२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वृत्तचित्र प्रदर्शनीबाट संकलित रकम आश्रमलाई

आश गुरुङ

लमजुङ — लमजुङ समाज यूएईले वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट संकलित रकम मानवसेवा आश्रमलाई दिएको छ । 

वृत्तचित्र प्रदर्शनीबाट संकलित रकम आश्रमलाई

बेंसीसहरमा बिहीबार आयोजित कार्यक्रममा समाजका संरक्षक अर्जुनबहादुर गौली, वृत्तचित्रका निर्देशक गणेश पाण्डे, जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीलगायतले १ लाख १ हजार १ सय १ रुपैयाँको चेक आश्रमलाई हस्तान्तरण गरे ।


उक्त वृत्तचित्र गत असार १ र २ गते लमजुङ समाज यूएईले दुबई, आबुधाबी र शारजाहमा प्रदर्शन गरेको थियो । च्यारिटी शोबाट संकलित रकम गृहजिल्लाकै परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको समाजका संरक्षक गौलीले बताए ।


बेंसीसहरमा २ वर्षदेखि सञ्चालित मानवसेवा आश्रममा बेवारिसे अवस्थामा सडकमा भेटिएका ९ जना आश्रित छन् । आश्रमको व्यवस्थापन गरिरहेको ‘साँचो जीवन निर्माण अभियान’का संयोजक किसान ‘संगीत नेपाली’ र आश्रमकी संयोजक अनिता अधिकारीले सहयोगी हातको खाँचो रहेको भन्दै लमजुङ समाज यूएई र भाग्यले बाँचेकाहरुको टिमलाई धन्यवाद ब्यक्त गरे ।


२०७२ वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने १३ वटा भाषामा अनुवाद भएको निर्देशक पाण्डेले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?