१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भूकम्पपीडितको किस्ता रोकियो

हरिराम उप्रेती

गोरखा — भूकम्प प्रतिरोधी घरको डीपीसी लेबलको काम सकेका गोरखा नगरपालिका ७ बेलडाँडाका इन्द्रबहादुर बस्नेत घर निर्माणको किस्ताको रकम झिक्न तीन पटक बैंक पुगे । उनले प्रत्येक पटक बैंक खातामा आफ्नो पैसा नआएको जानकारी पाए ।

भूकम्पपीडितको किस्ता रोकियो

बुधबार तेस्रो पटक पनि त्यस्तै जवाफ पाएपछि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय आइपुगे । ‘बैंकमा पैसा नआएपछि यहाँ आएको हुँ । यहाँका कर्मचारीले भदौ १५ तिर आइज भनेका छन्,’ उनले भने, ‘काम गरेको कामदारलाई पैसा दिन सकिएको छैन ।

उक्त कार्यालयमा यस्तै–यस्तै समस्या लिएर दैनिक ४० भूकम्पपीडित आइपुग्ने गरेका छन् । घर निर्माणको किस्ता रकम पाउन सबै प्रक्रिया पूरा गरेकाको फाइल इकाइको कार्यालयमा रोकिएको छ । साउन महिना लागेसँगै कुनै पनि पीडितको खातामा निकासा भएको छैन ।

अख्तियारी नआउँदा किस्ता रकम सिफारिस गर्न नसकेको भन्दै कर्मचारीले भूकम्पपीडितलाई फर्काउने गरेका छन् । २ हजार ५ सय ९७ ले दोस्रो र ३ हजार ७ सय २ लाभग्राहीले तेस्रो किस्ताको रकम पाउन सबै प्रक्रिया पूरा गरेका छन् । उनीहरूको फाइल इकाइमै रोकिएको छ । निर्माणाधीन घर प्राविधिकले भूकम्पप्रतिरोधी भए/नभएको हेरेपछि भवन डिभिजन कार्यालयमा उक्त फाइल पठाउने प्रावधान छ । भवनले जाँच गरी पुन: इकाइको कार्यालयमा पठाएपछि किस्ता रकम सिफारिस हुने गर्छ । प्राविधिकले पास गरेर भवन डिभिजन कार्यालयबाट पठाएको फाइल इकाइमै थन्किएका छन् ।

भूकम्पपीडितलाई किस्ता रकम निकासाका लागि अर्थ मन्त्रालयले स्वीकृति पनि दिइसकेको छ । मन्त्रालयले गोरखाका लागि ४ अर्ब ८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको इकाइका लेखा अधिकृत कमल कोइरालाले बताए । साउन अन्तिमसम्म एक चरण भए पनि किस्ता रकम सिफारिसका लागि तयारी गरिएको उनको दाबी छ ।

इकाइका गोरखा प्रमुख जिल्ला इन्जिनियर रामकुमार श्रेष्ठले भने अख्तियारी ढिला आएकाले किस्ता रकम निकासामा समय लागेको बताउँछन् । ‘अरू जिल्लामा पनि भएको छैन, दोस्रो किस्ता असारपछि दिने–नदिने भन्ने पनि अन्योल थियो,’ उनले भने, ‘अख्तियारी पनि ढिला आउँदा समस्या भएको हो । अब आइतबारबाट रकम निकासा थाल्छौं ।’

भूकम्पपीडितका लागि काम गरिरहेको इकाइ यतिबेला आफ्नै कार्यालय व्यवस्थापनको अन्योलमा छ । यसअघि जिल्ला समन्वय समितले किस्ता रकम सिफारिस गर्दै आएको थियो, अब नयाँ आर्थिक वर्षबाट इकाइले आफैं खाता सञ्चालन गरेर रकम निकासा दिनुपर्ने भएको छ । कर्मचारी र कार्यालय व्यवस्थापन पनि हुन नसकेको एक कर्मचारीले बताए ।

जिससबाट सञ्चालित कार्यालय अब नयाँ ठाउँमा सर्ने वा पुरानै ठाउँमा रहने भन्ने पनि टुंगो हुन सकेको छैन ।

०७२ वैशाख १२ को भूकम्पले ६० हजारभन्दा वढी घरहरू भत्किएका थिए । भत्किएकामध्ये असार मसान्तसम्म आधा भन्दा बढी घर निर्माण पूरा भएका छन् । गुनासो सम्बोधन हुनुअघि ६१ हजार ३ सय ९३ लाभग्राही थिए । तीमध्ये ३२ हजार ९ सय ६५ लाई तेस्रो किस्ता रकमका लागि सिफारिस गरिएको छ । लाभाग्राही सूचीमा नाम समावेश भएका मध्ये पनि सबैले पहिलो किस्ता लगेका छैनन् । ५८ हजार २ सय ४५ ले पहिलो किस्ता रकम लगेका छन् ।

पुनर्निर्माणलाई तीव्रता दिन प्राधिकरणले असार मसान्तसम्म दोस्रो किस्ता लग्न समयसीमा तोकेको थियो । समयसीमासम्म ५० हजार ६ सय २० जनाले दोस्रो किस्ताको रकम लगेका छन् । अनुदान सम्झौता गर्दा पहिलो किस्ताको ५० हजार, डीपीसी सकेपछि दोस्रो किस्ताको १ लाख ५० हजार र घर निर्माणपछि अन्तिम तेस्रो किस्ताको एक लाख रुपैयाँ दिने प्रावधान छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?