आगन्तुक लोभ्याउँदै शिवलिंग

अगन्धर तिवारी

पर्वत — जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमा पर्ने मोदीवेणीमा आगन्तुकलाई आकर्षण गर्न शिवलिंगको चौघेरो प्रतिस्थापन गरिएको छ ।

पर्वतको मोदीवेणीमा निर्माण गरिएको शिवलिंगको चौघेरो । तस्बिर : अगन्धर । कान्तिपुर

काली र मोदीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्त्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिंगको चौघेरो मोदीवेणी धार्मिक तथा पर्यटकीय विकास समितिले निर्माण गरेको हो ।

नृसिंह मन्दिर परिसरमा बनाइएको शिवलिंगमा स्थानीय एवं मोदीवेणी दर्शनका लागि आउने तीर्थालुको सहयोगमा करिब १५ लाख लगानीमा एकै मण्डपमा चौघेरो बनाइएको हो । अघिल्लो असोजमा गरिएको सामूहिक श्राद्धमा दाताहरूले गरेको दानबाट चौघेरो बनाउन सम्भव भएको समितिका अध्यक्ष गोपालदास पौडेलले बताए ।

६४ शिवलिंग ९ लाख ६० हजार रुपैयाँमा खरिद गरी ल्याइएको समिति सदस्य युवनाथ गौंडेल रेग्मीले बताए । एउटै मण्डपमा चौघेरो बनाएर शिवलिंग स्थापना गर्दा १५ लाख खर्च भएको छ । स्रोहश्राद्धमा दानबापत प्राप्त भएको ६० हजार, कुश्मा ५ को ५० हजार, अन्य सहयोगी तथा समितिले व्यहोर्ने गरी निर्माण सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ ।

कुश्मा ५ मा कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा रहेको मोदीवेणीमा प्राकृतिक र धार्मिक दुवै प्रकारले चर्चित बन्दै गएपछि समिति र स्थानीय सरकारको चासो बढ्न थालेको हो । समितिले २ वर्षअघि निर्माण गरेको व्यवस्थित वृद्धाश्रममा अहिले २६ ज्येष्ठ नागरिकले आश्रय लिएका छन् । वृद्धाश्रम २०६६ देखि सञ्चालन भए पनि २ वर्षअघि दाताको सहयोगमा आश्रम व्यवस्थित गरिएको हो ।

कालीगण्डकी र किनारमा पाइने शालिग्रामका कारण शिवको पर्याय मान्ने तीर्थालुको भीड लाग्छ । साउने सोमबार, एकादशी, बालाचतुदर्शीलगायत पर्वमा यहाँ टाढा–टाढाबाट तीर्थालु आउने गर्छन् । मोदीवेणी बागलुङ, पर्वत र स्याङ्जाको समेत सामूहिक घाट हो । समितिले २०७३ मा १ सय ८ गौमुखेधारा र १ सय १२ तुलसीका मठ निर्माण गरेको थियो । यहाँ चाडबाडमा महापुराण, यज्ञ, भजनकीर्तन र सामूहिक पूजाआजालगायत धार्मिक गतिविधि हुँदै आएका छन् ।

दैनिकजसो करिब २ सय धार्मिक पर्यटक पुग्ने मोदीवेणी जान कुश्मादेखि करिब १ किमि ढलान गरिएको सिँढीसहितको पैदल मार्ग बनाइएको छ । कुश्माका बासिन्दा प्रात:भ्रमण (मर्निङ वाक) गर्न पनि मोदीवेणी पुग्छन् । कालीगण्डकीमा स्नान गर्न, नृसिंह मन्दिर दर्शन र सामूहिक घाट समेत रहेकाले पिण्डदान, तर्पण श्राद्धका लागि विभिन्न ठाउँबाट सर्वसाधारण आउने गर्छन् ।

सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्नेहरू पितृउद्धारका लागि मोदीवेणीमै पिण्डदान गरे मुक्ति पाउने विश्वास गर्छन् । नेपालकै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुंगे पुल हेर्न आउने पर्यटक पनि पछिल्लो समय मोदीवेणीमा पुग्ने गरेका छन् । अग्ला झोलुंगे पुल भएर पैदल १२/१५ मिनेटमै पुगिन्छ ।

प्रकाशित : श्रावण २२, २०७५ १०:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सडक बिग्रिएसँगै पर्यटक घटे

आश गुरुङ

मनाङ — बर्खाले सडक बिगारेसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने पर्यटक घटेका छन् । यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक भित्रिएका थिए ।बाढीपहिरोले बाटो बिगार्दा यात्रा असजिलो र मौसम परिवर्तनले दृश्यावलोकन राम्रो नहुने भएकाले पर्यटक आगमन घट्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको तिमाङबाट चामेतर्फ जाँदै पर्यटक । तस्बिर : आश । कान्तिपुर

मनाङ गाउँस्थित होटल तिलिचोका सञ्चालक कर्मा गुरुङले बाहय पर्यटकको गन्तव्य मनाङमा बर्खामा पर्यटक देखिन छाडेको बताए । ‘दैनिक १०/१५ जना देख्छु । २/४ होटलमा बस्ने गरेका छन्,’ उनले भने, ‘२/३ महिना अघिसम्म खचाखच पर्यटक थिए । पानी पर्न थालेपछि आउन छाडे ।’ उनका अनुसार चामेसँगै माथिल्लो क्षेत्रका ढिकुरपोखरी, पिसाङ, भ्राका, मनाङ, खाङ्सार, याकखर्क, थोराङ बेसक्याम्प, हाइक्याम्प, तिलिचो बेसक्याम्पका होटल सुनसान छन् । पर्यटक आगमन घटेपछि होटल सञ्चालकहरू पनि बेंसी झरेका छन् ।

अप्रिलमा ५ हजार ४१ विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको बाटो भएर मनाङ आएका थिए । जुलाईसम्म निरन्तर पर्यटक आगमन घटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानी चेकपोस्टको तथ्यांकअनुसार मेमा २ हजार ८५, जुनमा ५ सय २७ र अप्रिलमा ६ सय १८ पर्यटक मनाङ प्रवेश गरेका छन् । यसअघि जनवरीमा ४ सय ७९, फेब्रअरीमा ८ सय ८० र मार्चमा ३ हजार ८ सय ३ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको बाटो भएर मनाङ आएका थिए । ‘जुनमा औसत पर्यटक संख्या दैनिक १८ थियो । जुलाईमा २० जना थियो । वर्षायाममा पर्यटक आगमन घटेको छ,’ धारापानी चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले भनिन्, ‘केही महिनामै पर्यटकीय सिजन सुरु हुन्छ । पर्यटक आगमन बढ्छ ।’ हाल दैनिक २० देखि २५ सम्म दैनिक पर्यटक आगमन रहेको उनले बताइन् ।

एक्यापका अनुसार चालु वर्षको ७ महिनामा १३ हजार ४ सय ३३ पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । सन् २०१७ मा २७ हजार ६८ पर्यटकले उक्त पदमार्गको भ्रमण गरेका थिए । अब पर्यटक आगमनको महिना सेप्टेम्बर, अक्टोबर र नोभेम्बर बाँकी छ । गत वर्ष सेप्टेम्बरमा २ हजार ६ सय २०, अक्टोबरमा ६ हजार ६ सय ७४ र नोभेम्बरमा ४ सय ३ सय ३८ पर्यटक भित्रिएका थिए । एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार सिजनमा पछिल्लो वर्ष पर्यटक आगमन राम्रो छ । ‘बर्खामा हरेक वर्ष पर्यटक आगमन घट्छ । यसलाई बढाउन सकिएको छैन,’ उनले भने, ‘सिजनमा भने पर्यटक आगमन ह्वात्तै बढ्छ ।’ देशमा राजनीतिक स्थिरता र बन्द हड्ताल नभए पर्यटक आगमन बढ्ने उनले बताए ।

पर्यटन व्यवसायीका अनुसार हिमाली क्षेत्रको दृश्यावलोकन गर्न औधी मन पराउने भएकाले पर्यटकीय आगमन मार्च, अप्रिल र मे साथै सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा बढी हुने गर्छ । पर्यटन व्यवसायी एवं विमानचालक त्रिपल पी गुरुङका अनुसार वर्षमा ६ महिना पर्यटकीय सिजन हो भने ६ महिना पर्यटक आगमनका लागि ‘लो’ सिजन हो । मनाङका सांसद पोल्देन छोपाङ गुरुङले हरेक महिना पर्यटक भित्र्याउन पर्यटकीय गतिविधि र संरचना आवश्यक रहेको बताए । ‘हिउँद–बर्खा पर्यटक आगमन गराउन पर्यटकीय संरचना र वातावरण आवश्यक छ ।’ लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको हिमालपारि मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । २१ दिनमा पूरा हुने पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोट्टिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।

प्रकाशित : श्रावण २२, २०७५ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT