कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वर्षाले सडकको बिजोग

प्रकाश बराल

बागलुङ — कुश्मीसेरामा भएको दुर्घटनाका घाइतेलाई एम्बुलेन्समा राखेर सदरमुकाम ल्याउँदा हिलाम्मे सडक बाधक भएपछि झोलुंगे पुलको बाटो बोकेर पर्वतको कुश्मा लगियो । एम्बुलेन्स बिरामी नलिई फर्कियो । बिरामीलाई बोकेर लैजाँदा समयमा उपचार गराउनसमेत नसकिएको आफन्तले गुनासो गरे ।

वर्षाले सडकको बिजोग

वर्षात् लागेपछि कालीगण्डकी कोरिडोर र अन्य ग्रामीण सडक हिलाम्मे भएर जिपसमेत चल्न नसक्ने भएपछि यात्रीले सास्ती खेप्नुपरेको छ । बरेङदेखि सदरमुकाम आउने सडकमा दुई सातादेखि सबारी चलेका छैनन् । दर्जनौं स्थानमा पहिरो खसेको, हिलाम्मे र जोखिम यात्रा गर्नुपरेपछि चालकले जिप थन्क्याएर बसेका छन् ।

बिरामी छोराको उपचार गराउन पैदलै यात्रा गर्नु परेपछि बरेङको एक संस्थामा काम गर्दै रहेकी अस्मिता शर्माले जागिरै छाडिन् । ‘पैदल यात्रा गरेर सदरमुकाम उपचार गर्न आउँदा तीन दिन लाग्यो,’ उनले भनिन्, ‘वर्षातमा पटक–पटक बिरामी पर्ने डरले जागिरै छाडिदिएँ ।’ जागिरभन्दा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिएको उनले बताइन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पनि करिब दुइ दर्जन ठाउँमा पहिरो खसेर हरेक दिन यातायात अवरुद्ध हुन थालेको छ । बिहुँ, अक्षेते, भीमगिठे र बुर्तिबाङतर्फको खण्डमा दर्जनौं पहिरो खसेका छन् । उपचार गर्नेदेखि सदरमुकामका लागि काम लिएर हिँडेकाले समयमा गन्तव्य भेट्न नपाएको गुनासो गरे । ग्रामीण बस्तीका बासिन्दाले सहजै बजार पुग्न झन् धेरै समय र खर्च लगानी गर्न बाध्य भएको गुनासो बढिरहेको छ ।

हिउँदमा सडकमा लगानी गरेका गाउँपालिका र नगरपालिकाले वर्षात्मा भने मर्मतका लागि काम गरेका छैनन् । ‘ट्रयाक खोल्ने काम गरियो । अब वर्षात् सकिएपछि स्तरोन्नतिको काम गर्छौं,’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘धेरै सडक अवरुद्ध भएकाले जनताले दु:ख पाएको बुझेर पनि खर्च धेरै गर्न सकिएन ।’ गत आर्थिक वर्षको बजेटबाट खनिएका सडकको मर्मतमा साउन लागेपछि मात्रै पनि १० लाख रुपैयाँ बढी खर्च भएको जनप्रतिनिधिको भनाइ छ । तर, सहजै सवारी चल्न सक्ने अवस्था छैन । राष्ट्रिय राजमार्गमा स्थानीय लगानी गर्न नपाउने भन्दै छाडिएको छ भने ग्रामीण सडक सानो लगानीले मर्मत हुनै नसक्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।


बुर्तिबाङमा पहिरोले सडक भत्काएपछि जोखिमपूर्ण यात्रा गर्दै मोटरसाइकल चालक । तस्बिर: प्रकाश


बागलुङ नगरपालिकाले पनि चालु वर्षका लागि सडकको स्तरोन्नति शीर्षकमा १३ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, उक्त रकम हिउँदमा मात्र खर्चने योजना बनाएको छ । अघिल्लो वर्ष खनिएका अधिकांश सडकमा हाल सवारीसाधन चल्दैनन् । नगरपालिकाभित्रको रायडाँडा, पैयुँपाटा र सिगानालगायतका बस्तीसम्म यातायात ठप्पै भएको वडाध्यक्षले समेत गुनासो गरेका छन् । ‘पहिले मुख्य सडकलाई नियमित चल्ने बनाऔं भनेको कालोपत्रे गर्ने योजना ल्याइएको छ,’ ११ नम्बरका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘पहिरो नरोकिँदै कालोपत्रे गरियो भने भएको बजेट सबै बगेर जान्छ ।’ वडा कार्यालय जाँदा सदरमुकामदेखि पैदलै जान बाध्य भएको उनले गुनासो गरे । नगरपालिकाले भने बजार नजिकका खण्डमा कालोपत्रे गर्ने योजनासहित बजेट बनाएको नगरप्रमुख जनकराज पौडेलले बताए । हरेक वर्ष क्रमश: कालोपत्रे गर्दैै चार वर्षभित्र सबै वडामा कालोपत्रे सडक पुर्‍याउने उनले दाबी गरे । ट्रयाक खुलेका सडकमा नाली निर्माण तथा साँघुरा घुम्ती सुधार नगरेकाले वर्षातमा सवारी चल्न मुस्किल परेको उनले बताए ।

यस्तै समस्या तमानखोला, काठेखोला र बरेङ गाउँपालिकामा बढी छ । नाली नबनाई ट्रयाक खुलेपछि धेरै सडकले दुर्घटनासमेत निम्त्याएका छन् । कतिपय स्थानमा घरगोठ पुरिएका छन् भने धेरै स्थानमा आउजाउ गर्न नसकिने समस्या भएको हो ।

प्रकाशित : श्रावण १७, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?