कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दृष्टिविहीनको प्रभावकारी शिक्षण

प्रकाश बराल

बागलुङ — दिदीबहिनी नै दृष्टिविहीन । उनीहरूको डेराको बसाइँ र प्राध्यापनको काम । सुशीला भनिने भीमकुमारी बस्नेत र उनकी दिदी उमाले यो पेसालाई निरन्तरता दिइरहेका छन् । बागलुङ नगरपालिका १४ को आधारभूत विद्यालयमा भीमकुमारीले १० र नारायणस्थानको जनताधन माविमा उमाले पढाउन थालेको ११ वर्ष पुगेको छ ।

दृष्टिविहीनको प्रभावकारी शिक्षण

स्कुल आउजाउको सजिलोका लागि गाउँमै डेरा लिएर बसेका छन् । खाना आफैं पकाएर खाने, समयमा विद्यालय पुग्ने र विद्यार्थीलाई बुझाएर पढाउने काम दुवैले सजिलैसँग गर्दै आएको देख्नेहरूलाई भने अचम्म लाग्छ ।

व्यवहारमा दुवैलाई सहपाठी र विद्यालयले असल मानेको छ । उनीहरू दृष्टिशक्ति भएकाको तुलनामा धेरै अनुशासित भएको चर्चा भइरहन्छ । समयमा विद्यालय पुग्ने र ठीक समयमा कक्षाकोठा छिर्ने उनीहरूको बानी छ । विद्यार्थीलाई बुझाएर पढाउने चुनौती दुवैले राम्रैगरी पूरा गर्दै आएका छन् ।

‘अरू शिक्षकलाई भन्दा उहाँलाई काम लगाउन सजिलो छ,’ आधारभूतका प्रधानाध्यापक उमानाथ रिजालले भने, ‘बैठकमा निर्णय गरेपछि उहाँले पहिलोपटक कार्यान्वयन गर्नुहुन्छ ।’ सामान्य शिक्षकले जस्तो किताब तथा अन्य पाठ्यक्रम अध्ययन गरेर पढाउन भीमकुमारीले सक्दिनन् । तर, उनले मोबाइलमा अक्षर पढ्ने एप्लिकेसन राखेकी छन् । इन्टरनेट र उक्त प्रविधि प्रयोग गरेर उनले बालबालिकालाई सिकाउने गर्छिन् ।

नेपाली विषयमा स्नातकोत्तर गरेकी उनले ब्रेल लिपीमा पढेकी थिइन् । आफूलाई शिक्षकहरूले राम्रोसँग बुझाउन नसकेको समस्या महसुस गरेर उनले उतिबेलै शिक्षक बनेर बालबालिकालाई राम्रोसँग बुझाएर पढाउने अठोट गरेको बताइन् । ‘मलाई सिक्न जति कठिन भयो, त्योभन्दा सजिलो गरी पढाएर देखाउँछु भन्ने चाहनाले यो क्षेत्रमा लागेकी हुँ,’ उनले भनिन्, ‘नयाँ प्रविधिले मेरो चाहना पूरा गरिदिएको छ ।’

सेतो छडी लिएर विद्यालय आउजाउ गर्ने उनलाई परीक्षाका लागि प्रश्नपत्र तयार गर्न भने असहज हुन्छ । आफैंले सजिलै बनाउन नसक्दा अन्य शिक्षकको सहयोग लिनुपरेकाले बेला–बेला दु:ख पाउने गरेको उनको भनाइ छ । परीक्षाको कापी जाँचमा पनि उनले अर्काको सहायता नलिई हुँदैन । ‘सकभर विद्यार्थीलाई न्याय गर्ने प्रयास रहन्छ तर मनमा कताकता दिनुपर्ने जसरी न्याय हुन सक्यो कि सकेन भनेर असजिलो लागिरहन्छ,’ उनले भनिन्, ‘पढाउने मामिलामा भने गाह्रो छैन ।’

नेपाली भाषा पढाउँदा व्याकरणमा पनि धेरै ध्यान दिनुपर्छ । त्यसमा धेरै मेहेनत गर्नुपर्ने उनले बताइन् । नियमित इन्टरनेट चलाउने र सफ्टवेयरमार्फत आफूले अध्ययन गरेपछि मात्र कक्षाकोठामा पुगेर पढाउन सकेको उनको अनुभव छ । अध्यापनको सजिलो विधिका विषयमा बिहान–बेलुकी दिदी उमासँग उनको धेरै बेर छलफल चल्छ । दुवैको सल्लाह र छलफलबाट निकालेको निष्कर्षले उनलाई पढाउन सजिलो हुने गरेको छ ।

बस्नेत दिदीबहिनी दुवैजनाले ४५ दिनको शिक्षण सिकाइसम्बन्धी तालिम लिएका छन् । अपांगता भए पनि कसरी पढाउने र विद्यार्थीलाई कसरी बुझाउने भन्ने राम्रो ज्ञान लिएको प्रधानाध्यापक रिजालले बताए । ‘मैले उहाँलाई दबाब दिनै पर्दैन । बरु उहाँबाट धेरै सल्लाह पाउने गरेको छु,’ उनले भने, ‘अपांगता हुँदैमा हामीले गुणस्तरमा कमी महसुस गर्नु परेको छैन ।’

जिल्लाका अरू विद्यालयमा पनि दृष्टिविहीन र बहिरा शिक्षक छन् । जनताधनमा उमा बस्नेत, रुद्रेपीपल माविमा चिजा थापा र हरिदत्त शर्मा पढाइरहेका छन् । विद्यालयमा नियमित र प्राध्यापकको तरिका सहज हुने भएकाले दृष्टिविहीन शिक्षकका बारेमा कुनै पनि गुनासो नआएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए । उत्कृष्ट कार्य सम्पादनका लागि कतिपय शिक्षक पुरस्कृत र सम्मानित पनि भइसकेका छन् । ‘उनीहरू जस्ता शिक्षकलाई पेसामा प्रवेश गरेको देख्दा नाक खुम्च्याउने शिक्षक र प्रधानाध्यापक हाल खुसी भेटेको छु,’ उनले भने ।

प्रकाशित : श्रावण १६, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?