ट नामक संस्थाले तयार परेको विस्तृत परियोजना प्रतिवेदनअनुसार भ्युटावर निर्माणमा १ करोड ८४ लाख ७६ हजार रुपैयाँ लग्ने अनुमान छ ।

‘पर्यटन प्रवद्र्धनका योजना अघि बढाउँदा धेरैका लागि रोजगारीको अवसर पनि सिर्जना हुन्छ,’ नगरप्रमुख चन्द्रकुमारी पुनले बताइन् । साबिकका ५ गाविस गाभेर बनेको कावासोती नगरपालिकाभित्र यो पहिलो भ्यु टावर हुनेछ ।

भ्यु टावरको निर्माण सुरु भएसँगै स्थानीय पनि हौसिएका छन् । बालुवाडाँडा हँुदै कावासोती–पोखरा निर्माणाधीन सडकमा अन्तिम चरणको काम भइरहेको छ । टावर बन्ने थाहा पाएपछि हेर्न आउनेको भीड लाग्ने गरेको स्थानीय तपबहादुर गाहा बताउँछन् । बालुवाडाँडामा भ्यु टावरसँगै पोखरी तालको समेत डीपीआर तयार पारिएको नगरपालिकाले जनाएको छ । पोखरी ताल व्यवस्थित र मनोरम पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना पनि अघि बढाइने नगरप्रमुख पुनको भनाइ छ । उनका अनुसार पोखरी ताल क्षेत्रमा रेस्टुरेन्ट, भ्यु टावर, पिकनिक स्थल, चिडियाखाना, बगैंचा र बालउद्यानसहित बीचमा मन्दिर निर्माण गरिनेछ ।

भ्युटावर निर्माण सुरु भएको ठाउँभन्दा केही पर मानवनिर्मित ताल छ । त्यसैलाई पोखरी ताल भन्ने गरिएको हो । पोखरी ताल र भ्यु टावर एउटै स्थानमा हुने भएकाले यहाँ पर्यटक वृद्धि हुने भन्दै होटल र रेस्टुरेन्ट सञ्चालनका लागि जमिन किन्नेहरू पनि बढेका छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १५, २०७५ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१० हजारलाई नागरिकता

कान्तिपुर संवाददाता

लमजुङ — एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १० हजार ७२ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् ।कार्यालयले आव ०७४/७५ मा ६ हजार ४ सय ८९ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । नयाँ नागरिकता लिनेमा २ हजार ४ सय ११ पुरुष र २ हजार ९ सय ६० महिला छन् ।

उक्त अवधिमा ३ हजार ५ सय ८३ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार ५ हजार ३ सय ६८ जनाले प्रशासन कार्यालयमै आएर नागरिकता लिएका हुन् भने १ हजार १ सय १८ जनालाई घुम्ती शिविरमार्फत दिइएको हो । ३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने ४ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा १ हजार २ सय ४ जनाभन्दा बढीले नागरिकता लिएको प्रशासनले जनाएको छ । आव ०७३/७४ मा ८ हजार ८ सय ६८ जनाले नागरिकता लिएका थिए । ५ हजार ५ सय २ जनाले नयाँ नागरिकता र ३ हजार ३ सय ६४ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासनले जनाएको छ । हालसम्म लमजुङका ५३ जनाले नागरिकता त्यागेका छन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT