झन् बढ्यो किस्ताको तनाव

भूकम्पपछिको पुनर्निर्माण
दोस्रो किस्ता पाउने १५ प्रतिशत मात्रै
मापदण्ड पूरा नगरेका र जग्गा अभावले घर बनाउन नसकेकाहरूले भूकम्पको अनुदान पाएनन्
प्रकाश बराल

बागलुङ — झन्झटिलो प्रक्रिया र प्राविधिक पुग्नुअघि बनेका घरको मापदण्ड नपुग्दा यहाँका ८५ प्रतिशत लाभग्राहीले पुनर्निर्माण प्राधिकरणको दोस्रो किस्ता पाउन सकेका छैनन् । तत्कालै घरवास नभएकाले परम्परागत रूपमा बनाएका, प्राविधिक रूपमा तोकिएको मापदण्ड पूरा नगरेका र जग्गा अभावले तोकिएको घर बनाउन नसकेकाहरूले भूकम्पको अनुदान नपाएका हुन् ।

झन् बढ्यो किस्ताको तनाव

जिल्लामा २ हजार ३ सय ७५ जना लाभग्राही छन् । तीमध्ये २ हजार १ सय १५ जनाले पहिलो किस्ता पाए भने दोस्रो किस्ता पाउनेको संख्या हालसम्म ३ सय ७४ जना मात्रै छ । भूकम्पको तीन वर्ष बितिसक्दा पनि घर निर्माणका लागि अनुदानको किस्ता पीडितलाई तनाव बढेको छ ।

‘जसले रकम पाएका छैन त्यो वास्तविक पीडित हो ,’ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘दातामुखी भएर पीडितलाई थप पीडा नपर्ने काम गर्नुपर्ने भएको छ ।’ दाताले दिएको सानो रकम पाउन लाभग्राहीले खर्चेको ठूलो रकम र मेहेनतको कदर गर्ने वातावरण बनाउन पुनर्निर्माण प्राधिकरणलाई उनले आग्रह गरे ।


पुनर्निर्माणका लागि लाभग्राहीले चार चरणमा ३ लाख रुपैयाँ पाउने प्रावधान छ । पहिलो किस्ता पाएकालाई दोस्रो पाउने बनाउन प्राविधिक काम पूरा गर्नुपर्ने व्यवस्था छ । तोकिएको मापदण्डमा रहेर घर बनाएमा मात्र दोस्रो किस्ता पाइन्छ । ‘पीडितले तत्काल बस्नु परेकाले हतार–हतार घर बनाएका छन् । अहिले प्रक्रियामा ल्याउन सकिएको छैन,’ डिभिजन इन्जिनियर प्रकाश अर्यालले भने, ‘प्राविधिक जनशक्ति पनि अभाव छ ।’ पुनर्निर्माणको काम सुरु भएको एक वर्षसम्म प्राविधिक अभाव भएको उनले बताए । १५ जनाको दरबन्दीले १० स्थानीय तह र जिल्ला कार्यालयको काम भ्याउनु परेको उनले बताए । जिल्लामा २ हजार ३ सय ७५ जना लाभग्राही छन् ।


प्राविधिक जनशक्तिको अभावले पहिलो किस्ता लगेर घर बनाएकामध्ये ८० प्रतिशत घर मापदण्डविपरीत बनेको पाइएको छ । सदरमुकाम र बजार क्षेत्रका धेरै घर मापदण्डविपरीत छन् । नगरपालिकाले नक्सा पास गरेको आधारमा घर बनाएकाहरू नै मापदण्डविपरीतमा परेका हुन् । जिल्लाका कुनै पनि नगर तथा गाउँपालिकामा भवन निर्माणसंहिता लागू भएको छैन । नक्सा बनाएर राजस्व तिरेकालाई धमाधम पास गरिदिने चलनले पुनर्निर्माण र किस्ता लैजान समस्या भएको हो । दायाँ–बायाँको घरमा जोडेर बनाइने सहरीया घरमा किस्ता दिन नमिल्ने प्रावधान छ ।

‘बजार क्षेत्रका घरमा धेरै समस्या परेको छ,’ बागलुङ नगर हेर्ने इन्जिनियर विक्रम सापकोटाले भने, ‘यहाँको वास्तविकता प्राधिकरणमा पनि पठाएका छौं । नयाँ प्रक्रियाको निर्णय गर्नसक्ने जिल्लामा सहयोगी इन्जिनियर नआएसम्म त्यस्ता काम रोकिएका छन् ।’ प्राधिकरणमा माग गरे पनि भदौ दोस्रो साता मात्र इन्जिनियर आउनसक्ने अर्यालले बताए । जिल्लामा मर्मत र रेट्रोफिटिङ गर्न मिल्ने ८२ घरमध्ये हालसम्म २८ घरले मात्र पहिलो किस्ता लगेका छन् । मर्मतका लागि दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ ।


भूकम्पले ध्वस्त भएका १४ विद्यालयका भवन पनि निर्माणाधीन छन् । चारकोठे दुई, तीनकोठे र दुइकोठे ६/६ विद्यालयको काम भइरहेको प्रमुख जिल्ला इन्जिनियर दयाराम अधिकारीले बताए । ती विद्यालयले आफ्नो लगानी थपेर अरू कोठा बनाउन खोज्दा किस्ता लैजान नसकेको र सामग्री जम्मा गरे पनि काम पूरा गर्न नभ्याएको उनले बताए । प्राधिकरणका अनुसार बागलुङ नगरपालिकामा सबैभन्दा धेरै ६ सय २६ लाभग्राही छन् ।

प्रकाशित : श्रावण १८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?