प्रदेश मामिला समितिमा कार्यविधि
पोखरा — गण्डकी प्रदेशसभाले गठन गरेको प्रदेश मामिला समितिले आफ्नो कार्यविधि बनाएको छ । ४ संसदीय समितिमध्ये कार्यविधि बनाउने यो पहिलो हो ।समितिको सोमबारको बैठकले कार्यविधिलाई अन्तिम रूप दिएको सभापति कृष्ण थापाले बताए ।

प्रदेश मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरूको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापनलगायत क्रियाकलापहरूको मूल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने, टिप्पणी, सिफारिस र निर्देशनसहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेस गर्ने समितिको मुख्य काम रहनेछ ।
यसैगरी प्रादेशिक निकायको राजस्व र व्ययसम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति मितव्ययी गर्न सकिन्छ भन्ने विषयमा आवश्यक निर्देशन पनि दिन सक्नेछ । मानवअधिकार, सामाजिक सुरक्षा, श्रम र महिला, युवा, ज्येष्ठ नागरिक, बालिबालिका र अल्पसंख्यकको कल्याणसम्बन्धी प्रदेश सरकारबाट भए गरेका कामको अनुगमन, निरीक्षण गरी आवश्यक प्रतिवेदन बनाई सरकारलाई कार्यान्वयन गर्न लगाउनेछ ।
गण्डकी प्रदेशसभामा विधायन, सार्वजनिक लेखा, प्रदेश मामिला र अर्थ तथा विकास समिति गठन भएका छन् । सबैमा ११/११ सदस्य छन् ।
प्रकाशित : श्रावण १५, २०७५ ०९:२४