अस्पताल भवन निर्माण अलपत्र

घनश्याम खड्का-

म्याग्दी — क्षमता विस्तार गर्दै ५० शय्याको हुने भनिएको म्याग्दी जिल्ला अस्पतालको भवन निर्माण अलपत्र परेको छ । निर्माण सम्झौता भएको १८ महिनामा भवनको जगको पनि काम पूरा नगरी ठेकेदार आउन छाडेपछि यस्तो भएको हो ।

निर्माणको काम अघि बढाउन धेरै पटक पत्राचार गरेको सहरी विकास तथा भवन निर्माण विभागले अब भने कारबाहीको तयारी थालेको छ । ‘निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेका छन् । साउन ११ सम्ममा आठौंपटक पत्राचार गरिसक्यौं,’ बागलुङस्थित डिभिजन कार्यालयका प्रमुख प्रकाश अर्यालले भने, ‘आगामी शनिबारसम्म पनि ठेकेदार निर्माणस्थलमा आएनन् भने धरौटी जफतसहितको कारबाहीको तयारीमा छौं ।’ ठेक्का सम्झौताअनुसार समयावधि रहे पनि कामको प्रगतिका आधारमा कारबाही गरिने उनले बताए । ‘अझ अस्पताल भनेको अरू जस्तो होइन, जनस्वास्थ्य सरोकारको संस्था हो,’ उनले भने, ‘ठेकेदारले संवेदनासमेत ख्याल गरेका छैनन् ।’

२०७६ असोजभित्र काम पूरा गर्ने गरी डिभिजन कार्यालयले २०७३ पुस २१ मा काठमाडौंको महादेव खिम्ती, गल्वा रफिना जेभीलाई १८ करोड ९० लाखमा ठेक्का दिएको छ । २४ करोड ४ लाख २२ हजार लागत अनुमान गरिए पनि ठेकदारले ५ करोड ५० लाख न्यून अंकमा बोलकबोल गरी निर्माण सम्झौता गरेका थिए । ठेकेदार कम्पनीले अस्पताल भवनको जगको काम गर्दागर्दै छाडेपछि फलामे डन्डीहरूमा खिया लागेको छ । जग वरपरबाट भत्किएर पुरिन थालेको छ ।

सम्झौताको १९ महिना बित्दासम्म ठेकेदारले अन्डरग्राउन्ड अस्पताल भवनको जग निर्माण गर्दागर्दै काम छाडेका छन् । साइडबाट पहिरो झरेकाले फाउन्डेसनको केही भाग पुरिन थालेको छ । डिभिजन कार्यालयका अनुसार अस्पतालका लागि ५ हजार ३ सय वर्गमिटरमा एक तला अन्डरग्राउन्डसहित तीनतले भवन बनाउने डिजाइन स्टिमेट छ । पहिलो तलामा ओपीडी, दोस्रोमा इनडोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने छ । भवनबाहेक बगैंचा र प्यासेजलगायत थप काम पनि छन् । नयाँ भवन बन्ने भनिएपछि पुरानोबाट सेवा दिन पनि अस्पताललाई गाह्रो परेको छ । पुरानो भवन साँघुरो र सबै उपकरण राखेर सेवा दिन समस्या छ ।

एकपटक आफैंले कारबाही गरेको ठेकेदारलाई डिभिजन कार्यालयले अर्को ठेक्का दिएको थियो । ठेक्का लिएको संयुक्त निर्माण कम्पनीमध्येको रिफिना कन्स्ट्रक्सनले यसअघि पनि जनस्वास्थ्य कार्यालयको अर्को भवन ठेक्का लिएर समयमा काम नगरेपछि कारबाहीमा परेको थियो । रेफिनाले ०६९ वैशाख २० मा २ वर्षको समय लिएर जनस्वास्थ्यको भवन निर्माणको ठेक्का लिएको थियो । थप २ वर्ष ढिला गरी अधकल्चो निर्मित भवन हस्तान्तरण गरेको थियो ।

समयमै भवन पूरा नगरेपछि त्यसबेला ठेकेदारलाई ५ लाख ८२ हजार जरिवानासहित कारबाही गरिएको थियो ।‘जोइन्ट भेन्चरमध्येको मुख्य रफिना कन्स्ट्रक्सन यसअघि पनि कारबाहीमा परेको ठेकेदार कम्पनी हो,’ डिभिजन प्रमुख अर्यालले भने, ‘म्याग्दी जिल्ला अस्पतालकै अर्को भवन निर्माणमा पनि ढिलाइ गरेकाले ६० दिनको ५ लाख ८२ हजार जरिवाना गरेका थियौं ।’

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २२, २०७५ ०९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का-

म्याग्दी — बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका २ र ३ वडामा पर्ने चमेरे र बैंसरीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका, २ बैंसरीमा पहिरोले ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा समेत खसालेकोले जिल्लाको उत्तरी भेगमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

सोही गाउँपालिकाको चमेरेमा पनि माथीबाट झरेको लेदोको थुप्रोका कारण सवारी अवरुद्ध छ।

यसैगरी जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धौलागिरी गाउँपालिका हुँदै ढोरपाटन जोड्ने बेनी–दरवाङ सडकमा पनि पहिरोले यातायात अवरुद्ध छ। बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमास्थ फापरखेत र मंगला गापाको लाम्पाटा स्थित सडकमा पहिरो झरेकोले यातायात अवरुद्ध भएको छ।

‘जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ्ग दुवै सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ। पहिरो पन्छ्याउने प्रयास भएपनि झरी निरन्तर रहेकोले बाधा पुगेको छ,’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘देशभरीमै बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा पर्ने भएकोले मनसुन नरोकिँदासम्म यी सडकमा दैनिक समस्या आई रहन्छ।’

बेनी–जोमसोम सडकको गलेश्वर–तातोपानी खण्डको २० किमी खण्डमा पहिरोले खसालेका र कालीगण्डकी नदी कटानले पोल ढाल्न थालेपछि ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा ढलेर कतिबेला यात्रु वा यात्रुबाहक बसमा खस्ने त्रास बढेको छ।

बेनी–जोमसोम–कोरला सडक विस्तारको काममा मापदण्ड भित्र परेका बिजुलीका ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा मात्र छोडेर सडक विस्तार गरिएकोले बर्खासँगै यी पोल ढलेका हुन्। बेनी–जोमसोम सडक विस्तार काम तिव्र भैरहेकोले तल्लो भाग सडकले खनेपछि पहिरो जाँदा सडक मापदण्डबाहिरका बिजुलीका पोलहरु ढल्दै सडकमा झरेका हुन्।

बेनी–जोमसोम सडकमा बाढी पहिरोको जोखिम उच्च भएपछि प्रशासन कार्यालयले साँझ ६ बजेदेखी बिहान ६ बजेसम्म १२ घन्टा आपतकालिन अवस्थामा बाहेक यातायात संञ्चालनमा रोक लगाएको छ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT