१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अस्पताल भवन निर्माण अलपत्र

घनश्याम खड्का

म्याग्दी — क्षमता विस्तार गर्दै ५० शय्याको हुने भनिएको म्याग्दी जिल्ला अस्पतालको भवन निर्माण अलपत्र परेको छ । निर्माण सम्झौता भएको १८ महिनामा भवनको जगको पनि काम पूरा नगरी ठेकेदार आउन छाडेपछि यस्तो भएको हो ।

अस्पताल भवन निर्माण अलपत्र

निर्माणको काम अघि बढाउन धेरै पटक पत्राचार गरेको सहरी विकास तथा भवन निर्माण विभागले अब भने कारबाहीको तयारी थालेको छ । ‘निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेका छन् । साउन ११ सम्ममा आठौंपटक पत्राचार गरिसक्यौं,’ बागलुङस्थित डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्यालले भने, ‘आगामी शनिबारसम्म पनि ठेकेदार निर्माणस्थलमा आएनन् भने धरौटी जफतसहितको कारबाहीको तयारीमा छौं ।’ ठेक्का सम्झौताअनुसार समयावधि रहे पनि कामको प्रगतिका आधारमा कारबाही गरिने उनले बताए । ‘अझ अस्पताल भनेको अरू जस्तो होइन, जनस्वास्थ्य सरोकारको संस्था हो,’ उनले भने, ‘ठेकेदारले संवेदनासमेत ख्याल गरेका छैनन् ।’

२०७६ असोजभित्र काम पूरा गर्ने गरी डिभिजन कार्यालयले २०७३ पुस २१ मा काठमाडौंको महादेव खिम्ती, गल्वा रफिना जेभीलाई १८ करोड ९० लाखमा ठेक्का दिएको छ । २४ करोड ४ लाख २२ हजार लागत अनुमान गरिए पनि ठेकदारले ५ करोड ५० लाख न्यून अंकमा बोलकबोल गरी निर्माण सम्झौता गरेका थिए । ठेकेदार कम्पनीले अस्पताल भवनको जगको काम गर्दागर्दै छाडेपछि फलामे डन्डीहरूमा खिया लागेको छ । जग वरपरबाट भत्किएर पुरिन थालेको छ ।

सम्झौताको १९ महिना बित्दासम्म ठेकेदारले अन्डरग्राउन्ड अस्पताल भवनको जग निर्माण गर्दागर्दै काम छाडेका छन् । साइडबाट पहिरो झरेकाले फाउन्डेसनको केही भाग पुरिन थालेको छ । डिभिजन कार्यालयका अनुसार अस्पतालका लागि ५ हजार ३ सय वर्गमिटरमा एक तला अन्डरग्राउन्डसहित तीनतले भवन बनाउने डिजाइन स्टिमेट छ । पहिलो तलामा ओपीडी, दोस्रोमा इनडोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने छ । भवनबाहेक बगैंचा र प्यासेजलगायत थप काम पनि छन् । नयाँ भवन बन्ने भनिएपछि पुरानोबाट सेवा दिन पनि अस्पताललाई गाह्रो परेको छ । पुरानो भवन साँघुरो र सबै उपकरण राखेर सेवा दिन समस्या छ ।

एकपटक आफैंले कारबाही गरेको ठेकेदारलाई डिभिजन कार्यालयले अर्को ठेक्का दिएको थियो । ठेक्का लिएको संयुक्त निर्माण कम्पनीमध्येको रिफिना कन्स्ट्रक्सनले यसअघि पनि जनस्वास्थ्य कार्यालयको अर्को भवन ठेक्का लिएर समयमा काम नगरेपछि कारबाहीमा परेको थियो । रेफिनाले ०६९ वैशाख २० मा २ वर्षको समय लिएर जनस्वास्थ्यको भवन निर्माणको ठेक्का लिएको थियो । थप २ वर्ष ढिला गरी अधकल्चो निर्मित भवन हस्तान्तरण गरेको थियो ।

समयमै भवन पूरा नगरेपछि त्यसबेला ठेकेदारलाई ५ लाख ८२ हजार जरिवानासहित कारबाही गरिएको थियो ।‘जोइन्ट भेन्चरमध्येको मुख्य रफिना कन्स्ट्रक्सन यसअघि पनि कारबाहीमा परेको ठेकेदार कम्पनी हो,’ डिभिजन प्रमुख अर्यालले भने, ‘म्याग्दी जिल्ला अस्पतालकै अर्को भवन निर्माणमा पनि ढिलाइ गरेकाले ६० दिनको ५ लाख ८२ हजार जरिवाना गरेका थियौं ।’

प्रकाशित : श्रावण २२, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?