कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको च्याम्चेमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार दिउँसो ३ बजे खसेको पहिरोका कारण सवारी आवागमन ठप्प भएको स्थानीयले बताएका छन् ।

बेंसीसहर–चामे सडक अवरुद्ध

अबिरल वर्षाका कारण मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरो खसेपछि सडक बगाएको स्थानीयको भनाइ छ । स्थानीय होटल व्यवसायी खरसिंह तामाङका अनुसार बाटो अवरुद्ध भएपछि सवारी साधन चलेका छैनन् ।


बाटोमा हिँडेका यात्रु समेत वारपार गर्न समस्या परेको छ । मनाङको नासों गाउँपालिका–१ तालका बुधराज गुरुङले पहिरो गएपछि सोमबार दिउँसो ३ बजेदेखि नै च्याम्चेमा बस्नुपरेको बताए । उनका अनुसार पहिरोसंगै ठूलाठूला ढुंगा खसेका छन् । सवारी साधन बाटोमै अलपत्र परेको उनले बताए ।


लमजुङको बेंसीसहरदेखि मनाङतर्फ करिब ३० किलोमिटरको दुरीमा पर्ने च्याम्चेमा खसेको पहिरोले चक्रीय अन्नपूर्ण पदमार्गमा हिँड्ने पर्यटक तथा यात्रुलाई समस्या बनाएको स्थानीयले बताएका छन् ।


वर्षाका कारण बेंसीसहर–चामे सडकको लमजुङ खण्डमा प्राय: गइरहने पहिरोले सवारी आवागमन नियमित हुन नसकेको चालकहरुले बताएका छन् । डीएसपी यादव ढकालले बाटो खुलाउनको लागि डोजरले प्रयास थालिसकेको बताए । ‘प्रहरीलाई खटाएका छौं । स्थानीय पनि हुनुहुन्छ । डोजरको माध्ययमबाट बाटो खुलाउने प्रयास गरेका छौं’ उनले भने ।

प्रकाशित : श्रावण १५, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?