१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चोरी गरी भागेका २ युवकको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोंथर गाउँपालिका-९ छापागाउँको एक पसलमा चोरी गरी भाग्ने क्रममा २ युवकको भीरबाट खसेर मृत्यु भएको छ ।

चोरी गरी भागेका २ युवकको मृत्यु

स्थानीय मरिचमान गुरुङको पसलमा रहेको पैसाको बाकस चोरी गरी भाग्दै गर्दा मध्यनेपाल नगरपालिका-८ करापुगाउँ नजिकैको भीरबाट खसेर ती दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्सपेक्टर राजेन्द्र अधिकारीका अनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल कास्कीको तल्लो गगनगौंडा बस्दै आएका २२ वर्षीय चन्दन सुनार रहेका छन् । अर्का मृतक युवकको नाम राम भनिए पनि थर र ठेगाना खुल्न नसकेको अधिकारीले बताए । उनका अनुसार चोरीमा संलग्न छापागाउँकै ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एकजना फरार रहेको प्रहरीले बताएको छ ।


नियन्त्रणमा लिएका गुरुङले यी दुवैजना पोखरामा बस्ने बताएको तर, अन्य जानकारी नभएको बताएका प्रहरीले बताएको छ । गुरुङलाई भने स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । ४ जनाले बाकस चोरी गरी भागेकोमा भीरबाट करिब २ सय मिटर तल खसेर दुवै युवकको मृत्यु भएको प्रहरीले बताएको छ ।


चोरीको घटना बिहीबार राति साँढे २ बजेतिरको भएको र उनीहरु शुक्रबार बिहानीपख साँढे ४ बजेतिर खसेको अनुमान प्रहरीले गरेको छ । उनीहरुको शव शुक्रबार बिहान फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र चोरीमा संलग्न युवकको खोजी गरिरहेको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शव र नियन्त्रणमा रहेका गुरुङलाई बेंसीसहर ल्याएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?