पहिरोले जलविद्युत आयोजना बन्द

प्रकाश बराल

बागलुङ — गाउँलेले चन्दा संकलन गरेर बनाएका यहाँका दुईवटा लघु जलविद्युत आयोजना बन्द हुँदा यहाँका दुईहजार घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । 

पहिरोले जलविद्युत आयोजना बन्द

निसीखोलाको वडा नम्बर २ देखि ५ सम्मका बासिन्दाले बालेको बिजुली अन्तर्गत निसीखोला लघु जलविद्युत आयोजना दोस्रोको नहर पहिरोमा खसेपछि गाउँलेहरु अन्धकारमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।


उक्त आयोजनाबाट १ हजार १ सय घर अन्धकारमा बस्न बाध्य भएका हुन् । १ सय किलोवाट क्षमताको यो विद्युतबाट स्थानीयले कुटानी पिसानी मिल पनि चलाएका थिए । त्यस्तै फर्निचार, कुखुरापालन लगायतका घरेलु उद्योग सञ्चालनमा थिए । ती उद्योगमा समेत क्षति भएको हो ।

एकसाता अघि निसीखोला पहिलोको विद्युत गृहमा खराबी आएकाले मर्मत गर्न नसक्दा ९ सय घर अन्धकारमै थिए । १ सय किलोवाट क्षमताको यो बिजुली अभावमा यहाँका मानिसले बिजुली बाल्न पाएका छैनन् ।


विद्युत अभावमा मोवाईल समेत चार्ज गर्न नसक्दा सम्पर्क पनि गर्न नसकेको उनीहरुले बताए ।


दुवै आयोजना बन्द भएपछि बोहोरागाउँ, देविस्थान, निसी, कालीगाउँ लगायतका गाउँ अन्धकार भएका हुन् । गत आइबार बडाचौर भन्ने स्थानको पहिरोले निसीखोला लघु जलविद्युत दोस्रोमा क्षति पुगेको हो ।


पक्की कुलोको जग समेत बगाएकोले लाखैं खर्चेर मात्र बनाउन सकिने अवस्थामा पुगेको छ । त्यसका लागि स्थानीयले संभावनाको खोजी गरिरहेका छन् ।


यी दुवै आयोजना भएको स्थानमा राष्ट्रिय प्रसारण लाईनको विद्युत पुग्ने सम्भावना छैन।


विद्युत पुग्न नसक्ने देखेपछि स्थानीयले चन्दा संकलन गरेर वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रमको सहयोग समेत जुटाएपछि दशक अघि आयोजना बनाएका थिए । यस क्षेत्रका सबै गाउँमा लघु विद्युत मात्र छन् ।

प्रकाशित : श्रावण २३, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?