पहिरो रोक्न गाडियो हलो

कान्तिपुर संवाददाता

लमजुङ — भासिएको जमिन र झर्दै गरेको पहिरो कसरी रोक्ने ? हामी प्राविधिकको सल्लाहअनुसारको उपाय लगाउनुपर्छ भनौंला तर दोर्दी गाउँपालिका ८ खिन्चोक बेंसीका स्थानीयले गाउँमाथिको जल्केनीपाखामा खेत जोत्न प्रयोग गरिने काठको हलो गाडेका छन् ।

पहिरो रोक्न गाडियो हलो

गाउँमा जल्केनीपाखा र बेलौतीखोलाबाट जमिन भासिएर पहिरो झरेर पुरिन लागेपछि स्थानीयले परम्परागत जुक्ति निकालेका हुन् । उनीहरूले सडकबाट जमिन भासिँदै गरेको ठाउँ पहिरोको शीर जल्केनीपाखाबाट पहिरो झर्न नदिन प्रयोग भइसकेको हलो गाडेका हुन् । बेंसीबाट खिन्चोक गाउँ जोड्ने सडकमा पहिरो खस्न थालेपछि गाउँ बारेर पूजापाठ गरी हलो गाडेका स्थानीय उत्तमबहादुर घलेले बताए । पूजापाठ कुमार केटाले गरेर गाउँलेले हलो गाडेका हुन् । ‘पहिरो रोकथामका लागि हलो गाड्ने हाम्रो पहिलेदेखिको परम्परा हो । हलो गाडेपछि पहिरो रोकथाम हुन्छ भन्ने विश्वास छ,’ उनले भने । उनीहरूले काँचो धागोले बाँधेर पातीको बोटलाई खेलौनाजस्तो लिंगे पिङ बनाई १२/१३ वर्षका कुमार केटालगायतले पूजापाठ गरी ध्वजा बाँधेर अबिर लगाई हलो गाडेको स्थानीयले बताए ।


स्थानीय मेघराज घलेका अनुसार पहिरो रोकथामका लागि हलो गाड्नु भनेको परम्परागत उपाय हो । ‘पहिरोले गाउँ लान लागेपछि के गर्ने ? सल्लाह गरेर बाउबाजेले भनेझैं हलो गाड्यौं,’ उनले भने, ‘मनमा डरत्रास छ । असार अन्तिममा हलो गाडेपछि धेरै ठूलो पहिरो गएको छैन, पूरै जमिन भासिएको छैन । यसले रोक्यो भन्ने हाम्रो विश्वास हो ।’ उनले रातको समय घरमा सुत्न नसकिएको बताए । ‘हलो गाडेर के गर्ने, विश्वास छ । विश्वास भएर के गर्ने, प्रकृतिको कुरा के हुन्छ, के हुँदैन,’ उनले भने, ‘अलिअलि पानी पर्न थाल्दा मात्रै अन्यत्र गएर बस्नुपर्ने अवस्था छ । यसअघि हामीले घर छाडेर अन्यत्रै गएर बसेका थियौं ।’ उनका अनुसार गाउँका करिब ३५ घर अति जोखिममा छन् । ‘पानी परिरहे कुनबेला के हुन्छ भन्ने थाहा छैन,’ उनले भने ।

पहिरो रोक्न भन्दै गाडिएको हलो । तस्बिर : कान्तिपुर


जिल्ला विपत् व्यवस्थापन समितिले खिन्चोक बेंसी गाउँका ३२ घर जोखिममा रहेको जनाएको छ । खानेपानी साथै विद्युत्को समस्या रहेको जनाइएको छ । गत साउन ९ को बैठकले रेडक्रस सोसाइटी र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) का प्राविधिकमार्फत उक्त ठाउँको स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । स्थलगत अध्ययन तथा स्थानीयसँगको प्रत्यक्ष भेटघाट गरी विप् व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाएको आरसीडीसीअन्तर्गत नेपाल विपत् पूर्वतयारी तथा न्यूनीकरण परियोजनाका कार्यक्रम अधिकृत प्रमोद घिमिरेले बताए । उनका अनुसार खिन्चोक बेंसीको माथिल्लो पाखाबाट झर्दै गरेको पहिरो र भासिएको जमिन पूरै बगेमा सबै घरमा क्षति पुग्ने देखिएको छ । उनका अनुसार अध्ययन टोलीले उक्त गाउँ तत्काल अस्थायी रूपमा स्थानान्तरण गरी समस्याको दीर्घकालीन समाधान निकाल्नुपर्ने प्रतिवेदन पेस गरेको छ ।


जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले खिन्चोक बेंसी गाउँका ३२ घरपरिवारका लागि वर्षायामभरका लागि अस्थायी रूपमा बसोबास गर्न फलेनीको बालकल्याण मावि नजिकैको खाली जग्गा उपलब्ध गराइदिन दोर्दी गाउँपालिकालाई अनुरोध गरेको बताए । सोमबारको बैठकले स्थानीयका लागि अस्थायी आश्रयस्थल निर्माण गर्न जिल्लामा क्रियाशील विपतको क्षेत्रमा काम गर्दै आएको सरकारी तथा गैरसरकारी कार्यालयलाई अनुरोध गरिएको बताए ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?