कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना सम्झौतामा कडाइ

‘वैशाखमै योजना नसकिए रकम भुक्तानी हुँदैन’
कान्तिपुर संवाददाता

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाले योजना सम्झौता र बजेट भुक्तानी तथा कार्यान्वयनमा कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलक्षित योजना वैशाखभित्रै पूरा गर्नुपर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

योजना सम्झौतामा कडाइ

गाउँपालिकाले बर्सेनि असारको १० मा बजेट ल्याउने गरी कार्यतालिका बनाएको छ । वैशाखभित्र योजना सकेर जेठ महिनामा सबै योजनाको भुक्तानी गरिसक्ने र असार १० मा अर्को आर्थिक वर्षको बजेट ल्याइने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘विगतमा बर्खामा काम गर्दै आएको परिपाटीलाई हामी तोड्छौं । असारमा विकासनिर्माणका कुनै पनि काम हुँदैन,’ उनले भने, ‘वैशाखमै योजना नसकिए रकम भुक्तानी हुँदैन । जिम्मेवारी लिएका ठेकेदार र उपभोक्ता समितिले जसरी पनि वैशाखमै काम सक्नुपर्छ ।’ वर्षायाममा गरिने विकासनिर्माणका काम गुणस्तरीय नहुने भन्दै अगाडि नै पूरा गराउन निर्णय गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो बैठकले माघभित्रै सम्झौता सक्ने निर्णय गरेको छ । भदौ २१ सम्ममा उपभोक्ता समिति गठन गरिसक्ने, असोज १५ सम्म उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइने, माघ मसान्तसम्म योजना सम्झौता गरिसक्ने गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि गाउँटोलसम्म पुगेर स्थानीयको आवश्यकताको पहिचान गरिएकाले बजेट कार्यान्वयनमा समस्या हुने छैन । ‘स्थानीयको स–साना माग तथा आवश्यकतालाई हामीले सम्बोधन गर्ने प्रयास गरेका छौं । आफ्ना आवश्यकताको विकासका लागि नागरिकले समयमै काम गर्नेछन्,’ उनले भने । वैशाखभित्रै योजना सकेर जेठमा भुक्तानी सक्ने निर्णयको जानकारी गाउँपालिकाभित्रका नागरिकलाई दिइएको प्रवक्ता एवं उपाध्यक्ष विकले बताए ।

प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाले गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मत उक्त निर्णय गरेकाले अध्यक्ष, उपाध्यक्षसहित सबै कार्यपालिका सदस्य तथा जनप्रतिनिधि निर्णय कार्यान्वयनमा लागेको बताए । ‘गत आर्थिक वर्षका योजना तथा बजेट कार्यान्वयन पक्षमा उठेका सकारात्मक सवाल तथा उपलब्धिसाथै सुधार गर्नुपर्ने विषयलाई हामीले आत्मसमीक्षा गर्‍यौं । गुणस्तरीय योजना निर्माणमा अब कुनै सम्झौता हुँदैन भन्ने निष्कर्षमा हामी पुग्यौं,’ उनले भने । चालु आर्थिक वर्षको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन, विकास पूर्वाधारका योजनालाई अगाडि बढाएको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?