कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

कान्तिपुर संवाददाता

पर्वत — जिल्लाका विभिन्न भागमा वर्ष दिनमा विपत्का विभिन्न घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने १३ घाइते भएका छन् ।बाढीपहिरो, करेन्ट, असिनापानी, चट्याङ, हावाहुरी र आगलागीलगायत ५८ घटना भएका हुन् ।

विपत्‌बाट वर्ष दिनमा ४ करोड क्षति

जिल्ला विपत् व्यवस्थापन समितिको प्रतिवेदनअनुसार आव २०७४/७५ मा विभिन्न घटनामा ४ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । सबैभन्दा धेरै करेन्ट लागेका घटना भएका छन् । करेन्ट लागेर मात्रै ५ जनाले ज्यान गुमाएका छन् । अव्यवस्थित विद्युतीकरण र चेतना अभावले करेन्ट लागेर हताहतीका घटना भएका हुन् । यस्तै डुबेर २ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिका अनुसार बाढीपहिरो, हावाहुरी, चट्याङ, असिनापानी र आगलागीबाट ३० घरगोठमा क्षति भएको थियो । विभिन्न प्रकृतिका ५८ घटनामा परी ३ सय २६ पशुपक्षी मरेका थिए । पहाडी भू–भाग भएका कारण जिल्लामा पहिरोले सबैभन्दा बढी भौतिक क्षति पुर्‍याएको छ । क्षति विवरण संकलन तथा उद्धार र राहतका लागि सम्बन्धित स्थानीय तहमा उद्धार प्रतिकार्य योजना व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक गुरुदत्त ढकालले बताए । उनका अनुसार मानवीय तथा भौतिक क्षति भएका परिवारलाई हालसम्म ५ लाख ६५ हजार रुपैयाँ राहत वितरण गरिएको छ ।

चालु वर्ष बाढीपहिरोबाट भएको विभिन्न क्षतिको मूल्यांकन गरी आवश्यक सहयोग उपलब्ध गराउने र पीडितका लागि स्थायी राहतको व्यवस्था गर्ने तयारी भइरहेको समितिले जनाएको छ । ‘यो वर्ष जलजलामा सबैभन्दा धेरै क्षति भएको छ,’ समिति संयोजक ढकालले भने, ‘गाउँपालिकाले सबै व्यवस्था मिलाउने तयारी गरेको छ । हामी समन्वयकारी भूमिकामा छौं ।’ साउन १ मा जलजला ८ नाङ्लीबाङमा पहिरोमा परी ११ घर भत्किए भने १३ परिवार विस्थापित भए ।

पहिरोले घर पुर्दा विकास परियारको मृत्यु भएको थियो । उनको परिवारलाई समितिले राहतमा १ लाख रुपैयाँ उपलब्ध गराएको छ । पहिरोबाट उच्च जोखिममा जलजलाकै ७ र ८ का २५ घरमध्ये २२ परिवारलाई सुरक्षित स्थानान्तरण गराउन पहल भएको छ । बस्ती संरक्षणका लागि प्राविधिकको सल्लाहअनुसार ३ करोड ५० लाख र सिँचाइ कुलो, खानेपानी, सडक मर्मतका लागि १ करोड रुपैयाँ केन्द्रमा माग गरिएको छ । हालै गृहजिल्ला आएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले केन्द्र सरकारलाई माग बमोजिमको बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

जलजलाको बरनेटा, फलेवास ८ को अर्चले, ९ को भंगारा, मोदी ४ को जयले गाउँ पहिरोको जोखिममा छन् । कालीगण्डकीको तटीय क्षेत्रका वारीबेनी, लस्ती, मालढुंगा, सेतीवेणीबजार डुबान र कटानको जोखिममा छन् । मोदीखोलाको तटीय क्षेत्रका डिमुवा, पातीचौर र दोबिल्ला पनि जोखिमका क्षेत्र हुन् ।

प्रकाशित : श्रावण २२, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?